Skip This
मानव तस्करी गिरोहका प्रमुख नाइके गौतम जेल चलान
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १० बुधबार
  • Friday, 26 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८o असोज १० बुधबार o८:५८:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

मानव तस्करी गिरोहका प्रमुख नाइके गौतम जेल चलान

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज १० बुधबार o८:५८:oo

अमेरिका मानव तस्करी गर्ने गिरोहका प्रमुख नाइके हस्त गौतम जेल चलान भएका छन् । उनीविरुद्ध मानव बेचबिखत तथा संगठित अपराधका चारवटा मुद्दा दर्ता भएकोमा सोमबार जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको हो । उनीसहित गिरोहका सदस्य कमल तामाङ पनि अदालतको आदेशअनुसार जेल चलान भएको मानव बेचबिखन अनुसन्धान ब्युरोका निर्देशक एसएसपी जीवनकुमार श्रेष्ठले बताए । रुकुमका गौतमलाई प्रहरीले गत महिना भारतको सीमाबाट पक्राउ गरेको थियो ।

अमेरिका मानव तस्करी गर्ने यो सबैभन्दा ठूलो गिरोह भएको प्रहरी दाबी छ । नाइके पक्राउ परे पनि एजेन्टहरू भने अझै विभिन्न देशमा सक्रिय छन् । उनीहरूलाई प्रहरीले फरार प्रतिवादीका रूपमा मुद्दा दायर गरेको छ । 

स्याङ्जाको वालिङ स्थायी घर भएका कुलप्रसाद काफ्ले, काभ्रे रोशीका लोकेश लामा, काभ्रे नमोबुद्धका जेम्स भन्ने पूर्ण लामा, गुल्मीकी मीनाकुमारी थापालाई फरार प्रतिवादी बनाएर प्रहरीले मुद्दा दायर गरेको छ । उनीहरूमध्ये काफ्ले कोलम्बिया तथा दुबईमा बसेर मानव तस्करीको धन्दामा सक्रिय व्यक्तिहरू हुन् । उनीहरूलाई पक्राउ गर्न प्रहरीले इन्टरपोलमार्फत समेत प्रक्रिय अघि बढाउने तयारी गरेको छ । दुबईमा बस्ने थापाले मानव तस्करीको रकम हुन्डीमार्फत कारोबार गर्न सघाउँदै आएकी थिइन् । 

गौतमको गिरोहविरुद्ध जाहेरी दिनेमध्ये एक युवकले आठ वर्ष कतार र साउदी अरेबियामा ट्रक चलाएर केही पैसा जम्मा गरेका थिए । तर, अमेरिकी सपनामा त्यो पैसा गुमाएका छन् । फेसबुकमार्फत चिनजान भएका हस्त गौतमले उनलाई अमेरिका लैजाने सपना देखाएका थिए । त्यसका लागि सुरुमा काठमाडौंमा पाँच लाख बुझाए । जसअनुसार भिजिट भिसामा १८ माघ ०७९ मा दुबई लगेपछि थप पाँच लाख मेक्सिकोका लागि भनेर मागेका थिए । तर, त्यहाँ उनलाई केही भारतीयहरूले बन्धक बनाए । एक हजार डलर फिरौती तिरेर उनी २ वैशाख ०८० मा नेपाल फर्किएका थिए ।

त्यसयता एजेन्टहरू सम्पर्कविहीन भएपछि उनी प्रहरीमा पुगेका हुन् । प्रहरीले कमल तामाङलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो । सो समूहले एकै परिवारसँग एक करोड रुपैयाँसम्म अमेरिकाको सपना देखाएर विभिन्न देश पुर्‍याई अलपत्र पारेको थियो । गिरोहका नाइके गौतम आफैँ पनि अवैध बाटोबाट अमेरिका गएका व्यक्ति हुन् । पक्राउ परेपछि उनले धेरैलाई आफूले अमेरिका छिराएको दाबी गरेका छन् ।