
प्रथम वीरगन्ज गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा संकटा क्लब काठमाडाैं विजयी भएको छ।
९० मिनेटको निर्धारित समयको खेलमा एपिआई चर्च ब्याइजलाई संकटा क्लब काठमाडौंले ४–० ले पराजित गरेको हो। आदर्शनगर खेल मैदानमा सुरु भएको फुटबल प्रतियाेगितामा यो जितसँगै संकटा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ।
सुरुदेखि खेलमा दबाब बनाएको संकटाले पहिलो हाफको २३औँ मिनेटमा पहिलो गोल प्रहार गरेको थियो। पहिलो गोल संकटाका खेलाडी समीर राईले गरेका थिए।
दोस्रो हाफमा एपिआई चर्च ब्वाइजले गोल गर्न प्रयास गरे पनि सकेनन्। संकटाका अर्को खेलाडी नरेश हमालले दोस्रो गोल गर्दै टिमलाई दुई गोलको अग्रता दिलए।
दोस्रो हाफको ३४औँ मिनेटमा तेस्रो गोल विदेशी खेलाडी फोफानो फोडेले गरेसँगै संकटा खेलमा हाबी भयो। यस्तै खेलको ४२औँ मिनेटमा फेरि फोफानो फोडेले चौथो गोल हानेसँगै निर्धारित समय समाप्त भयो। खेलको म्यान अफ दी म्याच फोफानो फोडे भए। उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे।
प्रतियोगितामा सोमबारको खेल नेपाल पुलिस क्लब र क्लाइभ हाउस डमडम काेलकाताबीच हुने आयोजक भेट्रान सिटी क्लब वीरगन्जका महासचिव उपाध्यक्ष सागर राणले जानकारी दिए।
यसअघि उद्घाटन खेलमा आयोजक भेट्रान सिटी क्लब वीरगन्जले जितेको थियो। आयोजक क्लबले एफसिआई नर्थ जोन फुटबल क्लब नोएडा भारतलाई ३ –१ गोल अन्तरमा हराएको थियो। आयोजक क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। शनिबारदेखि सुरु भएको प्रतियोगिता २५ कात्तिकसम्म चल्नेछ।