मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परेर घाइते भएका पाइलट प्रकाश सेढाईंकाे निधन भएको छ । उनको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा उपचारका क्रममा निधन भएको मनाङ एयर प्रालिले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
लुक्लाबाट सोलुखुम्बुमा पर्यटक लिन गएको मनाङ एयरको ९एन-एएनजे कलसाइनको हेलिकाेप्टर असोज २७ गते बिहान दुर्घटनामा परेको थियो ।दुर्घटनामा परेको हेलिकोप्टरमा आगलागी भएकाे थियाे। हेलिकाेप्टरमा पाइलट सेढाईं एक्लै थिए।
सोलुखुम्बुको लुक्लाबाट उडेको मनाङ एयरको ‘९एन–एएनजे’ कलसाइनको हेलिकोप्टर खुम्बु–पासाङल्हामु गाउँपालिकाको लोबुचेमा अवतरणका क्रममा असोज २७ गते बिहान बिहान दुर्घटनाग्रस्त भएकाे थियाे
दुर्घटनास्थलबाट उद्धार गरी काठमाडौंको ह्याम्स अस्पतालमा ल्याइएका उनलाई परिवार र एयरलाइन्सको सल्लाहमा ह्याम्सकै विशेषज्ञ टोलीले मेडिकल स्कर्टिङ गरेर मुम्बईस्थित नेसनल बर्न सेन्टर लगेकाे थियाे ।
श्री एयरलाइन्सको चार्टर्ड उडानबाट उनलाई थप उपचारका लागि भारत लगिएको थियो । पाइलट सेढाईंको मुखको भाग, हातखुट्टालगायत ४५ देखि ५० प्रतिशत शरीर जलेको थियो । साथै, उनको फोक्सो, मेरुदण्डको हड्डी तथा किड्नीमा पनि समस्या रहेको थियो ।
तीन महिनाको बीचमा दुईवटा हेलिकोप्टर दुर्घटनामा परेपछि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मनाङ एयरको वायुसेवा सञ्चालन प्रमाणपत्र (एयर अपरेटर सर्टिफिकेट) निलम्बन गरेको छ । तीन महिनायता मनाङ एयरका दुवै हेलिकोप्टर सोलुखुम्बुमा दुर्घटना भएका हुन् ।