१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १९ आइतबार
  • Friday, 21 June, 2024
केशव पुडासैनी ‘विमल’
२o८o कार्तिक १९ आइतबार o८:१o:oo
Read Time : > 8 मिनेट
ad
ad
ad
ad
साहित्य डिजिटल संस्करण

‘समय र सपना’ : एक दृष्टि

Read Time : > 8 मिनेट
केशव पुडासैनी ‘विमल’
नयाँ पत्रिका
२o८o कार्तिक १९ आइतबार o८:१o:oo

विषयप्रवेश :  साहित्यका प्रचलित विधाहरूमध्ये कविता विधालाई पूर्वीय र पश्चिमेली दुवै साहित्य जगतमा प्राचीन विधा मानिन्छ । नेपाली साहित्य जगतमा कविता लेखनको थालनीको मिति एकीन गर्न नसिकिए पनि कविता विधालाई प्राचीनतम् विधा मान्ने गरिएको छ । प्रारम्भदेखि वर्तमानसम्मको नेपाली कविता–साहित्यको विकास क्रमलाई नेपाली साहित्यका विद्वानहरूले विभिन्न चरणहरूमा विभाजन गरेर यसको अध्ययन र विश्लेषण गर्दै आइरहेका छन् ।

अध्ययनको सजिलोको लागि नेपाली कविता विधाका अध्यता तथा विद्वानहरूले यसलाई १. प्राथमिककाल (सुरुदेखि १९९४० सम्म), २. माध्यमिक काल (१९४१ देखि १९९१ सम्म) र ३. आधुनिक काल (१९९१ देखि यता हालसम्म) गरी तीनवटा चरणमा विभाजित गरेर यसका ऐतिहासिक तथा विषयगत विविधताहरूको चर्चा गर्दै आएका छन् । प्रवृत्तिगत दृष्टिले प्राथमिककालीन कविता लेखनको मूल प्रवृत्ति वीर धारा हुँदै भक्ति धारामा केन्द्रित रहेको देखिन्छ भने माध्यमिककालीन कविता लेखनको मूल प्रवृत्ति शृङ्गारिक धारा हुँदै शास्त्रीयतावादी–परिष्कारवादी धारालाई अंगालेर अघि बढेको देखिन्छ । यसैगरी अधुनिककालीन कविता लेखनको प्रवृत्ति बहुआयामिक भएको पाइन्छ । स्वच्छन्दतावादी धारा हुँदै अघि बढेको नेपाली कविता लेखनको यो प्रवृत्ति प्रगतिवादी, प्रयोगवादी र समसामयिक प्रवृत्तिलाई निरन्तरता दिंदै विस्तृत भइरहेको छ । 

नेपाली साहित्यमा कविता विधा अत्यन्तै आकर्षक र प्रभावकारी विधा बनिरहेको छ । यही विधालाई अङ्गालेर कविता लेखनको क्षेत्रमासमेत प्रभावकारी उपस्थिति देखाउन सफल साहित्यकार हुन्— कौशिला रिसाल । गोरखा जिल्लाको साविक छोप्राक गा.वि.स. २, हाल सिरानचोक गाउँपालिका ५ मा वि.सं. २०३५ मा जन्मनु भएकी साहित्यकार कौशिला रिसाल बहुप्रतिभाशाली साहित्यकार हुन् । प्रकृति तथा मानसमाजका हरेक घटना र परिवेशहरूको प्रभावबाट जनित भावना, विचार र संवेदनाहरूको त्रिवेणी हो सािहत्य । कविता पनि भावना, संवेग र विचारको कलात्मक अभिव्यक्ति हो । यिनै भावना, संवेग र विचारलाई संयोजन गरेर सुन्दर काव्यिक चित्र तयार पार्न सिपालु साहित्यकार कौशिला रिसाल ।

कवि कौशिला रिसालको साहित्यक व्यक्तित्व 

२०५५ सालमा ‘‘मेरो देश’ शीर्षकको कविता प्रकाशित गरेर नेपाली साहित्यको रङ्गमञ्चमा प्रवेश गरेपछि नयाँ वर्षको उपहार (२०७४), आहा ! फूल, किशोरकथासङ्ग्रह (२०७५), कमिलाको एकता (२०७७), छेपाराको उखान (२०७७), बालकथासङ्ग्रह, देशको माया (२०७७) बालकवितासङ्ग्रह, अश्वघोषविरचित महाकाव्यहरूको दार्शनिक अध्ययन (२०७९) शोधग्रन्थजस्ता कृति प्रकाशित गरेकी कौशिला रिसालको यो ‘समय र सपना’ चौथो प्रकाशित कृति हो ।

‘अक्सफोर्ड आवाज तथा नमुना परिचय (स्मारिका) को नियमित संपादक, मोहनविक्रम सिंहका दुई नाटक (२०७०), शिव ढकाल स्मृति ग्रन्थ (२०७३), काठमाडौं प्रलेस– ३ (२०७३), आधारशिला शैक्षिक उन्नयन (२०७४–७५), काठमाडौँ प्रलेस अङ्क– ३ (२०७६)’  का सम्पादक’ को अनुभवले खारिएकी कवि कौशिला रिसालको ‘समय र सपना’ विसङ्गतिपूर्ण वर्तमानमा उभिएर भूत र भविष्यका बारेमा लेखिएका कविताहरूको सङ्कलन हो । 

‘समय र सपना’ मुक्त छन्द वा गद्यात्मक शैलीमा रचना गरिएका कविताहरूको सङ्ग्रह हो । यस सङ्ग्रहमा विभिन्न विषय र आयामका ४८ वटा त्रिकालीक कविताहरू समावेश गरिएका छन् । यस सङ्ग्रहका कविताहरू पढ्दा यस्तो लाग्छ, कष्ठसाध्य जीवन भोगाइका अनेकन आरोह र अवरोहका कथाहरूलाई कविताका सुन्दर हरफहरूमा बुन्दै र कवि स्वयम् त्रिकालवेत्ताको रूपमा उपस्थित भएकी छिन् ।

‘समय र मान्छे’ कविता सङ्ग्रहबारे कौशिला रिसाल भन्नु हुन्छ— ‘मैले मेरा सपनाका उद्वेगहरूलाई कवितामार्पmत् प्रकाशमा ल्याउने प्रयत्न गरेकी हुँ । राष्ट्र, समाज, समुदाय र व्यक्ति स्वयम् मेरा कविताका एक हिस्सा हुन् ।’  खासमा ‘समय र सपना’ सङ्ग्रहमा सङ्ग्रहित कविताहरूले विषय–वस्तुका विविध प्रवृत्तिगत दृष्टिकोणका आयामहरू निर्माण गरेका छन् । यसमा राष्ट्रिय स्वाधीनता, सामाजिक न्याय, सामाजिक–सांस्कृतिक विसंगति र विकृतिका विरुद्धका आवाजहरूका साथै मातृत्व र पितृत्वप्रतिका उत्ताल सम्मानका भावहरू अभिव्यक्त गरिएका छन् ।  

‘समय र सपना’ भित्रका कविता 
‘मान्छेको जिन्दगी’, ‘देश खोज्दा’, ‘नदी र जीवनको गीत’, ‘प्रश्न तिमीलाई’, ‘जोखिम’, ‘बाका पाइलाहरू’, ‘समय’, ‘मृत्युबोध’, ‘प्रतिबद्धता’, ‘सपना’, ‘समयको उष्ण हुरीमा’, ‘म अक्षर हुँ’, ‘तिमी अर्थात् मेरो बाबु’, ‘विज्ञप्ति’, ‘जीवनको सुन्दरता’, ‘सहयात्रा’, ‘सरकार म सीमानाबासी’, ‘मान्छेको मुखुण्डो’, ‘किनारा छुनु छ’, ‘गर्वाधान’, ‘क्रान्ति’, ‘कवि ! म तिम्रा कविता पढ्दिनँ’, ‘गुमनाम ऊ’, ‘जीवन आस्था’, ‘छोरी मान्छे’, ‘लेख्नु पर्दैन आमाको कविता’, ‘बा, म र कथा’, ‘मान्छे जस्तै ऊ’, ‘फूल’, ‘गर्भे छोरीको पुकार’, ‘राष्ट्रियता’, ‘काठमाडौं’, ‘माटोको सिमाना’, ‘अठोट र विश्वास’, ‘ठुलो’, ‘को हो देवता’, ‘पूर्णता’, ‘भविष्य’, ‘इतिहास’, ‘जन्मघर’, ‘आस्था’, ‘समय र सपना’, ‘सत्य’, ‘विशाल’, ‘अनलाइन संवाद’, ‘नदी’, ‘अहँ म झुक्दिन’ र ‘जात’ शीषकका ४८ वटा कविताहरू यस सङ्ग्रहमा सङ्ग्रहित गरिएका छन् । 

‘मान्छेको जीन्दगी’ आधार स्तम्भको रूपमा खडा हुन आएको ‘समय र सपना’ को धुरी भएर उभिन आइपुगेको छ ‘जात’ । लम्बाइको दृष्टिले ‘‘अहँ म झुक्दिन’’ सबैभन्दा लामो कविता (पृष्ठ— १०० देखि १०३ सम्म) हो भने सबैभन्दा छोटो आकारमा कुँदिएको कविता हो— ‘‘सत्य’’ (पृष्ठ– ९४) । ‘सत्य’ बाह्रवटा शब्दलाई पाँचवटा हरफमा विन्यास गरेर निर्माण गरिएको कविताको एउटा सजीव आकृति हो । ‘समय र सपना’ शीर्षकको कविता नै यो सङ्ग्रहको शीर्षक बन्न आएको छ ।

‘समय र सपना’ भित्रका काव्यिक अभिव्यक्तिः यस सङ्ग्रहका हरेक कविताहरू पढ्दैजाँदा एउटा महाकाव्य नै पढेझैँ लाग्छ र यसको नायिका भन्नु नै कवि स्वयम् हुन् । प्रकृति र मानव समाज, जाति र मान्छे, राष्ट्रियता र राजनीतिका समुधुर लयमा बुनिएका कविता विछट्टै सुन्दर र गहकिला छन् । प्रत्येक कविताले माटोको महिमा, श्रमको सुवास, प्रेमको प्राप्ति, जातिभित्र मान्छे,  उत्पीडनका विरुद्ध आक्रोश, प्रकृति, समाज र मान्छे, मातृवात्सल्य र पितृवात्सल्य मात्रै होइन भातृत्वबोधका सुन्दर अभिव्यक्ति यसका साक्ष्य बनेर उभिएका देखिन्छन् ।  

हरेक क्षण मानिसले बाँच्नको निम्ति गर्ने प्रकृति तथा सामाजिक सङ्घर्ष नै जीवनको आधार हो भन्ने मान्यतालाई आत्मसात गर्ने चेतना प्रवाह गर्ने ध्येय बोकेको कविता हुन्— ‘मान्छेको जिन्दगी’, ‘नदी र जीवन’, ‘जोखिम’, ‘मृत्युबोध’, ‘प्रतिबद्धता’, ‘म अक्षर हुँ’, ‘किनारा छुनु छ’, ‘गर्भाधान’, जीवन आस्था’, ‘छोरी मान्छे’, ‘आस्था’ । आफू र आफ्नो परिवारको निम्ति एक पेट अन्न र एक आँग टालोको निम्ति विदेश भासिन वाध्य पारिएका लाखौं नेपालीहरूको कथा हुन्- ‘देश खोज्दा’, ‘अनलाइन संवाद’ शीर्षकका कविता । सामाजिक उत्पीडन, विभेद र शोषणका विरुद्ध विद्रोहका आवाज बुलन्द गर्ने कविता— ‘समय’, ‘समयको उष्ण हुरीमा’, ‘विज्ञप्ति’, ‘जीवनको सुन्दरता’, ‘मान्छेको मुखुण्डो’, ‘क्रान्ति’, ‘गुमनाम ऊ’, ‘मान्छे जस्तै ऊ’, ‘विशाल’ र ‘जात’  हुन् भने ७. मानवीय समवेदनाहीन बन्दै गइरहेका शहरहरूको अनुहार अनावरण गर्ने कविता हो- ‘काठमाडौं’ ।

देशप्रेमका भावनाले सिंचित गरिएका कविता ‘कवि ! म तिम्रा कविता पढ्दिनँ’, ‘राष्ट्रियता’, ‘माटोको सिमाना’, ‘इतिहास’ हुन् भने स्वाभिमानी भएर स्वावलम्बी जिन्दगी बाँच्न उत्प्रेरित गर्दै मानवतावादको पाठ सिकाउने कविता हुन्- ‘अठोट र विश्वास’, ‘ठुलो’, ‘को हो देवता’ हुन् । ‘बाका पाइलाहरू’, ‘तिमी अर्थात मेरो बाबु’, ‘लेख्न पर्दैन आमाको कविता’, ‘बा, म र कथा’, ‘गर्भे छोरीको पुकार’, ‘फूल’, ‘अहँ म झुक्दिन’ भन्ने कविता मार्फत् आफ्ना बा–आमाप्रति इमानदार सन्तानहरूको भावनालाई अभिव्यक्त गर्ने प्रतिनिधिमूलक भावनाको संवाहक बनेका कविता हुन् भने जन्मघर प्रतिको अगाध प्रेमले ओतप्रोत भएको कविता हो— ‘जन्म घर’ । यसैगरी पवित्र प्रेम र स्वतन्त्र जीवनको चाहना अभिव्यक्त गरिएका कविता ‘प्रश्न तिमीलाई’ हो भने आकारविहिन भएर पनि जीवनका सुत्रधार बनेर उभिन सक्ने कल्पनाशीलताका उच्छाल तरङ्गभैंm लाग्ने कविता हुन्— ‘पूर्णता’, ‘भविष्य’, ‘समय र सपना’, ‘सत्य’, ‘नदी’ । 

‘समय र सपना’ भित्रका कविताहरूको प्रवृत्तिगत विशेषता :
‘‘समय र सपना’’का कविताहरूमा अभिव्यक्त गरिएका विचार, दृष्टिकोणहरूको प्रवाहमयीतालाई विश्लेषण गर्दा ‘समय र सपना’’ कविता सङ्ग्रह पूर्णतः प्रगतिवादी कविताहरूको सङ्ग्रह बन्न सकेको नदेखिए पनि यसलाई समसामयिक कविताहरूको सङ्ग्रह भन्न सकिन्छ । यसमा समाविष्ट गरिएका विभिन्न कविताहरूले विभिन्न विषयवस्तुलाई विभिन्न दृष्टिकोणहरू अवलम्बन गरेका छन् । 

१. भविष्यवादी दृष्टिकोण :
सपना त्रिकालिक हुन्छन् भन्छन् सपनामा जीवन खोज्नेहरू । कर्मयोगीहरूलाई समस्याग्रस्त, विभेदकारी र उकुसमुकुस लाग्ने वर्तमानमा उभिएर सुन्दर भविष्य निर्माणको सपना देख्न उत्प्रेरित गर्ने काव्यिक हरफ हुन् यी-
‘म सपना ओछ्याउँछु
अनगिन्ती सपना ओढेर निदाउँछु
र फेरि सपना देख्छु
सपनाका हरेक तकियाले 
मेरो सगरमाथालाई थामिरहेछ ।’ (शीर्षक समय र मान्छे, पृष्ठ– ९३)

२. अस्तित्ववादी दृष्टिकोण :
लिङ्गीय दृष्टिलसमेत विखण्डनयुक्त रहेको इतिहासका जस्तै वर्तमानका मानव समान पनि महिलाप्रति असष्णिु रहेको यथार्ततालाई उद्धबोधन गरिएको कविता हुन्— ‘मान्छेको जिन्दगी’, ‘छोरी मान्छे’, ‘गर्भे छोरीको पुकार’ र ‘अहँ म झुक्दिनँ’ । यी कवितामा कवि कौशिला रिसालले नारी अस्तित्ववादी दृष्टिकोण यसरी व्यक्त गरेकी छिन्-
‘स्वतन्त्रताको पखेटा काटेर 
प्रतिबन्धित नगर्नु मेरा उड्ने रहरहरूलाई !’ (‘छोरी मान्छे’, पृष्ठ– ६२)
‘बाटोमा, यात्रामा जहाँसुकै
मैले, आफूलाई असुरक्षित महसुस गर्न थालें ।’ (‘अहँ म झुक्दिनँ’। पृष्ठ– १०२)

३. प्रेमालातित दृष्टिकोण :
नारी र पुरुष प्रकृतिका समान उपहार हुन् । यी दुई विपरित लिङ्गकाप्रति मानसिक तथा जैविक आकर्षण हुनु प्राकृतिक कुरा हो । मानव समाजको विकासका विभिन्न चरणहरू र तिनका सापेक्ष मानिसले नै निर्माण गरेका विभिन्न सामाजिक तथा सांस्कृतिक तत्वहरू नारी र पुरुषबीचका स्वतन्त्र प्रेमको मार्गमा अवरोध मात्र बनेका छैनन्, कतिपय सन्दर्भमा ती महिलाहरूमाथि विभिन्न किसिमले शोषण र उत्पीडनगर्ने पुरुषवादी साधनसमेत बनेका छन् । यस्ता विभेदकारी सामाजिक बन्धनलाई समाप्त पारिनुपर्छ भन्ने आवाज कवि कौशिला रिसालले आफ्ना कविताहरूमार्फत अभिव्यक्त गरेकी छिन् । यसै सन्दर्भमा उनी भन्छिन्-

म ढुक्कले प्रेम गर्न चाहन्छु
तर मेरा लागि 
गोडाको पाउजु र गलाको हार
अहँ हुन सक्दैनन्
जीवनको गति रोक्ने बन्धनहरू ! (पृष्ठ– २४)

४. क्रान्तिकारी दृष्टिकोण :
मानव समाजलाई कुनै पनि शोषण, दमन र उत्पीडनबाट मुक्त गर्दै सुन्दर, शान्त र वैभवशाली मानव समाजको निर्माण गर्नु सामाजिक तथा राजनीतिक क्रान्तिकारीहरूको ध्येय र दायित्व हो । यस सङ्ग्रहमा समाविष्ट गरिएका ‘समय’, ‘प्रतिबद्धता’, ‘म अक्षर हुँ’, ‘विज्ञप्ति’, ‘क्रान्ति’ कविताको मूल उद्देश्य क्रान्तिकारी चेतनाको प्रवाह गर्नु नै रहेको छ । जस्तो कि, कुरूप वर्तमान प्रति असन्तोष व्यक्त गर्दै कवि लेख्छिन्-

‘किन मौन भयो समय
समयका नाममा 
समय लुट्नेहरूसँग ?’ (‘समय’, पृष्ठ– २९ ।)

क्रान्तिकारी बन्नु, क्रान्तिकै मार्गमा लामबद्ध बन्नु वा क्रान्तिकारी आन्दोलनको नेतृत्वकर्ता बन्नु सहज कर्म होइन । यसको निम्त सबैभन्दा पहिले आफैँभित्रका चिन्तनगत, वैचारिक र व्यवहारिक असंगतिहरूलाई मिल्काउनु जरुरी हुन्छ । आफूमाथि विजय प्राप्त गरेर क्रान्तिको निम्ति हिंडेका क्रान्तिदूतहरू अन्तिम गन्तव्यसम्म निरन्तर अगाडि बढिरहन सक्छन् भन्ने सन्देश प्रवाह यसरी गरिएको छ कवितामा-

‘आगाका लप्काहरू 
मैतिर सोझिंदै छन्
म आगो निल्ने मान्छे
कसरी तुहिन सक्छ मेरो
सङ्घर्षको पहाड ।’ (प्रतिबद्धता, पृष्ठ्र ३२ ।)
‘अब बारुद बनेर
अक्षरहरूमा टुसाउँछ मेरो चेतना
र विस्फोट हुन्छ, सैतानहरूको साम्राज्यमा ।’  (म अक्षर हुँ’, पृष्ठ– ३८)

विगतमा गरिएका क्रान्तिकारी भनिएका आन्दोलन वा सशस्त्र सङ्घर्ष वा युद्धहरू आफ्नाे  घोषित गन्तव्यमा पुग्नुभन्दा पहिले नै नेतृत्व पङ्क्तिबाट गरिएको विश्वास घातको चक्रव्यूहमा परेर समाप्त भएको प्रति तीव्र आक्रोश यसरी व्यक्त गरिएको छ-

‘खोइ उसले देखेका
क्रान्तिका सपना पूरा हुन सकेका ?’ –’क्रान्ति’, पृष्ठ– ५३ ।)

वर्गीय तथा जातीय शोषण र विभेदका विरोधी स्वर मात्रै उनका कविताले प्रतिध्वमित गरेका छैनन् बरु लिङ्गीय शोषण र उत्पीडन विरोधी धुन भरिएको कविता हो-

‘मान्छेको मुखुन्डो’, ‘मान्छे जस्तै ऊ’, 
‘एकाएक रङ्गमञ्चमा 
देखिएका दुर्योधनहरू
द्रौपदीलाई नङ्गाएर 
आफू बलवान पुरुष घोषणा गर्छन् 
र लाउँछन् पौरुषत्वको लाहाछाप ।’ (‘मान्छेको मुखुण्डो’, पृष्ठ– ५० )

५. राष्ट्रवादी दृष्टिकोण :
हरेक मानिसमा थोरै होस् या धेरै, ‘जननी जन्मभूमिश्च स्वर्गादपी गरियसी’ को भावना सुसुप्त वा जागृत अवस्थामा हर समय रहेको हुन्छ । जीवन बाच्ने सिसिलामा जन्म घर र जन्म स्थान/देशभन्दा जतिसुकै टाढा विश्वको जुनसुकै कुनामा पुगेको भए पनि उसमा मस्तिष्कका भित्तामा कुँदिएको जन्म घर, जन्म स्थान/ देश र बालसखीहरूको स्मृति कसैगरे पनि मेटिदैन र तिनका प्रति अगाध माया र श्रद्धाका भावहरू हुदय सागरमा तरङ्गित भइरहेका हुन्छन् भन्ने कुरा ‘इतिहास’, ‘अनलाइन संवाद’, ‘सरकार म सिमानाबासी’, ‘कवि ! म तिम्रा कविता पढ्दिन’, ‘राष्ट्रियता’, कविताले प्रवाहित गरेका छन् । जस्तो कि-
‘मभित्र सुस्ता दुख्छ
कालापानी दुख्छ
मेची, महाकाली दुख्छ
दोधारा दुख्छ, लिपुलेक दुख्छ
मेरो माटो दुख्छ,
म सिमानाबासी हुनुको व्यथा दुख्छ ।’ (‘सरकार म सिमानाबासी’, पृष्ठ– ४८ ।)
‘बरु म हलगोरु नारेर,
आफ्नै देशको भूगोल नाप्न चाहन्छु
जहाँ मेरी सङ्गिनी पछिपछि बिउ छर्नेछिन् ।’ (‘अनलाइन संवाद’  पृष्ठ– ९८)

६. पर्यावरणवादी दृष्टिकोण :
प्रकृति जगत र प्राणीजगतको अस्तित्व एक अर्काको अस्तित्वसँग सम्बन्धित रहेको हुन्छ भन्दै प्राकृतिक तत्वहरूसँग मानव अस्तित्वलाई एकाकार गरेर लेखिएका कविता हुन्— ‘नदी र जीवन’, ‘नदी’, ‘सत्य’, ‘भविष्य’, ‘फूल’ । यी कविताहरूको माध्यमबाट कवि रिसालले आफ्नो प्रकृतिवादी दृष्टिकोण यसरी पस्तुत गरेकी छिन्-
‘प्रकृतिले जतिपटक लडाओस्
अडिने यही धर्ती हो 
फेरि उठ्नका नम्ति
मान्छेले गर्ने हरेक प्रयास
उसको जिन्दगीको अर्को पर्याय हो ।’ (‘मान्छेको जिन्दगी’, पृष्ठ– १८ )

‘नदी नदी नै हो 
र पनि मभित्र सँधै
एउटा एउटा मूल भएर बग्द छ
कल्पनाको नदी
सपनाको नदी
विचारको नदी ।’ (नदी र जीवन’, पृष्ठ– २२)

७. पितृ तथा मातृ वात्सल्ययुक्त दृष्टिकोण :
‘बाका पाइलाहरू’, ‘जीवन आस्था’, ‘बा, म र कथा’ र ‘लेख्नु पर्दैन आमाको कविता’ पितृ तथा मातृ प्रेमका भावनाहरू सम्प्रेषित गर्ने कविताहरू हुन् । आफूलाई जन्मदिने, हुर्काउने र जीवनको बाटो देखाइदिने आफ्ना माता–पिताप्रति हरेक असल सन्तानहरूको हृदयको गुञ्जनका प्रतिनिधित्व यसरी गरिएको छ कवितामा- 

‘बाले निदाएदेखि चिर निद्रा
मैले देख्न छोडें सपना
मेरा मनका बारीमा फुल्न छोडे
नीला भुइँचम्पाहरू
र अनाहकमै झरेर गए केवराका फूलहरू पनि ।’ (‘बाका पाइलाहरू’, पृष्ठ– २७)

८. समसामयिक दृष्टिकोण :
जुनसुकै नामका शासन व्यवस्था गए पनि र आए पनि नेपाली जनता र राष्ट्रको जीवनमा कुनै पनि किसिमको सकारात्मक परिवर्तन नआएको र बरु वर्तमानको शासन व्यवस्थाको चेपुवामा परेका र देशभित्र कतै पनि पसिना बगाएर आफू र आफ्नो परिवारका सदस्यको मुखमा चारा र जिउमा टालो पुर्‍याउन सक्ने अवसर नपाएर दिनहुँ हजारौंको संख्यामा देश छोडी परदेश भासिइरहेका लाखौं नेपालीहरूको हविगत नै वर्तमान नेपालको वास्तविक अनुहार हो । तिनै विदेशिएका नेपालीहरूले विदेशका कल–कारखाना, खेत–खलिहान र कोठीहरूमा रगत पसिना बगाइरहेका लाखौं नेपालीहरूको प्रतिनिधिमूलक सन्देश यसरी अभिव्यक्त गरिएको छ कवितामा-

‘थोरै तातो श्वासको गन्ध
अलिकति पसिनाको अत्तर
सकल आँखाका सपना
रित्तो मनको ढुकुटी
रेमिटेन्सकै मिसाएको छु ।’ (देश खोज्दा, पृष्ठ– १९)

निष्कर्ष :
हरेक साहित्यक सिर्जनाहरू खास विचार र दृष्टिकोण प्रवाहको कलात्मक माध्यम हुन् । कविताका हरफहरूमा सरल र सहज लयमा ‘नोस्टाल्जिया’ लाई सरल र सुबोध्य किसिमबाट अभिव्यक्त गर्न सफल कवि हुन् कौशिला रिसाल । व्याकरण तथा भाषा शास्त्रीय दृष्टिकोणबाट केलाउँदा यस सङ्ग्रहभित्रका कविताहरूलाई अझै  परिमार्जित तथा परिष्कृत गर्न सकिने ठाउँहरू प्रशस्तै देखिन सके तापनि विचार तथा भाव प्रवाहको दृष्टिले कविताहरू खँदिला देखिन्छन् ।

कविता भनेका शब्दहरूका जुलुश मात्रै होइन, ती त कला, दृष्टिकोण र विचारको सुन्दर त्रिवेणी हो भन्ने कुरालाई कवि रिसालले आत्मसात गरेको देखिन्छ । कविताका अन्तरवस्तुको प्रभावमयीताको गुरुत्वाकर्षणको परिधिलाई विचार गर्दा सहज रूपमा निकाल्न सकिने निष्कर्ष हो- प्रगतिवादको सुवास मिसिएको र समसामयिक विषय र परिवेशलाई टिपेर तयार पारिएको यो प्रगतिशील कविताहरूको सङ्ग्रह हो । 


 
 

ad
ad
ad
ad