१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १५:१o:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ डिजिटल संस्करण

मुस्ताङबाट २३ करोडका च्याङ्ग्रा निकासी    

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १५:१o:oo

मुस्ताङबाट दसैँ पर्वलाई लक्षित गरेर २३ करोड मूल्यबराबरको च्याङ्ग्रा निकासी भएको छ । म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौंलगायत जिल्लामा च्याङ्ग्रा निकासी भएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङले जनाएको छ ।

केन्द्रका प्रमुख ऋषिराम पोखरेलले यस वर्ष दसैँका लागि पाँच हजार सात सय ५५ च्याङ्ग्रा निकासी भएको जानकारी दिए । ‘जोमसोमको नाकाबाट पाँच हजार सात सय ५५ च्याङ्ग्रा निकासीका लागि स्वास्थ्य परीक्षण गरेर निरोगिताको प्रमाणपत्र जारी भएको छ,’ उनले भने, ‘कृषकले बिक्री गरेको सरदर मूल्यलाई आधार मान्दा २३ करोड दुई लाख मूल्यबराबरको च्याङ्ग्रा निकासी भएको छ ।’

मुस्ताङका कृषकले पालेका चार हजार र एक हजार सात ५५ वटा डोल्पा, मुगुबाट ल्याएका च्याङ्ग्रा निकासी भएको उनले बताए । गत असोजको २० गतेदेखि यही कात्तिक १ गतेसम्म च्याङ्ग्रा निकासी भएको थियो ।

प्रतिगोटा च्याङ्ग्राको स्वास्थ्य परीक्षण गरेबापत पशु चिकित्सकलाई  १५ रुपैयाँ शुल्क तिर्नुपर्छ । स्वास्थ्य परीक्षण गरेर निरोगी पशु मात्र एक जिल्लाबाट अर्को जिल्लामा लैजान पाइन्छ । च्याङ्ग्रा खरिद गर्नका लागि व्यापारीहरू मुस्ताङका कृषकको गोठमै पुगेका थिए ।  

कृषकले प्रतिगोटा  ४० हजारको हाराहारीमा च्याङ्ग्रा बिक्री गरेको बताएका छन् । गत वर्ष ६ हजार ६ सय, ०७८ मा १२ हजार र ०७६ अघि वार्षिक २० देखि २५ हजारको संख्यामा मुस्ताङबाट भेडाच्याङ्ग्रा निकासी भएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्यांक छ ।  

पछिल्लो चार वर्षयता चिनियाँ च्याङ्ग्रा नआएको र मुस्ताङमा च्याङ्ग्रा कम भएकाले माग धान्न नसकेर मूूल्य बढेको छोसेरका कृषक आङगेल गुरुङले बताए । तीनदेखि चार वर्ष उमेरका च्याङ्ग्रा मासुका लागि बजार पठाउने गरिएको छ । हिमाली भेगमा पालन गरिएका भेडाच्याङ्ग्राहरूले लेकाली जडीबुटीहरू खाने भएकाले मासु पोषिलो र स्वादिष्ट हुने उपभोक्ताहरूको अनुभव छ । दसैँ–तिहारमा च्याङ्ग्राको मासुको खपत बढी हुने गर्छ ।  

मुस्ताङको बारागुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर, दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा ४८ हजार च्याङ्ग्रा पालिएका छन् । ६५ ठूला च्याङ्ग्रा फार्म छन् । लोमान्थाङ र लोघेकर दामोदरकुण्डका कृषकले ३० देखि ५० सम्म घरघरमा च्याङ्ग्रा पालेका छन् । हिमचुतुवा, ब्वासो र जंगली कुकुरले च्याङ्ग्रालाई आक्रमण गरेर क्षति गर्ने गरेका छन् ।

तीन वर्षअघिसम्म प्रतिगोटा च्याङ्ग्राको मुल्य २५ हजार रुपैयाँ थियो । कोरोना महामारीका कारण चिनियाँ कोरला नाकाबाट च्याङ्ग्रा आयात नभएकाले मुस्ताङको च्याङ्ग्राको मूल्य बढेको व्यापारीको भनाइ छ । वैशाख र भदौ महिनामा लाग्ने मेलामा तिब्बतबाट उपल्लो मुस्ताङमा च्याङ्ग्रा आयात हुने गर्दथ्यो ।     

ad
ad