१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
बुद्धिनारायण श्रेष्ठ
२o८१ बैशाख १८ मंगलबार o७:५५:oo
Read Time : > 4 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

राष्ट्रसंघका महासचिवलाई चुच्चे नक्सा उपहार

Read Time : > 4 मिनेट
बुद्धिनारायण श्रेष्ठ
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार o७:५५:oo

महासचिव गुटेरेस र प्रधानमन्त्री दाहालको भेटमा औपचारिक कुराकानीका सिलसिलामा कूटनीतिक पत्रसाथ भित्तामा झुन्ड्याउन मिल्ने नेपालको चुच्चे नक्सा उपहारस्वरूप प्रदान गर्नुपर्छ

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस आज (१२ कात्तिक) देखि ४ दिने भ्रमणमा नेपाल आउन लागेका छन् । उनको सचिवालयले नेपाल भ्रमणको गृहकार्य गरिरहेको छ । न्युयोर्कस्थित राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले पनि भ्रमण तालिकाका सम्बन्धमा काम थालेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल संयुक्त राष्ट्रसंघको ७८औँ महासभालाई सम्बोधन गर्न न्युयोर्क गएका समय महासचिवलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । त्यही निम्तोलाई स्वीकार गरी महासचिव गुटेरेस नेपाल भ्रमणमा आउन लागेका हुन् ।

नेपालमा उनको यो दोस्रो भ्रमण हुनेछ । यसअघि उनी संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी उच्चायुक्त पदमा रहँदा २२ मे २००७ मा तीनदिने भ्रमणमा नेपाल आएका थिए । भ्रमणका क्रममा उनी झापाको गोलधाप भुटानी शरणार्थी शिविर पुगेका थिए । सो अवसरमा भुटानी शरणार्थीलाई तेस्रो देश पुनर्वास गराउने योजनामा छलफल भएको थियो । फलतः एक लाख १४ हजार भुटानी शरणार्थीलाई अमेरिका, बेलायत, क्यानडा, अस्टे«लिया आदि देशमा लगिएको थियो । पोर्चुगलका नागरिक महासचिव गुटेरेसलाई कम विकसित देशको समस्या र समाधानका विषयमा राम्रो ज्ञान छ । अल्पविकसित नेपालबारे पनि उनलाई जानकारी रहेको बुझिन्छ । 

गुटेरेसभन्दा पहिले संयुक्त राष्ट्रसंघका तत्कालीन तेस्रो महासचिव उ थान्त, चौथो कुर्त वाल्डहाइम, पाँचौँ जेभियर पेरेज डी कोएर, सातौँ कोफी अन्नान र आठौँ महासचिव बान की मुनले क्रमशः सन् १९६७, १९७४, १९८९, २००१ र २००८ मा नेपाल भ्रमण गरेका थिए । यी महासचिवमध्ये कोएर, कुर्त वाल्डहाइम र उ थान्तले नेपाल विश्व सम्बन्ध परिषद्द्वारा आयोजित सभामा सम्बोधन गरेका थिए । वर्तमान महासचिव गुटेरेसकोे नेपाल भ्रमणको सिलसिलामा पनि सम्बोधनको प्रबन्ध मिलाउन आवश्यक छ ।

महासचिवलाई उपहार : महासचिव गुटेरेसले काठमाडौंमा प्रधानमन्त्री दाहाललाई भेट गर्दाको समयमा औपचारिक कुराकानीका सिलसिलामा प्रधानमन्त्रीले गुटेरेसलाई कूटनीतिक पत्रसाथ भित्तामा झुन्ड्याउन मिल्ने नेपालको चुच्चे नक्सा उपहारस्वरूप प्रदान गर्नुपर्छ । संयुक्त राष्ट्रसंघअन्तर्गतका विभिन्न अन्तर्राष्ट्रिय निकायमा नेपालको नक्सा प्रयोग गर्दा यही चुच्चे नक्सा उपयोग गर्न निर्देशन गर्नुहुन भनी अनुरोध पनि गर्नुपर्छ । प्रधानमन्त्रीले व्याख्या गर्दै नेपाल सरकारको औपचारिक नक्सा यही भएकाले र स्वनिर्णय गर्ने अधिकारअन्तर्गत यस नक्साले नेपालको भौगोलिक अखण्डता जाहेर गर्छ, त्यसैले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्अन्तर्गतको ‘जियोइन्फर्म्याटिक्स डिभिजन’मा विश्वका विभिन्न देशका नक्साको आर्काइभ भएकाले यो नक्सा दर्ता गर्न पनि अनुरोेध गर्नुपर्छ । यति भयो भने चुच्चे नक्साले विश्वव्यापी मान्यता पाउँछ । महासचिव गुटेरेसलाई अहिले चुच्चे नक्सा उपहार दिइएमा सरकारका तर्फबाट कालापानी मामिला सुल्झाउन विधिवत् अनुरोध गरिएको ठहर्न सक्छ । 

चुच्चे नक्सा प्रकाशित भएपछि चीनलाई औपचारिक हिसाबमा कूटनीतिक पत्रसाथ नपठाइएका कारण चीनले ११ भदौमा प्रकाशित गरेको नयाँ नक्सामा नेपालको चुच्चे नक्सा अंकित हुन सकेन । अनौपचारिक तवरले चीनलाई थाहा भए पनि यस्ता मामिलामा औपचारिकता चहिन्छ नै । त्यसैले, राष्ट्रसंघ महासचिव गुटेरेसको नेपाल भ्रमणका समयमा कूटनीतिक हिसाबले चुच्चे नक्सा प्रदान गर्न चुक्नु हुँदैन । नेपालको सार्वभौमिकता रहेको लिपुलेक–कालापानी–लिम्पियाधुरा भारतले बलजफ्ती ओगटिरहेको तथ्य संयुक्त राष्ट्रसंघलाई अनौपचारिक तवरमा राम्ररी नै थाहा छ । चुच्चे नक्सा संयुक्त राष्ट्रसंघमा दर्ता भएपछि औपचारिक तवरले जानकारी भएको मानिन्छ । 

तत्कालीन महासचिवलाई पत्र : भारतद्वारा अतिक्रमित नेपालको कालापानी मामिला सुल्झाइदिन अन्तर्राष्ट्रिय सहयोगका लागि नेपालका नौ वाम समूहका तर्फबाट अमिक शेरचन, चित्रबहादुर केसी, हिरण्यलाल श्रेष्ठसमेत नौजनाले हस्ताक्षर गरी संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव कोफी अन्नानलाई २९ जुन १९९८ मा पठाएको पत्रमा अन्नानले २७ जुलाई १९९८ मा जवाफ दिँदै लेखेका थिए– ‘कालापानीबारे संयुक्त राष्ट्रसंघबाट भारतलाई सम्पर्क गर्न नेपाल सरकारबाट राष्ट्रसंघलाई अनुरोध आउनुपर्छ ।’

वर्तमान महासचिवलाई ज्ञापनपत्र : न्युयोर्कस्थित धेरै नेपाली संस्था सम्मिलित गराई ‘जय स्वाभिमान’ नामक संस्थाका संयोजक वरिष्ठ सञ्चारकर्मी प्रेम बानियाँले संयुक्त राष्ट्रसंघ मुख्यालयअगाडिको ‘राल्फ बन्च पार्क’मा १३ जनवरी २०२० मा एक कार्यक्रम आयोजना गरेका थिए । भारतले प्रकाशित गरेको नयाँ नक्सामा नेपालको लिपुलेक–कालापानी–लिम्पियाधुरा क्षेत्र उसको भूमिभित्र मिसाएको विरोधमा गरिएको त्यस आमसभामा प्रमुख वक्ताका रूपमा यो पंक्तिकार र अन्य नेपालीले भारतको सीमा अतिक्रमणको विरोधमा ‘गो ब्याक इन्डिया फ्रम कालापानी’ भन्दै स्वर गुञ्जायमान बनाएका थिए ।

विरोधसभालगत्तै वक्तामध्ये पंक्तिकारका साथै जिपी फाउन्डेसन, न्युयोर्क अध्यक्ष सोमनाथ घिमिरे, पत्रकार किशोर पन्थी, एनआरएन रामहरि अधिकारी, वरिष्ठ सञ्चारकर्मी प्रेम बानियाँ, अनिल अधिकारी, वरिष्ठ लोकदोहोरी गायक रामप्रसाद खनालसमेत पहिल्यै लिइएको समयअनुसार हामी संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसलाई नेपालको कालापानी क्षेत्र भारतको कब्जाबाट छुटाइदिन पहल गरिदिन माग गरिएको एक ज्ञापनपत्र बुझाउन संयुक्त राष्ट्रसंघ मुख्यालय भवनभित्र गएका थियौँ । त्यहाँ महासचिवको सभापतित्वमा चलिरहेको बैठक लम्बिएको हुँदा उनको प्रतिनिधि डेभिड हन्टरलाई ज्ञापनपत्र हस्तान्तरण गरेर हामी फर्किएका थियौँ । ज्ञापनपत्र प्राप्त भएको जानकारी पत्र एक सातापछि सोमनाथ घिमिरेलाई प्राप्त भएको थियो । यहाँ यो नालीबेली लाउनुको कारणचाहिँ संयुक्त राष्ट्रसंघ संस्थालाई नेपालको स्वामित्व भएको लिपुलेकदेखि लिम्पियाधुरासम्मको क्षेत्र भारतले अतिक्रमण गरेको छ भन्ने कुरो राम्ररी नै जानकारी छ । 

संयुक्त राष्ट्रसंघमा नेपाली पदाधिकारी : संयुक्त राष्ट्रसंघको माथिल्लो पदमा पुग्ने नेपालीमा कुलचन्द्र गौतमको नाम आउँछ । उनी सहायक महासचिव भए भने त्यसअघि उनले युनिसेफका उपकार्यकारी निर्देशक पदमा रही काम गरेका थिए । राष्ट्रसंघअन्तर्गतका धेरैवटा समितिको नेतृत्व पनि उनले गरेका थिए । नेपाल सरकारका तर्फबाट सशक्त कदम चालिएको भए उनी महासचिव हुने थिए । तर, नेपालको शिथिल कूटनीति र विश्व राजनीतिले नेपालीको छोरा त्यहाँ पुग्न पाएनन् । पोर्चुगलका एन्टोनियो गुटेरेस महासचिव हुन पुगे । 

संयुक्त राष्ट्रसंघमा नेपालबाट सन् १९५६ देखि ६० सम्म पहिलो प्रतिनिधित्व गर्ने हृषिकेश शाह थिए । युएन फोर्स र काटागिज सेनाबीच युद्धविराम गर्न मञ्जुरी गराउने सिलसिलामा प्रस्थान गर्दा महासचिव ड्याग ह्यामरसोल्ड चढेकोे हवाईजहाज कंगोमा दुर्घटना भई मृत्यु भएको कारण पत्ता लगाउन राष्ट्रसंघको साधारण सभाद्वारा अन्तर्राष्ट्रिय आयोगको अध्यक्षमा सन् १९६१ मा हृषिकेश शाह चुिनएका थिए । त्यस समय शाहले ठूलो जिम्मेवारी वहन गरी यथार्थ प्रतिवेदन बुझाएका थिए । ह्यामरसोल्डको मृत्युपछि शाह राष्ट्रसंघका महासचिव हुनेवाला थिए । तर, तत्कालीन नेपाल सरकारको सशक्त पहल नपुगेका कारण म्यानमारका उ थान्त महासचिव भए । 

विविध : महासचिव गुटेरेसको भ्रमणका दौरान नेपाली पक्षले केही महत्वपूर्ण विषय प्रस्तुत गर्नुपर्छ । नेपालबाट विश्वलाई नै सन्देश दिन सक्ने प्रकारको एजेन्डा राख्नुपर्छ । यसमा नेपालले मिहिन ढंगले एजेन्डा छनोट गर्नुपर्छ । महासचिवलाई बुद्धको जन्मस्थल तथा पर्यटकीय क्षेत्र लुम्बिनीको अवलोकन गराउनैपर्छ । अवलोकनका क्रममा जापानी वास्तुविद् केन्जो टाँगेले सन् १९७८ मा तयार पारेको लुम्बिनी गुरुयोजना देखाउँदै सम्झनाको चिनोस्वरूप बुद्धको प्रतिमूर्ति उपहार प्रदान गर्नुपर्छ । नेपाल भगवान् गौतम बुद्धको जन्मस्थल भएको देश हो, बुद्ध शान्तिका पुजारी हुन्, बुद्धलाई शान्तिको प्रतीक मानिन्छ भन्ने उल्लेख गर्दै विश्वका विभिन्न देशमा अशान्ति तथा वैमनस्य फैलँदै आएकाले बुद्धको शान्ति सन्देशलाई मनन गरी संसारभर नै शान्ति फैलाउन संयुक्त राष्ट्रसंघले अझ सशक्त भूमिका खेल्नु आवश्यक परेको कुरा स्मरण गराउनुपर्छ । नेपालले सन् १९५८ देखि विश्वमा शान्ति स्थापनाका लागि योगदान पुर्‍याउँदै आइरहेको नेपाली शान्ति सेनाका पदाधिकारीलाई पनि प्रोत्साहन गर्दै माथिल्लो तहमा पुग्नका लागि सहज बनाउन पनि अनुरोध गर्नुपर्छ । 

दुई पक्षबीचको छलफलका क्रममा हिमालयको हिउँ पग्लने क्रम वर्षैपिच्छे बढ्दै गएकाले नेपालको छिमेकी देश चीनको सांघाई औद्योगिक क्षेत्रबाट र भारतमा पत्थरकोइलाजस्ता वस्तु उपयोग गरी नेपालको वायुमण्डलमा तैरने कण, धुलो, धुँवाले तापक्रम वृद्धि गरेको हुँदा ती दुई देशलाई थर्मल पावर उपयोग नगर्न अनुरोध गर्न राष्ट्रसंघको सहायता खोज्नुपर्छ । यसबाहेक जलवायु परिवर्तन अध्ययनसम्बन्धी आयोजना कार्यान्वयन, दिगो विकासको लक्ष्यबाट नेपाललाई दिइने विकास कोषमा वृद्धि, ग्रामीण विकास आयोजना सम्बन्धमा राष्ट्रसंघको अरू बढी सहयोगको याचना गर्नुपर्छ । यी कुरा आफ्नै ठाउँमा छन् । तथापि, राष्ट्रसंघको महासचिवलाई चुच्चे नक्सा उपहार दिएर नेपालको भौगोलिक अखण्डता र स्वाधीनता कायम राख्ने कार्यमा सरकार अग्रसर हुनुपर्छ ।

(श्रेष्ठ सीमाविद् हुन्)

ad
ad