१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३ बिहीबार
  • Thursday, 16 May, 2024
फाइल तस्बिर/नयाँ पत्रिका
भोजराज भण्डारी काठमाडाैं
२o८१ जेठ ३ बिहीबार o८:३३:oo
Read Time : > 3 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

उपत्यकामा दुई हजार खसी–बोका र एक हजार च्यांग्रा ल्याउँदै सरकार

Read Time : > 3 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३ बिहीबार o८:३३:oo

सरकारी स्वामित्वमा रहेको नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दसैँलाई लक्षित गरेर दुई हजार खसी र एक हजार च्यांग्रा ल्याउने भएको छ । कम्पनीले अघिल्लो वर्षभन्दा पाँच सय बढी खसी–बोका र च्यांग्रा ल्याउने भएको हो । 

विगतमा कोभिड–१९ का कारणले कम बिक्री हुने आशंकाले समग्रमा दुई हजार पाँच सयको संख्यामा ल्याइएकोमा यसपटक तीन हजार ल्याउन लागेको कम्पनीकी प्रवक्ता शर्मिला सुवेदीले बताइन् । चौपाया खरिदका लागि आन्तरिक तयारी भइरहेको र घटस्थापनापछि  बिक्री सुरु गर्ने उनको भनाइ छ । उनले भनिन्, ‘उपभोक्ताको मागलाई मूल्यांकन गरेर खरिद अघि बढाउने तयारी छ ।’ उनका अनुसार तुलसीपुर, हेटौँडा, नुवाकोट, तनहुँलगायतका जिल्लाबाट ल्याउने र च्यांग्रा जुम्ला र हुम्लाबाट ल्याइने भएको छ ।

व्यापार कम्पनीले खसी–बोका र च्यांग्राका लागि आठ करोड ३३ लाख रुपैयाँ छुट्याएको छ । उक्त रकममध्ये कम्पनीले तीन करोड ४२ लाखबराबरका खसी–बोका तथा चार करोड ९१ लाखबराबरका च्यांग्रा ल्याउने योजना बनाएको छ । घटस्थापनाका दिनसम्म खसी–बोका र च्यांग्रा ल्याइनेछ ।

अघिल्लो वर्ष कम्पनीले एक हजार एक सय ९४ वटा खसी–बोका किनेको थियो भने दार्चुलाबाट एक सय ६२ वटा च्यांग्रा खरिद गरेको थियो । कम्पनीले गत वर्ष जिउँदो खसी प्रतिकिलो पाँच सय ७० रुपैयाँ, बोका पाँच सय ५५ रुपैयाँ र च्यांग्रा प्रतिकिलो एक हजार दुई सय ६० रुपैयाँका दरले बिक्री गरेको थियो ।

व्यापारीले २५ हजार खसी–बोका ल्याउने 
दसैँलाई लक्षित गरेर व्यापारीले २५ हजार खसी–बोका ल्याउने भएका छन् । उपत्यकाको माग धान्न व्यवसायीले अघिल्लो वर्षको भन्दा केही बढाउन सकिने नेपाल चौपाया बजार तथा बधशाला व्यवस्थापक जीवनराज शर्माले बताए । उनले भने, ‘गत वर्षको जस्तो बजारमा उत्साह छैन, तैपनि माग र आपूर्तिबीच समस्या नहोस् भनेर केही बढी ल्याउने तयारी गरेका छौँ ।’ असोजको अन्तिम साताबाट खसी बिक्री गर्ने तयारी रहेको शर्माले बताए । उनका अनुसार उपत्यकामा बर्दिया, सल्यान, सुर्खेत, दाङ, उदयपुर, रुकुम, रोल्पालगायतका जिल्लाबाट खसी–बोका ल्याइनेछ ।

यस वर्ष अघिल्लो वर्षको तुलनामा दुई सयदेखि तीन सय सय रुपैयाँले मूल्य बढ्न सक्ने उनको भनाइ छ । उनले भने, ‘ढुवानी भाडा र चौपायाको गोठमै मूल्य बढेको हुँदा बजारमा पनि मूल्य बढ्न सक्छ । यस वर्ष जिउँदो खसी प्रतिकिलो ६ सय ५० रुपैयाँ पर्ने शर्माको अनुमान छ ।  

महँगो भए पनि २५ सय च्यांग्रा ल्याइने
यसपटक दसैँमा च्यांग्रा महँगो पर्ने भएको छ । गत वर्षभन्दा कम च्यांग्रा मात्र अर्डर भएको हुँदा यस वर्ष काठमाडौंमा करिब दुई हजार पाँच सय च्यांग्रा ल्याउने तयारी रहेको शर्माले बताए । उनले भने, ‘च्यांग्रा ल्याउन यस वर्ष ढुवानीमा पनि समस्या छ, पोखरा र काठमाडौंलाई करिब पाँच हजार च्यांग्रा मात्र आपूर्ति हुने हुँदा महँगो पर्ने देखिन्छ ।’ उनका अनुसार गत वर्ष प्रतिकिलो एक हजार पाँच सयदेखि एक हजार ६ सय रुपैयाँमा बिक्री भएको थियो । यस वर्ष तीन सयदेखि चार सय रुपैयाँसम्मले बढ्न सक्नेछ । 

उपत्यकाका ३५ ठाउँमा सहुलियत पसल 
हरेक वर्षजस्तै सरकारले चाडपर्वकेन्द्रित सहुलियत (सुपथ) मूल्य पसल यो वर्ष २१ असोज आइतबारबाट सञ्चालन गर्ने भएको छ । उपभोक्तालाई राहत दिन, आपूर्ति व्यवस्थापन सहज बनाउन र बजारमा हुन सक्ने मूल्यवृद्धि रोक्न सरकारी स्वामित्वका संस्थानमार्फत सुपथ मूल्य पसल ३ मंसिरसम्म सञ्चालन गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ ।

दसैँ, तिहार तथा छठजस्ता चाडबाडका समयमा उपभोग्य सामानमा निजी क्षेत्रको एकाधिकार हुन नदिन भन्दै सरकारले हरेक वर्ष सहुलियत मूल्य पसल सञ्चालन गर्दै आएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन तथा कृषि तथा पशुपक्षी विकास मन्त्रालयमातहतको दुग्ध विकास संस्थानको सहकार्यमा सहुलियत मूल्य पसल सञ्चालन हुनेछन् ।

यस्तो छ सहुलियत मूल्य पसलमा दिइने छुट
सहुलियत मूल्य पसलमा सबै किसिमका चामल, दाल, गहुँ, आँटा, पिठो, मैदा, तोरीको तेल, सनफ्लावर तेल, भट्मासको तेल र चिउरा बजार मूल्यभन्दा प्रतिकिलो सात रुपैयाँसम्म सस्तोमा बिक्री हुनेछ । त्यस्तै, कर्णालीको सिमी तथा गेडागुडीहरू, फापरको दाना, चिनो, कागुनो र उवामा प्रतिकिलो १० रुपैयाँ छुट दिइएको छ । सहुलियत मूल्य पसल सञ्चालनका लागि सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई दुई करोड ३२ लाख २० हजार बजेट छुट्याएको छ । 

त्यस्तै, साल्ट ट्रेडिङमार्फत बिक्री हुने सामानमा सहुलियत दिन सरकारले एक करोड रुपैयाँ छुट्याएको छ । साल्ट ट्रेडिङ कर्पोरेसनले चिनी प्रतिकिलो ९७ रुपैयाँमा बेच्नेछ भने बजार मूल्यको तुलनामा नुनमा प्रतिकिलो दुई र तेल तथा चिउरामा प्रतिकिलो सात रुपैयाँ छुट दिनेछ । त्यस्तै, दुग्ध विकास संस्थानले घिउमा प्रतिकिलो २०, पनिर प्रतिदुई सय ग्राममा २० रुपैयाँ छुट दिनेछ ।

कहाँ–कहाँ राखिन्छ सहुलियत मूल्य पसल ?
खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङको काठमाडौं उपत्यकामा रहेका आठ बिक्री केन्द्र र तीन घुम्ती पसलसमेत गरी जम्मा ३५ स्थानमा बिक्रीस्थल रहने जनाइएको छ । त्यसबाहेक मोरङ, झापा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुंगा, खोटाङ, सिराहा, जनकपुर, पर्सा, काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङ, रुपन्देही, बाँके, दाङ, बर्दिया, रुकुम–पूर्व र रुकुम–पश्चिममा खाद्य व्यवस्था कम्पनीले सहुलियत पसल सञ्चालन गर्नेछ । त्यस्तै रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डडेल्धुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला, महेन्द्रनगर गरी ४२ जिल्लाका ४८ स्थानमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सहुलियतपूर्ण पसल रहनेछन् । यस्ता पसलहरू आवश्यकताअनुसार थप जिल्ला र स्थानहरूमा पनि सञ्चालन गर्न सकिने मन्त्रालयले जनाएको छ ।

बजार अनुगमनमा जोड 
सञ्चालनमा ल्याइएका सहुलियत मूल्य पसल प्रभावकारी भए–नभएको विषयमा अनुगमन गर्न समिति पनि बनाइएको छ । वाणिज्य, आपूर्ति व्यवस्था तथा उपभोक्ता संरक्षण विभागबाट पनि नियमित अनुगमनका अतिरिक्त थप अनुगमन टोली बनाई सघन रूपमा अनुगमन गर्ने उल्लेख छ । खसी–बाख्राको स्वास्थ्य जाँच गर्नका लागि पशु सेवा विभाग, खाद्यान्न वस्तुको अनुगमनका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र नापतौलमा हुन सक्ने कैफियतको अनुगमन गर्न गुणस्तर नापतौल विभागले संयुक्त अनुगमन गर्ने भएका छन् । हरेक वर्ष चाडपर्वमा हुने कालोबजारी र गुणस्तरहीन सामान बिक्री हुने आशंकामा सरकारले बजार अनुगमनलाई जोड दिँदै आएको छ । 

ad
ad