१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २२ शनिबार o७:१५:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

नवरात्रमा उपासना किन गरिन्छ ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार o७:१५:oo

नौ दिनसम्म नवदुर्गाको पूजा–आराधना गरिने भएकाले यस अवधिलाई नवरात्र पनि भनिन्छ । घटस्थापनादेखि नवरात्र आरम्भ हुन्छ । दशौँ दिनमा देवी विसर्जन गरेपछि आफूभन्दा ठूलाको हातबाट टीका, जमरा ग्रहण गरिन्छ ।

सुरेशचन्द्र रिजाल, ज्योतिष तथा वास्तुविद्

नवरात्रमा कुन कामना पूर्तिका लागि पूजा गर्ने भन्नेबारे मार्कण्डेय पुराणमा उल्लेख गरिएको छ ।

सावधानीपूर्वक विधिअनुरूप विभिन्न रूपको पूजा गरेमा विभिन्न मनोभिलाषा पूरा हुने उल्लेख छ ।

नौ दिनसम्म शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघन्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी, सिद्धिदात्री गरेर नवदुर्गाको क्रमशः पूजा गर्ने गरिन्छ ।

विशेष गरेर महाकाली, महालक्ष्मी र महासरस्वतीको आराधना यस पर्वमा गरिन्छ ।

पहिलो दिन : यदि लामो आयु र कुनै प्रकारको दीर्घरोगबाट बच्नका लागि पहिलो दिन शैलपुत्रीको पूजा–आराधना र गाईको घ्यूबाट बनाइएका परिकार चढाएमा आरोग्य प्राप्त हुन्छ । 

दोस्रो दिन : कुनै पनि प्रकारको बन्धनबाट मुक्ति पाउनका लागि ब्रह्मचारिणी मातालाई सख्खर चढाई पूजा–आराधना तथा दान गरेमा हरेक प्रकारको अनिष्ट नाश हुने बताइएको छ । 

तेस्रो दिन : दुःख, कष्टबाट मुक्तिका लागि गाईको दूधबाट बनाइएका विभिन्न परिकारको प्रसाद चढाउने तथा दान गरेर माता चन्द्रघन्टाको पूजा गरेमा माताको आशीर्वाद हामीमाथि सधैँभरि रहन्छ भन्ने कुरा बताइएको छ । 

चौथो दिन : चतुर्थी तिथिका दिन माता कुष्माण्डको पूजा–आराधना गरेमा ज्ञान र बुद्धि प्रदान हुनुका साथै कुनै पनि प्रकारका वाणीमा दोष छ भने उक्त तिथिमा मालपुवा अर्पण गरी पूजा गरेमा र मालपुवा दान गरेमा शुभ हुने कुरा उल्लेख गरिएको छ । 

पाँचौँ दिन : पञ्चमी तिथिका दिन स्कन्धमाताको पूजा–आराधना गरेमा व्यापार–व्यवसायबाट सफलता तथा राज्यबाट पाउने सेवा तथा सुविधा वृद्धिका साथै रोजगारीका लागि पनि राम्रो हुने कुरा बताइएको छ । यस दिनमा केराको भोग लगाएर पूजा–आराधना गरेमा सफलता मिल्ने बताइएको छ । 

छैटौँ दिन : सुन्दरताका साथै मनले चाहेको व्यक्ति प्राप्तिका लागि कात्यायनी माताको पूजा–आराधना गरेमा सफल हुने कुरा बताइएको छ । यदि घरमा कुनै अविवाहित व्यक्ति हुनुहुन्छ भने विवाहमा बाधा–अवरोध परेको छ भने मह चढाएर माता कात्यायनीको पूजा–आराधना गरेमा कार्यसिद्धि हुने कुरा पनि बताइएको छ । 

सातौँ दिन : कुनै पनि प्रकारका मुद्दा मामिला तथा दुर्घटनाबाट छुटकाराका लागि सप्तमी तिथिका दिन कालरात्रि भगवतीको पूजाबाट सम्पूर्ण कष्ट नाश हुने कुरा बताइएको छ । कुनै पनि प्रकारका आकस्मिक विपत्तिबाट रक्षाका लागि सख्खर दान गरेमा बाधा अड्चन नआउने शास्त्रमा बताइएको छ । 

आठौँ दिन : महागौरी भगवतीको घटस्थापनाको आठौँ दिन पूजा तथा आराधना गर्नुपर्ने कुरा बताइएको छ । उक्त दिन महागौरीको पूजा–आराधना गरेमा सन्तानसुख मिल्ने कुरा पनि शास्त्रमा उल्लेख गरिएको छ । महागौरी भगवतीलाई नरिवल अर्पण गरेमा सम्पूर्ण सुख शान्ति प्राप्ति हुने कुरा पनि बताइएको छ ।

नवौँ दिन : घटस्थापनाको नवौँ दिन अर्थात् नवमी तिथिका दिन घ्यू चढाएर पूजा–आराधना गरेमा अकाल मृत्युबाट बच्नका लागि र कुनै पनि प्रकारका नराम्रा समाचार सुन्न नपरोस् भन्नका लागि सिद्धिदात्री भगवतीको पूजा–आराधना गर्ने कुरा शास्त्रमा बताइएको छ । दशौँ दिनमा देवी विसर्जन गरी विजयोत्सवका रूपमा टीका र जमरा लगाइन्छ ।

ad
ad