१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १६ आइतबार
  • Sunday, 28 April, 2024
२०८० कार्तिक २० सोमबार ०८:४५:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ताप्लेजुङमा मात्र करिब दुई हजार मेगावाट विद्युत् उत्पादन हुँदै

Read Time : > 1 मिनेट
२०८० कार्तिक २० सोमबार ०८:४५:००

कोसी प्रदेशका १४ जिल्लामध्ये ताप्लेजुङमा विद्युत् उत्पादनका २५ वटा आयोजनाहरू सुरु भएका छन् ।  जिल्लामा झन्डै दुई हजार मेगावाट बिजुली उत्पादन गर्न विभिन्न आयोजनाहरूले काम सुरु गरेका छन् ।  अहिलेसम्म ताप्लेजुङको इवाखोलाबाट ९.९ मेगावाट बिजुली ०७६ सालमा निर्माण भएर राष्ट्रिय प्रसारणलाइनमा जोडिएको छ । ताप्लेजुङ र पाँचथरको सिमाना भएर बग्ने काबेली खोलाबाट ३५ मेगावाट विद्युत् राष्ट्रिय प्रसारणलाइनमा थपिएको छ । 

तमोर नदीमा मात्र पाँच ठाउँबाट बिजुली उत्पादन हुने बताइएको छ । फक्ताङलुङ गाउँपालिका–१ साँवादिनको पुछार र मिक्वाखोला–१ खोक्लिङको पुछारमा बनेको सानिमा मिडिल तमोर हाइड्रोपावरबाट ७३ मेगा बिजुली सञ्चालनमा आउने अन्तिम तयारी छ । सानिमा हाइड्रोपावरले १३ अर्बभन्दा बढीको लगानीमा निर्माण गरेको उक्त हाइड्रोपावरले शनिबार टर्मिनलमा जाने पानीका गेटहरूको परीक्षण गर्ने कम्पनीका म्यानेजर मणिराज पोख्रेलले बताए । अबको ६ महिनाभित्र बिजुली उत्पादन हुने उनको भनाइ छ । 

जिल्लाका २५ वटा योजनामध्ये सबैभन्दा ठूलो ‘अपर तमोर ५’ २८५ मेगावाट हाइड्रोपावर निर्माणको काम सुरु हुने तयारीमा छ । तमोर नदीबाटै तमोर मेवा १२८ मेगावाट, तमोर खोला हाइड्रोपावर ३७.५ मेगावाटको काम धमाधम भइरहेको कम्पनीका सेयरधनी तारानाथ घिमिरेले बताए । तमोर खोलामा नै एक सय ६६ मेगावाटको सुपर तमोर हाइड्रोपावर जलविद्युत् आयोजना दर्ता भएको छ ।

जिल्लाको दोस्रो ठूलो खोलाका रूपमा रहेको काबेली खोलामा पाँचवटा हाइड्रोपावर निर्माण प्रक्रियामा रहेका छन् । त्यसमध्ये सुपर काबेली खोला १३.५ मेगावाट, सुपर काबेली खोला क्यास्केट १२ मेगावाट र काबेली–३ को २१.९३ मेगावाटको काम धमाधम भइरहेको छ । यी तीनवटै आयोजको करिब ३५ प्रतिशत काम सकिएको तीनवटै आयोजना हेरिरहेका राजेन्द्रराज भारतीले बताए । उता अन्य काबेली ‘ए’ ३७.६० मेगावाट, ‘उपर काबेली–२’ १५ मेगावाटका काम भइरहेको छ । 
उता मिक्वा गाउँपालिकामा रहेको मेवा खोलामाथि बनेको मेवा डेभ्लोपर्स हाइड्रोपावरले पनि ५० प्रतिशत काम सकेको सो हाइड्रोपावर कम्पनीका प्रशासन तथा जनसम्पर्क प्रमुख सुमनप्रसाद रेग्मीले बताए । सुरुमा ४९ मेगावाट थियो, तर अहिले थपिएर ७३.५ मेगावाट पुगेको छ ।  

मेवा खोलामा युनाइटेड मेवा खोला हाइड्रोपावर ५० मेगावाटको काम करिब ५० प्रतिशत भएको छ । स्ट्रक्टचरको काम भइरहेको, पाँच किलोमिटर पानी लान सुरुङमार्ग बनाउनुपर्नेमा तीन किलोमिटर बनिसकेको बताइएको छ । अन्य हाइड्रोपावरमा उपर मैवाखोला १७.८५ मेगावाट, उपर इवाखोला ९.७ मेगावाट, मेवा खोला २३ मेगावाट, सोना खोला ९ मेगावाट, माथिल्लो काबेली २८ मेगावाट, घुन्सा खोला ७७.५ मेगावाट निर्माणको प्रक्रियामा रहेका छन् । सिम्बुवा खोला ७०.३ मेगावाट, पालुङ खोला–१ को ३० मेगावाट, पालुङ खोला सानो २१ मेगावाट, सिवा खोला ९.३ मेगावाट, उपार मेवा खोला ‘ए’ ३१.९२ मेगावाट पनि निर्माण प्रक्रियामा छन् ।