Skip This
समाजवादी मोर्चाले २६ असोजमा सन्देश सभा गर्ने
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज २३ मंगलबार
  • Saturday, 27 July, 2024
२o८o असोज २३ मंगलबार १४:४६:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

समाजवादी मोर्चाले २६ असोजमा सन्देश सभा गर्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज २३ मंगलबार १४:४६:oo

समाजवादी मोर्चा नेपाल खोटाङले यही असोज २६ गते दिक्तेलमा सन्देश सभा तथा जिल्ला कार्यसमिति घोषणा गर्ने भएको छ। 

मोर्चामा आबद्ध जिल्लास्थित चार राजनीतिक दलले सोमबार पत्रकार सम्मेलन गरेर दिक्तेलमा सन्देश सभा तथा जिल्ला कार्यसमिति घोषणा गर्ने जानकारी दिएका हुन्। 

मोर्चाले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) खोटाङको पार्टी कार्यालय दिक्तेलमा पत्रकार सम्मेलन गरेर सन्देश सभा तथा जिल्ला कार्यसमिति घोषणा कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको छ।

दिक्तेलस्थित समीक्षालय हलमा सञ्चालन हुने कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय अनुशासन आयोगका अध्यक्ष एवं पूर्वसांसद टंक राई, नेकपा (एकीकृत समाजवादी) पार्टीका पोलिटब्युरो सदस्य एवम् पूर्वमन्त्री राजन राई, जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय कार्यकारिणी सदस्य रकम चेम्जुङ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लप समूहका केन्द्रीय सदस्य चन्द्र बुढाथोकी ‘सैलेश सी’लगायतका नेताहरूले सम्बोधन गर्ने जनाइएको छ। 

सन्देश सभामार्फत घोषणा हुने मोर्चाको जिल्ला कार्यसमितिमा चारवटै राजनीतिक दलका दुई–दुईजना प्रतिनिधि सहभागी गराउन केन्द्रबाट सर्कुलर आएको जसपा खोटाङका जिल्ला अध्यक्ष पिके खम्बूले जानकारी दिए। मोर्चाको जिल्ला कार्यसमितिमा को–को बस्ने भन्नेबारे भने अहिलेसम्म टुंगाे लाग्न बाँकी रहेको जनाइएको छ। 

मोर्चाले जिल्लामा नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाहेक अन्य सबै राजनीतिक दलसँग सहकार्य गरेर अगाडि बढ्ने नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष जलशेर राईले जानकारी दिए । ‘एमाले प्रतिगमनकारी पार्टी हो। मोर्चाले एमालेसँग कुनै पनि सहकार्य गर्दैन,’ पत्रकार सम्मेलन मोर्चाको राख्दै अध्यक्ष राईले भने, ‘जिल्लाको समग्र विकास तथा भलाइका निम्ति एमालेबाहेक अन्य जुनसुकै पार्टीसँग मोर्चा सहकार्य गरेर अगाडि बढ्छ। तर, प्रतिगमनकारी पार्टी एमालेसँग सहकार्य गर्दैन।’

पत्रकार सम्मेलनमा माओवादी केन्द्रका जिल्ला संयोजक दीपक पाण्डे ‘आकाश’, एकीकृत समाजवादीका अध्यक्ष राई, जसपाका अध्यक्ष खम्बु, नेकपाका जिल्ला इन्चार्ज सञ्जीव मगर (सी)लगायतका नेताहरू सहभागी थिए। जिल्लामा गठन हुने समाजवादी मोर्चाको औचित्यबारे पत्रकार सम्मेलनमा सहभागी नेताहरूले प्रस्ट्याएका थिए। 

समाजवादी मोर्चा नेपाल खोटाङको गत भदौ २२ गते दिक्तेलमा बसेको पहिलो बैठकको अध्यक्षता नेकपा (एकीकृत समाजवादी) पार्टी खोटाङका अध्यक्ष राईले गरेका थिए। केन्द्रमा ६–६ महिनामा नेतृत्व परिवर्तन गर्ने केन्द्रीय निर्णयअनुसार खोटाङमा मोर्चाको पहिलो बैठकको अध्यक्षता नेकपा (एकीकृत समाजवादी) पार्टी खोटाङका जिल्ला अध्यक्ष राईले गरेका हुन्। 

बैठकले मोर्चाको कार्यक्रमलाई सफल बनाउन लागिपर्ने, जिल्लाको विकास निर्माणमा भइरहेका ढिलासुस्तीविरुद्ध आवाज उठाउनेलगायतका विषयमा छलफल गरेको थियो। गत भदौ २५ गते विराटनगरमा भएको मोर्चाको प्रदेश भेलाले खोटाङ जिल्लाको नेतृत्व जसपालाई दिने निर्णय गरेको जनाइएको छ। 

समाजवादी मोर्चा नेपालमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहभागी छन्।

नेपाली मौलिकतासहितको समाजवाद स्थापना गर्ने र नेपालको संविधानको रक्षा, कार्यान्वयन र विकास गर्ने, विभेदरहित समाज स्थापना गर्ने लक्ष्यसहित गत असार ४ गते समाजवादी मोर्चा नेपाल घोषणा भएको हो।