१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
मारिया रामिरेज
२o८१ बैशाख २१ शुक्रबार १o:१३:oo
Read Time : > 2 मिनेट
ad
ad
दृष्टिकोण प्रिन्ट संस्करण

दिनानुदिन अस्थिर हुँदै स्पेनी राजनीति

Read Time : > 2 मिनेट
मारिया रामिरेज
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १o:१३:oo

स्पेनमा यही जुलाईमा भएको आमचुनावमा उग्र–दक्षिणपन्थी भोक्स पार्टीको समर्थनमा उल्लेखनीय गिरावट आयो र यसले युरोपेली राजनीतिमा दक्षिणपन्थी रुझानलाई रोक्न सक्ने आशा जगायो । तर, यसको तीन महिना बितिसक्दा पनि स्पेनमा नयाँ सरकार बनेको छैन । उसो त गतिरोध वर्षको अन्त्यसम्ममा समाप्त हुन सक्छ, तर हालको संसदीय दृश्यले स्पेनको भावी नेतृत्व चिन्ताजनक हुने देखाएको छ । मुलुकको राजनीतिक गडबडीले स्पेनको समानुपातिक मतदान प्रणाली र ध्रुवीकृत सार्वजनिक क्षेत्रलाई प्रतिबिम्बित गर्छ । 

जुलाईको चुनावमा कुनै पनि प्रमुख दलले बहुमतीय सरकार बनाउन पर्याप्त सिट पाएनन् । पुरातनपन्थी पिपुल्स पार्टी र मध्यम–वामपन्थी स्पेनिस सोसलिस्ट वर्कर्स पार्टीले क्रमशः सबैभन्दा बढी सिट जिते पनि दुवैले संसदीय बहुमतका लागि आवश्यक एक सय ७६ सिट जुटाउन सकेनन् । 

आर्थिक संकटपछि स्पेनको राजनीतिमा यसो हुनु सामान्य भइसकेको छ । यसले पुरानो राजनीतिक परिदृश्यलाई भंग गर्दै नयाँ पार्टी र राजनीतिज्ञको नयाँ पुस्तालाई जन्म दियो । सन् २०१५ देखि सरकार निर्माण गर्नु भनेको प्रायः साना क्षेत्रीय दलसँग जटिल गठबन्धन बनाउनु रहेको छ । गत साता पुरातनपन्थी नेता अल्बर्टो नुनेज फेइजोको प्रधानमन्त्रीका लागि दोस्रो प्रयास पनि असफल भयो । यससँगै सन् ०१८ देखि सत्तामा रहेका सोसलिस्ट नेता एवं प्रधानमन्त्री पेड्रो सान्चेज अब आफूलाई सत्तामा रहिरहन आवश्यक मतबाट थोरैले पछि छन् । 

सन् २०१५ देखि स्पेनमा राष्ट्रिय र क्षेत्रीय तहमा कामचलाउ सरकारको समयावधि विस्तार हुनु सामान्य भएको छ

२९ सेप्टेम्बरमा प्रधानमन्त्री चयनको बहसका क्रममा चर्को र निराशाजनक आदानप्रदानले सम्भावित अस्थिरता र चुनौतीपूर्ण शासन अवस्थाको पूर्वचित्रण गरेको थियो । फेइजोले सान्चेजलाई ‘झुटमा बनेको सरकार’ गठन गरेको आरोप लगाएका थिए भने सोसलिस्ट पार्टीले फेइजोलाई पर्याप्त संसदीय समर्थनविनै मतदान गर्न लगाएर ‘राजाप्रति बफादार नभएको’ आरोप लगायो । उग्र–दक्षिणपन्थी नेता सान्टियागो एबास्कलले प्रधानमन्त्रीलाई ‘फिल्मी खलनायक’ भनेका छन् ।
संसदीय सत्रको समयमा क्यानरी टापुका एक क्षेत्रीय पार्टीकी सांसद क्रिस्टिना वालिदोले ‘किन यति धेरै शत्रुता ?’ भन्दै प्रश्न गरेकी थिइन् । सामान्यतः शान्त कोर्तेस (स्पेनको संसद) मा जब सभामुखले गल्तीले मतदानलाई बेवास्ता गर्दा सांसदले ठूलो स्वरले चिच्याउँदा वालिदोले टिप्पणी गरेकी थिइन् । 

आगामी साता सान्चेजले सुमारसँग वामपन्थी गठबन्धन बनाउने र राष्ट्रवादी पार्टीको समर्थन हासिल गर्ने लक्ष्य राखेका छन् । उसो त सान्चेज पुनः निर्वाचित हुनेमा विश्वस्त छन्, तथापि अप्ठ्यारा राजनीतिक लेनदेन सम्मुखमा छन्, जसमा क्याटलन पृथकतावादी पार्टी जन्ट्ससँगको वार्ता पनि समावेश छ । जन्ट्सका नेता काल्र्स पुइग्देमोन्त अवैध क्याटलन स्वतन्त्रता जनमतसंग्रह आयोजना गरेको अभियोगबाट जोगिन सन् २०१७ मा बेल्जियम पलायन भएका थिए । सान्चेजले पुइग्देमोन्त र अन्य अधिकारीलाई आममाफी दिनेबारे विचार गर्न सक्छन् । तर, सर्त स्पष्ट नभएको अवस्थामा यस्तो सम्झौताले सान्चेज र सोसलिस्ट पार्टीप्रति स्पेनिस मतदाताले गरेको समर्थन भाँडिन सक्छ । 

मुख्य क्याटलन पृथकतावादी पार्टीले क्याटलोनियामा जनमतसंग्रहमा अघि बढे मात्रै सरकारलाई समर्थन गर्ने भनेका छ, तर सोसलिस्ट पार्टीले क्याटलोनिया स्वतन्त्रताको मतदानलाई अस्वीकार गर्छ । र, पृथकतावादी पार्टी चौथो र पाँचौँ स्थानमा पछाडि पर्दा क्याटलोनियाको आमचुनावमा सोसलिस्ट पार्टीले जित हासिल गरेसँगै क्याटलान राष्ट्रवादलाई धक्का लागेको छ ।

यदि सान्चेजले आगामी दुई महिनामा पर्याप्त समर्थन जुटाउन सकेनन् भने स्पेनले सम्भवतः जनवरीमा आठ वर्षमा छैटौँ आमचुनावको सामना गर्न सक्छ । सोसलिस्ट पार्टी र सुमारको प्रगतिशील गठबन्धनले सरकार बनाए पनि विभिन्न स्वार्थ भएका दलको विरोधका कारण विधेयक पारित गर्न चुनौतीपूर्ण हुनेछ । यसबाहेक पुरातनपन्थी पार्टीले सिनेट (माथिल्लो सदन) मात्र नियन्त्रण जमाएका कारण परिस्थिति थप जटिल हुने देखिन्छ । स्पेनका राजनीतिज्ञ ध्रुवीकृत हुँदा सन् २०२१ को एक अध्ययनले लैंगिक समानता, सम्पत्तिको पुनर्वितरण र जलवायु संकटजस्ता मुद्दामा साधारण मानिस धेरै हदसम्म सहमत छन् भन्ने देखाएको छ । तथापि तनावको प्राथमिक स्रोत स्पेनिस एकता हो । विशेषतः स्पेनभित्र क्याटलोनियाको वर्तमान स्थितिले तनाव निम्त्याएको छ ।

स्पेनी राजनीति बेलायत वा अमेरिकाजस्तो स्पष्ट दुई–दलीय प्रणालीमा पुग्न सकेको छैन । दुई प्रमुख दलले तीन दशकसम्म सहज बहुमत हासिल गरे पनि कहिलेकाहीँ सरकार बनाउन वा कानुन पारित गर्नुपर्नेमा साना र क्षेत्रीय दलको आवश्यकता पथ्र्यो । त्यसमाथि आर्थिक संकट र त्यसको परिणामले स्पेनी राजनीतिमा थप विभाजन निम्तिएको छ । उग्र–वामपन्थी पोडेमोस (अहिले सुमारको हिस्सा), मध्य–दक्षिणपन्थी (अहिले संसद्बाहिर रहेको शक्ति) र उग्र–दक्षिणपन्थी भोक्सले मौजुदा वैचारिक ठाउँ ओगटेका छन् र कहिलेकहीँ विस्तार पनि गरेका छन् ।

युवा नेताले परिवर्तन र समावेशिताको सम्भावना नल्याएका होइनन्, तर कतिपयले विश्वव्यापी लोकतान्त्रिक र विभाजनकारी प्रवृत्तिलाई पनि उत्तेजित गरेका थिए । बढ्दो रूपमा विभाजित संसद्ले बारम्बार अवरोध र अल्पकालीन चुनाव निम्त्याएको छ । सन् २०१५ देखि राष्ट्रिय र क्षेत्रीय तहमा कामचलाउ सरकारको समयावधि विस्तार हुनु सामान्य भएको छ ।

उल्लेखनीय मत प्राप्तिका बाबजुद पनि दुई मुख्य दल स्पष्ट सन्देश दिन संघर्ष गरिरहेका छन् र न्यायपालिकामा नियुक्तिजस्ता आवश्यक मुद्दामा समेत सहमत हुन सकिरहेका छैनन् । दोहोरिइरहने द्वन्द्वले जलवायु परिवर्तन, बाल गरिबी, स्वास्थ्य सेवा र वृद्ध जनसंख्याका लागि सामाजिक सुरक्षाजस्ता दीर्घकालीन समस्यालाई सम्बोधन गर्न पनि अप्ठ्यारो बनाइरहेको छ । त्यसमाथि सत्तारुढ दलमाझ नै थप विभाजन निम्त्याएको छ । के यो विभाजन पुरिएला त ? 
(रामिरेज स्पेनको समाचार आउटलेट एलडाइरोडटइएसकी उपप्रबन्ध सम्पादक हुन्) द गार्डियनबाट

ad
ad