मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २२ शुक्रबार
  • Friday, 08 December, 2023
२०८० असोज ११ बिहीबार १७:०२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कर्णालीलाई विकसित प्रदेश बनाउने गरी काम भइरहेको छ : खड्का

Read Time : < 1 मिनेट
२०८० असोज ११ बिहीबार १७:०२:००

कार्यबाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णालीलाई देशकै विकसित प्रदेश बनाउने गरेर काम भइरहेको बताएका छन्।

भेरी करिडोर सिँचाइ तथा नदी व्यवस्थापन आयोजना कार्यालयको गुर्भाकोट नगरपालिका– ९ मा उद्घाटन गर्दै उनले राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना प्रभावित क्षेत्रका जनताका लागि सिँचाइ, विद्युतीकरण, सडक पूर्वाधारलगायतका सामाजिक सेवा पुर्‍याउने उद्देश्यले सरकारले भेरी किनारमा नयाँ कार्यालय स्थापना गरेको बताए।

भेरीको मुहान डोल्पादेखि सुर्खेतको घाटगाउँसम्मको भेरी किनारका जनताका लागि भेरी करिडोर सिँचाइ तथा नदी व्यवस्थापन आयोजना कार्यालयको उद्घाटन गरिएको बताइएको छ।

‘डोल्पा, जाजरकोट, रुकुम, सल्यान र सुर्खेत जिल्लाका भेरी नदीसँग जोडिएका पालिकामा सडक, विद्युतीकरण, सिँचाइलगायतका सामाजिक सेवाका कार्यहरू गर्ने उद्देश्यले नयाँ कार्यालय स्थापना गरिएको हो,’ कार्यबाहक प्रधानमन्त्री खड्काले भने, ‘भेरीको पानी बबईमा खस्नुअघि नै भेरी किनारका पालिकामा उद्देश्यअनुसारका कामहरू सम्पन्न गर्छौं।’

कार्यबाहक प्रधानमन्त्री खड्काले आयोजनालाई तीव्रताका साथमा अघि बढाउन निर्देशनसमेत दिए। भेरी–बबई आयोजनासँगै भेरी करिडोर सिँचाइ विकास आयोजना सञ्चालन गरिएको थियो।

सुरुमा एक सय २५ किलोमिटर क्षेत्रमा काम गर्ने गरेर सुरु गरिएको भए पनि अहिले स्थापना गरिएको कार्यालयले डोल्पादेखि सुर्खेतसम्म काम गर्छ। कार्यबाहक प्रधानमन्त्री खड्काले निर्वाचनका क्रममा मतदातासँग गरिएका वाचा पाँच वर्षभित्र पूरा गर्ने प्रतिबद्धता दोहोर्‍याए।