१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
गणेश लम्साल विराटनगर
२o८१ बैशाख २० बिहीबार १३:४१:oo
Read Time : > 1 मिनेट
ad
ad
प्रदेश डिजिटल संस्करण

कोशी प्रदेशमा अब सशस्त्र प्रहरीको आफ्नै  गोताखोर टोली

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १३:४१:oo

नदीमा हुने दुर्घटना र आत्महत्याका कारण बेपत्ता हुनेहरूको खोजी तथा उद्धारका लागि सशस्त्र प्रहरीले कोशी प्रदेशमा आफ्नै दक्ष गोताखोर टोली तयार गरेको छ।

सुनसरीको इटहरीस्थित सशस्त्र प्रहरीको बराहबाहिनी ब्रिगेडले बढ्दो नदीजन्य घटना र दुर्घटनाहरू नियन्त्रण गर्न तीन महिना तालिम दिएर २४ जनाको दक्ष गोताखोर टोली तयार पारेको हो।

प्रदेश सरकारको सहयोगमा गत १७  भदौदेखि १७ कात्तिकसम्म नेपाल प्रहरीका दुईजना र सशस्त्र प्रहरीका १८ जनालाई कोशी नदीमा गोताखोर तालिममा सहभागी गराएर दक्ष बनाएको सशस्त्र प्रहरी बराहबाहिनी ब्रिगेडका ब्रिगेडियर डिआइजी अञ्जनीकुमार पोखरेलले बताए। उनका अनुसार तालिमप्राप्त गोताखोर टोलीले नदीमा हराएका मानिसको खोजी गर्ने मात्र नभएर बगेका र डुबेकाहरूको उद्धारसहित प्राथमिक उपचारको  कार्य पनि गर्नेछ। गोताखोर टोलीलाई बंगलादेशबाट तालिम लिएर आएका सशस्त्र प्रहरीका प्रशिक्षकहरूले कोशी नदीमा तीन महिना प्रशिक्षण दिएका थिए।

नदीजन्य घटनाबाट पीडितहरूको उद्धार र खोजीका लागि कोशी प्रदेशका लागि बराहबाहिनीको विपत् व्यवस्थापन विभागमातहत गोताखोरहरूको टोली २४सै घन्टा तैनाथ रहनेछ। सशस्त्र प्रहरीले नदीजन्य घटनाका कारण पीडित भएका र हराएकाहरूको खोजी र उद्धारका लागि आफ्नै जेटबोट, रबरबोट र अन्य आवश्यक उपकरणहरू पनि तयारी अवस्थामा राखेको छ।

आफ्नोमातहत रहेका दक्ष गोताखोर टोलीलाई बराहबाहिनीले आवश्यकताअनुसार प्रदेशका विभिन्न जिल्लाका गणहरूमा परिचालन गर्नेछ। साथै आवश्यकताअनुसार देशका विभिन्न घटनाहरूमा बेपत्ता मानिसको खोजी र उद्धारका लागि पनि पठाउनेछ।

बराहबाहिनी ब्रिगेडका अनुसार कोशी प्रदेशमा चालू वर्षमा नदीजन्य १२ वटा घटनामा हराएका १२ मध्ये गोताखोर टोलीले सातवटा शव बरामद गरिसकेको छ।

कोशी प्रदेशमा देशकै ठूलो सप्तकोशीदेखि तीव्र प्रवाह भएका एक दर्जनभन्दा बढी नदीहरू र सबैभन्दा धेरै उचाइमा रहेको विश्वकै दुर्लभ र जोखिमपूर्ण गोक्योलगायतका तालहरू छन्। ती नदी र तालहरूमा बर्सेनि दर्जनौँ मानिस डुबेर र बगेर मर्ने गर्दछन्। दर्जनौँ बेपत्ता हुँदै आएका छन् । पछिल्लो समय कोशीनदीमा हाम फालेर आत्महत्या गर्नेहरूको संख्या पनि बढ्न थालेको छ। यसैगरी, सवारी दुर्घटना भएर नदीमा मानिसहरू बेपत्ता हुने जोखिम पनि कायमै छ।

सशस्त्रमा अब गोताखोरको संख्या ९२
सशस्त्र प्रहरीसँग अब देशभरि गोताखोरको संख्या ९२ पुगेको छ। बराहबाहिनीले १८ जनालाई प्रशिक्षण दिनुअघि सशस्त्रमा गोताखोरको संख्या ७४ मात्र थियो।

१५ कात्तिक ०८० सम्म सशस्त्रका गोताखोरहरूले हालसम्म दुई सय ५८ घटनामा ३२ जनाको जीवितै उद्धार गरेका छन् भने दुई सय ५८ वटा शव नदी, तालतलैया र पोखरीहरूबाट निकालिसकेका छन्।

पहिले नेपालमा गोताखोरहरू थिएनन्। नदीमा हराएका मानिस खोज्न बंगलादेशबाट गोताखोर झिकाउने गरिन्थ्यो। तर, अत्यधिक नदीजन्य दुर्घटनामा मानवीय क्षति हुन थालेपछि सशस्त्र प्रहरीले ०६९ सालमा २५ जनालाई बंगलादेश पठाएर गोताखोर तालिम दिएको थियो। पछि तिनै जनशक्तिबाट थप जनशक्ति तयार पारिएको हो।

ad
ad