मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १८ बिहीबार
  • Saturday, 15 March, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o असोज १८ बिहीबार १९:o४:oo
Read Time : > 1 मिनेट
खेलकुद डिजिटल संस्करण

टी–२० क्रिकेटमा विश्व रेकर्ड बनाउने ऐरीको एक तह बढुवा 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज १८ बिहीबार १९:o४:oo

चीनमा जारी १९औं एसियन गेम्समा टी–२० क्रिकेटतर्फ विश्व रेकर्ड कायम गर्न सफल नेपाल पुलिस क्लब क्रिकेट टिमका कप्तान दीपेन्द्रसिंह ऐरी प्रहरी सहायक हवल्दारमा बढुवा भएका छन्। 

संगठनमा उत्कृष्ट काम गर्ने कर्मचारीलाई विशेष बढुवा दिने प्रावधानअन्तर्गत राष्ट्रिय क्रिकेट टोलीका ऐरीको प्रहरीमा एक तह बढुवा भएको हो। प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको अध्यक्षतामा बसेको नीति निर्माण समिति (पिसिसी) बैठकले उनको बढुवा गरेको हो। 

‘१९औँ एसियन गेम्समा विश्व कीर्तिमान रची देश र संगठनको प्रतिष्ठा र गौरव अभिवृद्धि गर्ने कार्यमा उल्लेखनीय योगदान पुर्‍याएको हुँदा नेपाल किक्रेट टिमका सदस्य प्रहरी जवान दीपेन्द्रसिंह ऐरीलाई विशेष बढुवा प्रदान गरी प्रहरी सहायक हवल्दार पदमा बढुवा गर्ने निर्णय गरिएको छ,’ निर्णयमा भनिएको छ।

नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक कुँवरले अन्तर्राष्ट्रिय खेलमा सहभागी भई उत्कृष्ट खेल प्रदर्शन गरी विश्व कीर्तिमान कायम गर्नसमेत सफल भएकोमा बधाई दिँदै सिंगो मुलुक तथा नेपाल प्रहरी संगठनको गरिमा उच्च पार्न निर्वाह गरेको अतुलनीय भूमिका र योगदानको उच्च मूल्यांकन गर्दै एक तह बढुवा दिने निर्णय भएको बताए।

१९औँ एसियन गेम्समा टी–२० क्रिकेट प्रतियोगितामा असोज १० गते भएको मंगोलियाविरुद्धको खेलमा ऐरीले ९ बलमा अर्धशतक पूरा गरी सबैभन्दा कम बलमा अर्धशतक बनाउने विश्व कीर्तिमान कायम गरेका थिए। 

त्यस्तै, सो प्रतियोगितामै राष्ट्रिय क्रिकेट टिमको प्रतिनिधित्व गरी उत्कृष्ट खेल प्रदर्शन गर्न सफल नेपाल प्रहरीका पाँच अन्य क्रिकेट खेलाडीहरूलाई पनि प्रहरीले सम्मान गरेको छ। नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित कार्यक्रमबीच सम्मान गरेका हुन्।

सम्मानित हुने खेलाडीहरूमा नेपाल पुलिस क्रिकेट टिमका कप्तान ऐरीसहित कुशल भुर्तेल, सागर ढकाल एवं नेपाल प्रहरीमा आवद्ध करण केसी र गुल्सन झा रहेका छन्।

कार्यक्रममा सम्मानित खेलाडीहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै ऐरीले नेपाल प्रहरी संगठनमा आबद्ध भएकोमा गौरव महसुस गरेको बताए। आउँदा दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्दै जाने उनको भनाइ थियो।