
नेपाल बैंकर्स संघ तथा फाइनान्सियल लिटरेसी नेपालबीच वित्तीय साक्षरतासम्बन्धी सहकार्य गर्ने विषयमा समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरन्जीवी नेपालको उपस्थितिमा भएको उक्त कार्यक्रममा फाइनान्सियल लिटरेसी नेपालको तर्फबाट भुवन दाहाल, नीरज गिरी, रमेश शर्मा तथा नेपाल बैंकर्स संघका तर्फबाट सुनील केसी र अनिल शर्माको उपस्थिति थियो ।
सो सम्झौतापत्रमा संघका कार्यकारी निर्देशक अनिल शर्मा तथा फाइनान्सियल लिटरेसी नेपालका तर्फबाट मुख्य प्रबन्धक रमेश शर्माले हस्ताक्षर गरे । समझदारीअनुसार नेपाल बैंकर्स संघ र फाइनान्सियल लिटरेसी नेपालले संयुक्त रूपमा विभिन्न प्रदेशहरूमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गर्नेछन् ।
पूर्वगभर्नर नेपालले दुवै संस्था मिलेर वित्तीय साक्षरताका कार्यक्रम अगाडि बढाउँदा थप प्रभावकारी हुने बताए । यसैगरी संघका अध्यक्ष केसीले यस सम्झौताले वित्तीय साक्षरता तथा बैंकिङ प्रवद्र्धनमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा व्यक्त गरे । फाइनान्सियल लिटरेसी नेपालका अध्यक्ष भुवन दाहालले यस सम्झौताअनुसार संयुक्त रूपमा विभिन्न प्रदेशहरूमा वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गरिने जानकारी गराए ।