
माओवादीले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसद्को हिउँदे अधिवेशनबाट पारित गर्ने सहमति दलहरूबीच भएको बताएको छ । पार्टी केन्द्रीय कार्यालय कोटेश्वरमा बिहीबार पत्रकार सम्मेलन गरेर उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले संसदीय समितिमा छलफलका क्रममा रहेको विधेयक आगामी अधिवेशनमा पारित गर्ने सहमति भएको दाबी गरेका हुन् ।
‘शान्ति प्रक्रिया महत्वपूर्ण विषय हो । यसलाई टुंग्याउन शीर्ष नेताहरूबीच छलफल भइरहेको छ । हिउँदे अधिवेशनबाट पारित गर्न दलहरूबीच सहमति भएको छ,’ उनले भने । हिउँदे अधिवेशन बोलाउनकै लागि चालू बर्खे अधिवेशन अन्त्य गरिएको उनले बताए ।
सापकोटाले देश पछाडि फर्कन नसक्ने भन्दै अग्रगामी पक्षधरबीच राष्ट्रिय दृष्टिकोण निर्माण गर्नुपर्नेमा जोड दिए । १२ बुँदे पक्षधर अग्रगामी शक्तिबीच समीक्षा बैठक बस्ने सहमति भएको पनि उनले बताए ।
सापकोटाले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको भ्रमणले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउन दलहरूलाई सघाएको बताए । गुटेरेसको भ्रमणले अन्तर्राष्ट्रिय समर्थन प्राप्त भएको उनको भनाइ छ । उनले जनतासँग माओवादी, विशेष रूपान्तरण अभियान प्रभावकारी रूपमा अगाडि बढेको पनि बताए ।