१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
मनीष खड्का रुकुम–पश्चिम
२o८१ बैशाख २० बिहीबार o८:४४:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

सात गुणा मूल्य घटाउँदा पनि बिकेन प्याजको बिउ

Read Time : > 1 मिनेट
मनीष खड्का, रुकुम–पश्चिम
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o८:४४:oo

रुकुम–पश्चिममा ठूलो मात्रामा प्याजको बिउ थन्किएको छ । बजार नपाउँदा जिल्लाभरमा गरेर करिब १४ मेट्रिकटन प्याजको बिउ थन्किएको हो । 

कृषि विकास कार्यालयका प्रमुख मीनबहादुर केसीले अहिलेको बजार मूल्यअनुसार करिब साढे ५६ लाख मूल्यबराबरको बिउ बिक्री नभएर थन्किएको बताए । जिल्लाका मुसिकोट नगरपालिका, सानीभेरी गाउँपालिका, बाँफिकोट गाउँपालिका र त्रिवेणी गाउँपालिकाका विभिन्न ठाउँमा गरी १४ मेट्रिकटन रेड क्रियोल जातको प्याजको बिउ बिक्री हुन नसेकेको उनको भनाइ छ । 

ठूलो मात्रामा बिउ बिक्री नहुँदा किसान चिन्तित बनेका छन् । गत वर्ष राम्रो मूल्य र बजार पाएर हौसिएका किसान यो वर्ष भने निराश बनेका छन् । बिउ बिक्री नहुँदा करिब साढे तीन सय बिउ उत्पादक किसान चिन्तित छन् । मुसिकोट–६ का बिउ संकलक भीमबहादुर बोहराले आफूसँग मात्र करिब १० क्विन्टल बिउ बाँकी रहेको जानकारी दिए । करिब २५ क्विन्टल बिउ भने बिक्री गरेको उनको भनाइ छ । आफूसँग एक सय १० किसानको बिउ रहेको र अझै ३० भन्दा बढी किसानसँग घरमै बिउ थन्किएर रहेको उनको भनाइ छ । बिउ थन्क्याएर राख्दा एकातिर बजारको चिन्ता छ भने अर्कोतिर मूल्यको समेत चिन्ताले किसानलाई सताइरहेको छ । समयमा बिक्री नहुँदा बिउ बिग्रिने चिन्तामा समेत किसान छन् । 

गत वर्ष किसानले प्याजको बिउको राम्रो मूल्य पाएका थिए । किसानले गत वर्ष प्रतिकिलो तीन हजार पाँच सय रुपैयाँसम्म मूल्य पाएकामा यो वर्ष त्यसको सात गुणा कम मूल्यमा पनि बजार पाउन सकेका छैनन् । यो वर्ष बिउले चारदेखि पाँच सय रुपैयाँसम्म मूल्य पाएको छ । यो मूल्यमा करिब १५ मेट्रिकटन प्याजको बिउ बिक्री भइसकेको कृषि विकास कार्यालयका प्रमुख केसीले जानकारी दिए । यो बिउ काठमाडौं, पोखरा, धनगढी, महेन्द्रनगर, दाङ, नेपालगन्जलगायतका ठाउँमा पठाइएको बताइएको छ । किसानले लागत मूल्यभन्दा निकै कममा बिउ बेच्न बाध्य भएको केसीको भनाइ छ । प्रतिकिलो प्याजको बिउ उत्पादनका लागि करिब एक हजार पाँच सय रुपैयाँ लागत पर्ने गरेको उनले बताए ।

बढी बिउ उत्पादन हुनु समस्या  
गत वर्ष जिल्लाबाट १४ मेट्रिकटन प्याजको बिउ बिक्री भएको थियो । उत्पादन पनि यति नै भएको थियो । कम बिउ भएका कारण किसानले राम्रो मूल्य पनि पाए । गत वर्षकै मूल्यलाई हेरेर धेरै किसान प्याजको बिउ उत्पादनमा लागेपछि यो वर्ष गत वर्षको भन्दा दोब्बर बढी बिउ उत्पादन भएको कृषि विकास कार्यालयको भनाइ छ । यो वर्ष बिउले मूल्य र बजार नपाउनुमा यही कारण मुख्य रहेको प्रमुख केसी बताउँछन् । जिल्लामा थन्किएको बिउ बिक्रीका लागि पहल भइरहेको कृषि विकास कार्यालयले जनाएको छ । 

ad
ad