१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलाई पाटन दरबार स्क्वायरमा रहेका प्राचीन एवं सांस्कृतिक सम्पदाबारे जानकारी गराउँदै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन । तस्बिर : संजित परियार/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २१ शुक्रबार o८:५५:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार प्रिन्ट संस्करण

पाटन दरबार स्क्वायरमा गुटेरेस

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o८:५५:oo

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपालका ऐतिहासिक एवं पुरातात्विक  महत्वका सम्पदाको संरक्षणमा जोड दिएका छन् । पाटन दरबार क्षेत्रको अवलोकनपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै उनले पुरातात्विक महत्वका सम्पदाको वास्तविक स्वरूप बिग्रन नदिन विशेष प्रयत्न गर्नुपर्नेमा जोड दिए । ‘भावी पुस्ताका लागि नेपालका यस्ता ऐतिहासिक सम्पदाको संरक्षणमा विशेष ध्यान दिनुपर्छ । यसले नेपालको भविष्य उज्ज्वल हुनेछ,’ उनले भने ।

सन् १९७८ मा पनि आफूले नेपाल भ्रमण गरेको स्मरण गर्दै गुटेरेसले नेपालको प्राकृतिक सौन्दर्य र सम्पदाबाट आफू मन्त्रमुग्ध भएको बताए । उनले नेपाल सन् २०२६ सम्ममा अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुन लागेको बताउँदै यस्ता ऐतिहासिक सम्पदाले पर्यटकलाई आकर्षित गरी राष्ट्रिय अर्थतन्त्रमा योगदान गर्न सक्ने बताए । 

गुटेरेसले पाटन दरबार स्क्वायरमा रहेका प्राचीन एवं सांस्कृतिक सम्पदाको निरीक्षण गरे । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले स्वागत गर्दै महासचिव गुटेरेसलाई त्यहाँको ऐतिहासिक सांस्कृतिक अवस्थाबारे जानकारी गराएका थिए ।

सोमबार र मंगलबार हिमालदेखि पोखरा र लुम्बिनी भ्रमण, संसद्लाई सम्बोधन 
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस सोमबार बिहान नेपाली सेनाको हेलिकोप्टरबाट सोलुखुम्बुको स्याङ्बोचे जाने कार्यक्रम छ । एभरेस्ट भ्यु होटलमा उनले स्थानीय बासिन्दासँग जलवायु परिवर्तनले पारेको असरबारे अन्तरक्रिया 
गर्नेछन् । त्यहीँ बिहानको नास्ता खाएर उनी काठमाडौं फर्कनेछन् । 

संयुक्त राष्ट्रसंघ कार्यालय पुल्चोकमा उनलाई ‘ब्रिफिङ’ राखिएको छ । साँझ उनी पोखरा गएर होटल फिस्टेलमा विश्राम गर्नेछन् । मंगलबार उनी अन्नपूर्ण आधार शिविर गएर स्थानीय बासिन्दासँग जलवायु परिवर्तनको असरबारे छलफल गर्ने कार्यक्रम छ । त्यहाँबाट फर्केर उनी लुम्बिनी जानेछन्, जहाँ मायादेवी मन्दिरलगायतका स्थानको दर्शन गर्ने र बिरुवा रोपेर काठमाडौं फर्कनेछन् । मंगलबार अपराह्न ४ बजे उनले संघीय संसद्लाई संयुक्त रूपमा सम्बोधन गर्नेछन् । बुधबार बिहान कतार एयरलाइन्सको उडानबाट उनी दोहा प्रस्थान गर्नेछन् । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गर्नेछन् । 

ad
ad