१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
मनीष खड्का रुकुम पश्चिम
२o८१ बैशाख २० बिहीबार १७:२९:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

आधा करोडभन्दा बढी मूल्यको प्याजको बिउले बजार पाएन

Read Time : > 1 मिनेट
मनीष खड्का, रुकुम पश्चिम
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १७:२९:oo

रुकुम पश्चिममा ठूलो परिमाणमा प्याजको बिउ थन्किएको छ । बजार नपाउँदा जिल्लाभरमा गरेर करिब १४ मेट्रिकटन प्याजको बिउ थन्किएको कृषि विकास कार्यालयका प्रमुख मीनबहादुर केसीले जानकारी दिए ।

केसीका अनुसार अहिलेको बजारमूल्यअनुसार करिब साढे ५६ लाख मूल्यबराबरको बिउ थन्किएको हो। जिल्लाका मुसिकोट नगरपालिका, सानीभेरी गाउँपालिका, बाँफीकोट गाउँपालिका र त्रिवेणी गाउँपालिकाका विभिन्न ठाउँमा गरी १४ मेट्रिकटन रेड क्रियोल जातको प्याजको बिउ बिक्री हुन नसकेको उनले बताए।

ठूलो मात्रामा बिउ बिक्री नहुँदा किसान चिन्तित बनेका छन् । गत वर्ष राम्रो मूल्य र बजार पाएर हौसिएका किसान यो वर्ष भने निराश बनेका छन् । बिउ बिक्री नहुँदा करिब साढे तीन सय बिउ उत्पादक किसान चिन्तित छन् । मुसिकोट– ६ का बिउ संकलक भीमबहादुर बोहाेराले आफूसँग मात्र करिब १० क्विन्टल बिउ बाँकी रहेको जानकारी दिए। करिब २५ क्विन्टल बिउ भने बिक्री गरेको उनको भनाइ छ।

‘किसानबाट संकलन गरेको करिब २५ क्विन्टल बजारमा पठाइसकेँ, अब १० क्विन्टलजति गोदाममा र आठ क्विन्टलजति बिउ घरमै थन्किएको छ,’ उनले भने, ‘किसान बारम्बार बिक्री गरिदिनुपर्‍याे भन्छन्, तर बजारमा माग नै छैन।’ 

आफूसँग एक सय १० किसानको बिउ रहेको र अझै ३० बढी किसानसँग घरमै बिउ थन्किएर रहेको उनको भनाइ छ । बिउ थन्क्याएर राख्दा एकातिर बजारको चिन्ता छ भने अर्कोतिर मूल्यको समेत चिन्ताले किसानलाई सताइरहेको छ । समयमा बिक्री नहुँदा किसानलाई बिउ बिग्रिने चिन्तासमेत छ।

सात गुणा कम मूल्यमा पनि बिकेन बिउ
गत वर्ष किसानले प्याजको बिउको राम्रो मूल्य पाएका थिए । किसानले गत वर्ष प्रतिकिलो तीन हजार पाँच सयसम्म मूल्य पाएकामा यो वर्ष त्यसको सात गुणा कम मूल्यमा पनि बजार पाउन सकेका छैनन् । यो वर्ष प्रतिकिलो बिउले चारदेखि पाँच सयसम्म मूल्य पाएको छ । यो मूल्यमा करिब १५ सय मेट्रिकटन प्याजको बिउ बिक्री भइसकेको कृषि विकास कार्यालयका प्रमुख केसीले जानकारी दिए।

यो बिउ काठमाडौं, पोखरा, धनगढी, महेन्द्रनगर, दाङ, नेपालगन्जलगायतका ठाउँमा पठाइएको हो। किसानहरू लागत मूल्यभन्दा निकै कममा बिउ बेच्न बाध्य भएका केसीको भनाइ छ। प्रतिकिलो प्याजको बिउ उत्पादनका लागि करिब १५ सय लागत लाग्ने गरेको उनले बताए । गत वर्षको तुलनामा यो वर्ष धेरै बिउ उत्पादन हुँदा मूल्य घटेको हो।

मागभन्दा बढी उत्पादन हुँदा समस्या  
गत वर्ष जिल्लाबाट १४ मेट्रिकटन प्याजको बिउ बिक्री भएको थियो । उत्पादन पनि यति नै भएको थियो । कमै बिउ भएका कारण किसानले राम्रो मूल्य पनि पाए ।

गत वर्षकै मूल्यलाई हेरेर धेरै किसान प्याजको बिउ उत्पादनमा लागेपछि यो वर्ष गत वर्षको भन्दा दोब्बरभन्दा बढी बिउ उत्पादन भएको कृषि विकास कार्यालयको भनाइ छ । यो वर्ष बिउले मूल्य र बजार नपाउनुमा यही नै कारण मुख्य रहेको प्रमुख केसी बताउँछन्। ‘राम्रो आम्दानी हुने देखेपछि अन्धाधुन्द प्याजको बिउ लगाइयो, फलस्वरूप प्रशस्त उत्पादन भयो, त्यसपछि बिउले बजार र मूल्य दुवै पाएन,’ उनले भने ।

जिल्लामा थन्किएको बिउ बिक्रीका लागि पहल भइरहेको कृषि विकास कार्यालयले जनाएको छ । जिल्लामा मौज्दात रहेको बिउबारे कर्णाली प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा जानकारी गराउनेदेखि व्यापारीहरूलाई अनुरोध गर्नेसम्मका काम भइरहेको कार्यालय प्रमुख केसीले बताए। उनका अनुसार मन्त्रालयले पनि बिउ बिक्रीका लागि पहल गर्ने आश्वासन दिएको छ ।

ad
ad