१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ९ मंगलबार
  • Friday, 09 May, 2025
रमेश सुवेदी काठमाडौं
२o८o असोज ९ मंगलबार २१:o५:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

नेपालले युएई र हङकङसँग त्रिकोणात्मक टी-२० शृंखला खेल्ने

Read Time : < 1 मिनेट
रमेश सुवेदी, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज ९ मंगलबार २१:o५:oo

नेपालले घरेलु मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) र हङकङ सम्मिलित अन्तर्राष्ट्रिय टी–२० शृंखला खेल्ने भएको छ। 

आइसिसी टी–२० विश्वकप एसिया फाइनल छनोटअघि नेपालले ३० असोजदेखि ९ कात्तिकसम्म कीर्तिपुरको त्रिवि र मूलपानी मैदानमा शृंखला खेल्ने तय भएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ। 

क्यानको नयाँ कार्यसमितिको बैठकले यो निर्णय गरेको हो। चतुरबहादुर चन्द तेस्रोपटक अध्यक्ष र नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान पारस खड्का सचिव पदमा निर्वाचित भएपछि पहिलो बोर्ड बैठक बसेको हो। 

त्रिकोणात्मक सिरिज राउन्ड रोबिनको आधारमा हुनेछ। शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्। फाइनल त्रिवि मैदानमा हुनेछ। अन्य सबै खेल मूलपानीमा हुने क्यानले जनाएको छ। 

यसैगरी, बैठकले अध्यक्ष चन्दको संयोजकत्वमा उपाध्यक्ष रोशनकुमार सिंह, सचिव पारस, कोषाध्यक्ष पदकबहादुर खड्का र सदस्य दिवाकर घले रहने गरी पाँचसदस्यीय कार्यसम्पादन समिति गठन गरेको छ। 

बैठकले प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगितामा १० टोली सहभागी गराउने निर्णय गरेको छ। डबल राउन्ड लिगको सेमिफाइनल दुईदिवसीय र फाइनल खेल तीनदिवसीय ढाँचामा खेलाइने क्यानले जनाएको छ। 

क्यान आफैँले नेपाल प्रिमियर लिग मार्च- अप्रिलमा गर्ने बताएको छ। साथै, यो प्रतियोगिता सम्पन्नपश्चात् मात्रै एभरेस्ट प्रिमियर लिग आयोजना गर्न अनुमति दिने निर्णय गरेको छ। यस्तै, यस वर्षदेखि कार्यविधि बनाई वार्षिक रूपमा राष्ट्रिय क्रिकेट अवार्ड आयोजना गर्ने निर्णय भएको छ।