१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २६ शुक्रबार
  • Friday, 09 May, 2025
इस्लामावाद
२o८२ बैशाख २६ शुक्रबार o८:o९:oo
Read Time : > 1 मिनेट
विश्व प्रिन्ट संस्करण

भारतका २५ ड्रोन खसालेको पाकिस्तानको भनाइ 

Read Time : > 1 मिनेट
इस्लामावाद
नयाँ पत्रिका
२o८२ बैशाख २६ शुक्रबार o८:o९:oo

पाकिस्तानमा ड्रोन आक्रमण गरिएको भारतीय दाबीलाई पुष्टि गर्ने गरी पाकिस्तानी सेनाले आफूहरूले कैयौँ भारतीय ड्रोन खसालेको दाबी गरेको छ । बुधबार रातिदेखि भारतले आक्रमणमा प्रयोग गरेका २५ इजरायल निर्मित ‘हारोप ड्रोन’ खसालेको उसले बताएको छ । 

पाकिस्तान सेनाको जनसम्पर्क कार्यालयले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो दाबी गरेको हो । ‘पाकिस्तानी सेनाले आफ्नो सफ्ट–पावर (प्राविधिक) र हार्ड–पावर (हतियार)को पूर्ण प्रयोग गरेर २५ वटा इजरायल निर्मित हारोप ड्रोन खसालेको छ ,’ पाकिस्तानी सेनाको जनसम्पर्क कार्यालयले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको द डोनले लेखेको छ । बुधबारदेखि दुई देशले एक–अर्काको भूमिमा ड्रोन र मिसाइल हानिरहेका छन् । 

विज्ञप्तिमा पाकिस्तानी सेनाले बुधबार पाँच भारतीय लडाकु विमान खसालेको दाबी गर्दै त्यसलाई ठुलो जितको रूपमा व्याख्या गरिएको छ । भारतीय अधिकारीले कम्तीमा तीन विमान भारतीय भूमिमै ‘दुर्घटनाग्रस्त’ भएको स्विकारेको पनि उल्लेख गरिएको छ ।

भारतीय आक्रमणप्रति पाकिस्तानको प्रतिक्रियालाई उल्लेख गर्दै प्रेस विज्ञप्तिमा भनिएको छ : ‘आफ्ना पाँच आधुनिक लडाकु विमान, ड्रोन र कैयौँ चौकी नष्ट भएपछि भारत आतंकित हुँदै इजरायल निर्मित हारोप ड्रोनहरूको प्रयोग गरेर पाकिस्तानमाथि आक्रमण गरिरहेको छ,’ विज्ञप्तिमा थपिएको छ ।

इजरायल निर्मित यी हारोप ड्रोनहरूका भग्नावशेष पाकिस्तानका विभिन्न स्थानबाट संकलन भइरहेको पाकिस्तानी सेनाको मिडिया शाखाले भनेको द डोनको अनलाइन संस्करणले लेखेको छ । 

भारतीय समाचार एजेन्सी एएनआई न्युजका अनुसार ‘भारतीय सेनाले पाकिस्तानको ‘हवाई रक्षा प्रणाली’लाई निसाना बनाउन हार्पी ड्रोन प्रयोग गरिरहेको छ । हार्पी राडार प्रणालीमा आक्रमण गर्न डिजाइन गरिएको ड्रोन हो । उच्च विस्फोटक पदार्थ बोक्न सक्ने यस ड्रोनले शत्रुको हवाई प्रतिरक्षा भूमिकालाई निस्तेज बनाउँछ ।’

पाकिस्तानी सेनाका प्रवक्ता अहमद सरिफ चौधरीले भारतीय १२ ड्रोनहरू निष्क्रिय पारिएको स्थानहरूको नाम नै उल्लेख गरेको द डोनले लेखेको छ । ‘लाहोर, अटोक, गुजरानवाला, चकवाल, रावलपिन्डी, पन्जाबको बहावलपुर साथै सुक्कुरको मियानो, उमरकोटको चोर र सिन्धको कराँची नजिक ड्रोन खसालिएको छ । एउटा ड्रोन भने आंशिक रूपमा लाहोर नजिकैको सैन्य संयन्त्रलाई प्रहार गर्न सफल भयो । त्यहाँ सेनाका चार जवान घाइते भएका छन्,’ लेफ्टिनेन्ट जनरल चौधरीले भने, ‘लाहोरनजिकै भएको आक्रमणमा पाकिस्तानी सेनाका चारजना घाइते भएका छन् । भारतले हानेको ड्रोनका कारण मियानोमा एकजना पाकिस्तानी नागरिक मारिएको र अर्का एक घाइते भएको द डोनले लेखेका छ ।

(द डनबाट)