
नेपालमा हाल भारतको बिहार र पश्चिम बंगाल आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको प्रभावले पछिल्लो तीन दिनदेखि देशका विभिन्न स्थानमा सामान्य वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । दिउँसो कोशी, मधेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
रातिको समयमा पनि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा अवस्थित रहेको र नेपालमा हाल भारतको बिहार र पश्चिम बंगाल आसपासको क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेकाले अझै केही दिन बदली र वर्षा हुने महाशाखाले प्रक्षेपण गरेको छ ।