१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नवीन अर्याल काठमाडौं
२o८१ बैशाख २० बिहीबार १५:४८:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

चन्द्रागिरिमा प्याराग्लाइडिङ सुरु

Read Time : > 1 मिनेट
नवीन अर्याल, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १५:४८:oo

काठमाडौं उपत्यकानजिकको चर्चित ‘हिल स्टेसन’ चन्द्रागिरिमा प्याराग्लाइडिङको व्यावसायिक उडान सुरु भएको छ । 

हाइअल्टिच्युड प्याराग्लाइडिङको नेपालकै पहिलो प्रशिक्षक पाइलट सानोबाबु सुनुवारको कम्पनी ‘बाबु एड्भेन्चर्स’ले  प्याराग्लाइडिङ सञ्चालनमा ल्याएको हो । 

सगरमाथाको आरोहण गरी शिखरबाटै प्याराग्लाइडिङ उडान गरेर समुद्रसम्म पुगेका सुनुवार नेसनल जियोग्राफ्रीबाट ‘एड्भेञ्चर्स अफ इयर–२०१२’ अवार्ड विजेतासमेत हुन् । 

भालेश्वर मन्दिरबाट २० मिनेट पश्चिमतर्फको चन्द्रागिरि डाँडाबाट प्याराग्लाइडिङ उडान सुरु हुने सुनुवारले बताए । चन्द्रागिरि (२३ सय मिटर)बाट सुरु भएको उडान त्यहाँबाट आकाशमा सय मिटरसम्म उचाइ लिन्छ । अदभूत दृश्यहरूको अवलोकन गर्दै समुद्र सतहबाट एक हजार सात सयय मिटर उचाइ रहेको चित्लाङमा प्याराग्लाइडिङको अवतरण गरिन्छ ।

प्याराग्लाइडिङ उडानका क्रममा भालेश्वर मन्दिरको ‘एरियल भ्यु’का साथै काठमाडौं उपत्यकाको अधिकांश भूभागको अवलोकन गर्न सकिनेछ । रसुवा र धादिङका भूभागसमेत देख्न पाइने उडानबाट मकवानपुरको टिस्टुङ, पालुङलगायत मानवनिर्मित इन्द्रसरोवर तालको समेत आकर्षक दृश्यावलोकन गर्न सकिन्छ । मौसम खुलेको वेला उत्तरतर्फ देखिने फराकिलो हिमशृंखलाले जोकोहीलाई मोहित बनाउँछ । 

उडानको अधिकांश समय जंगलमाथि हुने भएकाले जंगलको हरियाली त्यहाँको अर्को मज्जा हो ।

सरकारी अनुमतिअनुसार, कम्पनीले एकैपटकमा १२ प्याराग्लाइडर उडाउन सकिने सुनुवारले बताए । दिनमा करिब सयजनासम्मलाई सेवा दिन सकिने उनले बताए । 

स्याङ्जाको स्वरेक मैदानमा प्याराग्लाइडिङ स्कुल सञ्चालन गरिरहेका सुनुवारले साहसिक हवाई पर्यटन नेपालभर सम्भव भएको र काठमाडौंमा उपत्यकावासीलाई पनि प्यारा उडानको स्वाद चखाउन चन्द्रागिरिमा लगानी गरेको जानकारी दिए । 

उनले भने, ‘नेपालभरि प्याराग्लाइडिङ फैलाउने अभियान छ । काठमाडौंमा जनघनत्व धेरै भएकाले यसको छिटो र प्रभावकारी सन्देश फैलाउन सकिनेमा म आशावादी छु ।’

कम्पनी ‘क्रस कन्ट्री’ उडाउन गराउनसमेत तयारी अवस्थामा रहेको उनले बताए । चन्द्रागिरिमा प्याराग्लाइडिङ सञ्चालनका लागि हालसम्म करिब डेढ करोड रुपैयाँ लगानी भइसकेको र लगानी अझै बढ्ने उनको भनाइ छ ।

अनुसन्धान, कागजी प्रक्रिया र भौतिक तयारी गरेर करिब ६ वर्षको प्रयासमा चन्द्रागिरिमा प्याराग्लाइडिङ सुरु गर्न सफल भएको सुनुवारले जानकारी दिए ।

कति लाग्छ शुल्क ?
कम्पनीले चन्द्रागिरिमा प्याराग्लाइडिङमा उड्नका लागि प्रतिव्यक्ति आठ हजार रुपैयाँ शुल्क कायम गरेको छ । सो शुल्कमा १५ देखि २५ मिनेटको प्याराग्लाइडिङ उडान, सो अवधिको फोटो तथा भिडियोका साथै गाडीमा काठमाडौंबाट प्याराग्लाइडिङ स्थलसम्मको जाने–आउने सुविधा उपलब्ध हुनेछ । 

फोटो र भिडियोको उपकरणको प्रबन्ध कम्पनीले नै गर्छ । सोही प्याकेजका लागि विदेशी नागरिकले १२ हजार रुपैयाँ प्रतिव्यक्ति शुल्क तिर्नुपर्ने सुनुवारले जानकारी दिए ।

कम्पनीको सवारीमा जाने–आउने सुविधा नलिने नेपाली पर्यटकले सात हजार दुई सय रुपैयाँ तिरेरै प्याराग्लाइडिङ उडानको मज्जा लिन पाउनेछन् । 

के ख्याल गर्ने ?
प्याराग्लाइडिङ उडानमा जाँदा हावा नछिर्ने ज्याकेट र कालो चस्माको प्रयोग गर्नु उपयुक्त हुन्छ । यसो हुँदा उडानका क्रममा हावाको वेगले तपाईंलाई अप्ठ्यारो बनाउँदैन । यस्तै, उडान ‘टेक अफ’को समयमा दौडनुपर्ने भएकाले चप्पलभन्दा जुत्ता लगाउनु उत्तम हुन्छ ।

कसरी गर्ने बुकिङ ? 
चन्द्रागिरिमा प्याराग्लाइडिङ गर्नका लागि बाबु एड्भेञ्चर्सलाई उडान गर्नुभन्दा एक दिनअघि नै सम्पर्क गर्नुपर्नेछ । जसका लागि कम्पनीको वेबसाइटमार्फत वा ९८५६०५७३३९ मा फोन गरेर पनि बुकिङ गर्न सकिन्छ ।

ad
ad