Skip This
मुआब्जा नपाएपछि पुल अवरुद्ध
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o कार्तिक १५ बुधबार
  • Saturday, 27 July, 2024
२o८o कार्तिक १५ बुधबार o९:४४:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

मुआब्जा नपाएपछि पुल अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o कार्तिक १५ बुधबार o९:४४:oo

जुम्ला सदरमुकाम खलंगास्थित चन्दननाथ नगरपालिका वडा नम्बर ६ र १० जोड्ने कारागारस्थित तिला नदीमाथिको पुल अवरुद्ध गरिएको छ । पुल निर्माण गर्दा छाडेको जग्गाको मुआब्जा नपाएको भन्दै स्थानीय मदनमोहन देवकोटा, गोरीकला सार्की र कुइरो सार्कीले गहिरो खाडल खनी अवरुद्ध सडक अवरुद्ध गरेका हुन् । 

पुल निर्माणका क्रममा सडकले प्रयोग गरेको जग्गाको मुआब्जा दिने र बाँकी रहेको जग्गा प्रयोग गर्न मिल्ने गरी सहमति गरिए पनि निर्माण कार्य सकिएको वर्षौं बित्दा पनि वास्ता नगरिएको जग्गाधनीहरूको गुनासो छ । ‘त्यहीँ नदीपारिका धनीहरूलाई मुआब्जा दिइएको छ । तर हाम्रो पहुँच नभएकाले कुनै सुनुवाइ नै भएको छैन,’ मदनमोहनका छोरा चन्द्र देवकोटाले भने, ‘बाध्य भएर आन्दोलन गर्नुपरेको हो ।’ 

पुल निर्माणका क्रममा खनेर गहिरो गरिएको जग्गा पछि पुरेर जस्ताको तस्तै गरिदिने र त्यतिन्जेल ठेकेदारले जग्गाधनीलाई चामल उपलब्ध गराउने सहमति भएको अर्की जग्गाधनी गोरीकला सार्कीले बताइन् । ‘एक दुईपल्ट पच्चीस किलोका दुई–तीन बोरा चामल पनि पायौं । पुल बनेपछि न चामल पायौं, न बचेको जग्गा,’ उनले भनिन्, ‘अहिले हाम्रो भनेको कोही सुन्दैनन् । न सडक कार्यालय सुन्छ, न ठेकेदारले नै ।’ पुल निर्माणको जिम्मा चन्दननाथ नगरपलिका–६ का वडाध्यक्ष रवि थापाले लिएका थिए । 

पुल निर्माणका बेला ठेकेदारसँग भएको सम्झौता कार्यान्वयन गराउन पहल गर्ने डिभिजन सडक कार्यालयका प्रमुख दिपेन्द्र विष्टले बताए । ‘त्यसबेला के भएको थियो ? सम्झौता के थियो ? म बुझ्दैछु । तर मौखिक सहमति हो भने केही गर्न सकिँदैन । ठेकेदारबाट पेटी ठेकेदारले लिएको काम र पेटी ठेकेदारले भनेको कुरालाई हामीले वैधानिक भन्न मिल्दैन । सडक अवरोध गर्न पाउने कानुनी प्रावधान छैन । यो खुलाउनुपर्छ,’ उनले भने । अवरुद्ध सडक खुलाउन बुधबार सर्वदलीय बैठक बोलाइएको चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायतले बताए ।