Skip This
लालुपाते सहकारी घोटाला : चितवनबाट पक्राउ परिन् पोखराकी जसोदा पौडेल
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १६ बिहीबार
  • Friday, 26 July, 2024
२o८o कार्तिक १६ बिहीबार १९:३८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

लालुपाते सहकारी घोटाला : चितवनबाट पक्राउ परिन् पोखराकी जसोदा पौडेल

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o कार्तिक १६ बिहीबार १९:३८:oo

लालुपाते सहकारी संस्था खोटाङको बचत रकम अपचलन आरोपमा पोखराकी जसोदा पौडेल (क्षेत्री) चितवनबाट पक्राउ परेकी छिन्। जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले पौडेललाई बुधबार चितवनबाट पक्राउ गरेर बिहीबार जिल्ला प्रहरी कार्यालय खोटाङ ल्याएको हो।

पक्राउ परेकी पौडेलले पटकपटक गरेर रु ७० लाखभन्दा बढी रकम लगेको देखिएको प्रहरीले जनाएको छ। पोखराबाट भागेर चितवन पुगेकी उनलाई पक्राउ गरेर जिल्ला ल्याइएसँगै कारबाहीको प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिए।

पौडेल पक्राउ परेसँगै सहकारीको रकम घोटाला प्रकरणमा पक्राउ पर्नेको संख्या नौ पुगेको प्रहरीले जनाएको छ। यसअघि गत असोज १३ गते सौर्य एयरलायन्सका क्याप्टेन सुनील जोशीलाई प्रहरीले श्रीमती रविना श्रेष्ठ (जोशी)सहित काठमाडौंबाट पक्राउ गरेको थियो।

काठमाडौंस्थित घरैबाट पक्राउ परेका जोशी दम्पत्तीलाई गाडीमार्फत जिल्ला प्रहरी कार्यालय खोटाङ ल्याएर अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ। क्याप्टेन जोशी सहकारी संस्थाका तत्कालीन अध्यक्ष अनिल जोशीका सहोदर भाइ हुन्।

तत्कालीन अध्यक्ष जोशीले बचतकर्ताको रकम भाइ-बुहारीको व्यक्तिगत बैंक खातामा जम्मा गरेर उनीहरूकै नाममा विभिन्न ठाउँमा जग्गा खरिद गरेको सहकारीको आर्थिक वर्ष ०७७-७८ को लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ। आफूहरूले जम्मा गरेको बचत डुबाएको भन्दै बचतकर्ताले वि.सं. २०७९ फागुन २ गते सञ्चालक समितिका तत्कालीन अध्यक्ष जोशीको परिवारका पाँचजना सदस्यसहित आठजनाविरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा जाहेरी दिएका थिए।

तत्कालीन अध्यक्ष जोशीको भाइ-बुहारीलाई पक्राउ गरेको चार दिनपछि असोज १७ गते प्रबन्धक रुकु जोशीलाई समेत प्रहरीले पक्राउ गरेको थियो। प्रबन्धक जोशी पनि काठमाडौंबाटै पक्राउ परेका थिए।

बचतकर्ताको रकम घोटला प्रकरणमा मुख्य दोषी ठानिएका क्याप्टेन जोशीलगायतको नाम प्रहरीले अनुसन्धानमा असर गर्ने भन्दै यसअघिसम्म सार्वजनिक गर्न मानेको थिएन। उनीहरूको परिवारले रु एक करोड ५० लाखभन्दा बढी ऋण चलाएको पाइएको सहकारीको लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ।

ऋणीहरूलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रहरीले महिना दिनपछि गत आइतबार सञ्चालक समितिका उपाध्यक्ष अर्जुन चौलागाईंसहित थप पाँचजनालाई पक्राउ गरेको छ। जिल्लाका चार हजार ५०० बचतकर्ताको रकम घोटला प्रकरणमा थप अनुसन्धान गर्न उपाध्यक्ष चौलागाईं, सचिव मनोज राई, कोषाध्यक्ष रमा शाक्य, लेखा समिति संयोजक प्रीतम श्रेष्ठ र लेखापाल सुमना राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

वि.सं. २०७२ मंसिर–१० गतेदेखि दिक्तेल बजारमा कार्यालय स्थापना गरेर कारोबार सुरु गरेको सहकारीको बचत अपचलन भएको विषय भने तत्कालीन अध्यक्ष जोशीको निधनपछि मात्र खुलेको थियो। जोशीको कोभिड–१९ को संक्रमणका कारण वि.सं. २०७८ वैशाख १५ गते पोखरामा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

तत्कालीन अध्यक्ष जोशीको कोभिड–१९ का कारण निधनपछि वि.सं. २०७८ वैशाख १६ गतेदेखि सहकारी संस्थाको आर्थिक कारोबार ठप्प छ। जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सञ्चालित सहकारी संस्थामा एकैजनाले रु ४५ लाखसम्म बचत गरेका छन् भने ७४ जना ऋणी रहेका छन्।

सहकारीका ऋणीहरूले न्यूनतम रु ३० हजारदेखि रु ७५ लाखसम्म ऋण लगेको देखिएको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ। सहकारीको जग्गाबाहेक सावाँब्याजसहित करिब रु १० करोड ऋण लगानी रहेको जनाइएको छ।

बचतकर्तालाई सावाँब्याजसहित करिब रु सात करोड रकम फिर्ता दिनुपर्ने लेखापरीक्षण प्रतिवेदनमा हिसाब देखिएको छ। सहकारीका तत्कालीन अध्यक्ष जोशीको मृत्युका कारण ऋण उठाउन र बचतकर्तालाई फिर्ता दिन कठिन भएको सञ्चालक समितिका अन्य पदाधिकारीहरूले बताउँदै आएका छन्।