१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
चीन भ्रमण सकेर शनिबार स्वदेश फर्किएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा । तस्बिर : रासस
२o८१ बैशाख २४ सोमबार o६:o८:oo
Read Time : > 2 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

फर्किए प्रधानमन्त्री

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार o६:o८:oo

पोखरा विमानस्थलमा उडान र नक्साबारे सकारात्मक छलफल भएको प्रधानमन्त्री प्रचण्डको भनाइ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो चीन भ्रमण द्विपक्षीय सम्बन्ध विस्तारमा केन्द्रित रहेको र पूर्ण रूपमा सफल भएको बताएका छन् । चीनको साताव्यापी भ्रमण पूरा गरी शनिबार स्वदेश फर्केका प्रधानमन्त्री प्रचण्डले चीनका राष्ट्रपति र प्रधानमन्त्रीसँग भएका छलफलबाट नेपाल–चीन सम्बन्धलाई थप उचाइ दिन मद्दत पुगेको बताए । 

‘चीन भ्रमण सफल भएको छ । भ्रमणले दुई देशबीचको आपसी विश्वासको वातावरणलाई थप सुदृढ गर्दै दुवै मुलुकबीच रहिआएको ऐतिहासिक सम्बन्धको समग्र पक्षलाई थप प्रगाढ बनाउन महŒवपूर्ण भूमिका खेलेको विश्वास लिएको छु,’ प्रधानमन्त्री प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘राष्ट्रपति सी जिनपिङसँग अत्यन्त हार्दिक र सौहार्दपूर्ण वातावरणमा भएको द्विपक्षीय वार्तामा दुवै देशमा विद्यमान अवसर र सम्भावनाको भरपुर सदुपयोग गर्दै आपसी सम्बन्ध थप दरिलो बनाउनबारे छलफल भएको छ ।’

प्रधानमन्त्री प्रचण्डले भेटवार्ताहरूमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट सीधा हवाई उडान गर्ने विषयमा कुराकानी भएको बताएका छन् । राष्ट्रपति सी जिनपिङ र स्टेट काउन्सिलका प्रधानमन्त्री ली छियाङबीचको भेटमा यसबारे सकारात्मक छलफल भएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । 

प्रधानमन्त्री प्रचण्डले सिचुआन प्रान्तका अधिकारीसँग पनि पोखरा विमानस्थलमा उडान भर्नेबारे छलफल गरेको जानकारी दिए । नेपाल–चीनबीच जनस्तरको सम्बन्ध प्रगाढ बनाउन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट सोझै हवाई उडान गर्ने र दुई देशको उड्डयन निकायहरूबीच सहकार्य गर्न प्रोत्साहन गर्ने विषयमा छलफल भएको उनको भनाइ छ । ‘चिनियाँ हवाई कम्पनीको छेन्दुबाट काठमाडौं सीधा हवाई सेवा उपलब्ध भइरहेको सन्दर्भमा छेन्दु र अन्य सहरबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पनि हवाई सेवा विस्तार गर्नेतर्फ सहयोग गर्न अनुरोध गरेको छु,’ उनले भने । 

प्रधानमन्त्री प्रचण्डले नेपाल र तिब्बतका परम्परागत, द्विपक्षीय तथा अन्तर्राष्ट्रिय नाका खुल्ने जानकारी दिए । कतिपय नाकामा पूर्वाधार निर्माण गर्नुपर्ने र त्यसमा पनि चीनले सघाउने आश्वासन दिएको प्रधानमन्त्रीको भनाइ थियो । 

प्रधानमन्त्रीले प्रचण्डले चिनियाँ नेताहरूसँग चीनद्वारा जारी पछिल्लो नक्साका विषयमा पनि छलफल भएको बताए । ‘नक्साबारेमा यसअघि पनि कुराकानी भएको थियो । चीनमा पनि सकारात्मक रूपमा कुराकानी भयो,’ प्रधानमन्त्री प्रचण्डले नक्साबारे सोधिएको प्रश्नमा भने । चीनले नेपालको कालापानीदेखि लिम्पियाधुरासम्मको नक्सालाई भारततर्फ पारेर नयाँ नक्सा जारी गरेपछि नेपालमा त्यसको विरोध हुँदै आएको छ । 

३० भदौमा संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन न्युयोर्क गएका प्रधानमन्त्री प्रचण्ड ६ असोजदेखि न्युयोर्कबाटै चीनको औपचारिक भ्रमणमा थिए । चीनका राष्ट्रपति सीले २०१९ मा गरेको राजकीय भ्रमणपछि नेपालबाट यो पहिलो उच्चस्तरीय भ्रमण हो । उनी चीन पुगेको पहिला दिनमैे हाङझाउमा आयोजित १९औँ एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी बनेका थिए । 

प्रधानमन्त्री प्रचण्डले चीनसँग असल मित्रका रूपमा दुई देशबीच भएका समझदारी अन्तर्राष्ट्रिय मूल्य–मान्यता र सिद्धान्तमा आधारित रहेको पनि जानकारी दिएका छन् । प्रचण्डले तिब्बत भ्रमणलाई विगतमा राष्ट्रप्रमुख र प्रधानमन्त्रीहरूले गर्ने गरेको भ्रमणकै निरन्तरताका रूपमा व्याख्या गरे । नेपाल र चीनबीच सीमा जोडिएको एक मात्र प्रान्त तिब्बत हो भने नेपालको चीनसँगको व्यापारको प्रवेश बिन्दु पनि तिब्बत नै हो ।

चीनले नेपाललाई गर्ने सहयोगका केही कार्यक्रम तिब्बतमार्फत कार्यान्वयन हुने गरेको र परम्परादेखि नै नेपाल र तिब्बतबीच व्यापार तथा जनस्तरको सम्बन्ध कायम रहेको प्रधानमन्त्रीको भनाइ थियो । यसपटक नेपाल–चीन सम्बन्ध सञ्चालनका सन्दर्भमा इन्चार्ज पनि तिब्बतको पार्टी सेक्रेटरीलाई चीनले जिम्मा दिएको छ । 

‘तिब्बतले केही समयदेखि गरिरहेको तीव्र आर्थिक विकासबाट नेपालले पनि धेरै सिक्न सक्ने र लाभ लिन सक्ने देखिएकाले तिब्बत र नेपालबीच इतिहासदेखि रहिआएको सम्बन्धलाई आगामी दिनमा घनीभूत बनाउँदै लैजाने विषयमा छलफल भएका छन्,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘तिब्बतका अधिकारीहरूले मेरो भ्रमणका अवसरमा संयुक्त रूपमा जारी भएको विज्ञप्तिमा उल्लेखित विषयलाई कार्यान्वयन गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।’

चीनको राजधानी बेइजिङमा आयोजित नेपाल–चीन व्यापार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले नेपालमा लगानीको उपयुक्त वातावरण रहेकाले नेपालका प्राथमिकताका क्षेत्रमा लगानी गर्न चिनियाँ निजी लगानीकर्तालाई आह्वान गरेको सुनाए । भ्रमणका क्रममा नेपाल र चीनबीच विभिन्न समझदारीमा हस्ताक्षर भएको छ । 
 

ad
ad