१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
शान्ति तामाङ काठमाडाैं
२o८१ बैशाख २१ शुक्रबार o९:२५:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

कंक्रिट संरचनाले भासियो बाग गुठीवरपरको जमिन

Read Time : > 1 मिनेट
शान्ति तामाङ, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o९:२५:oo

कंक्रिटका संरचना भत्काएर पुरानै स्वरूपमा पुनर्निर्माण गर्न स्थानीय तथा अभियन्ताको माग 

भूकम्पपछि संरक्षण अभावमा जीर्ण बनेको सुन्धारास्थित बाग गुठी क्षेत्रभित्र जान निषेध गरिएको छ । बाग गुठीवरपर टिनले घेरेर भित्र जान निषेध गरिएको हो । गुठीभित्र जान निषेध गरिनुको कारण गुठीमा भुइँतले पार्किङसहितको कम्प्लेक्स वा ठूलो होटेल निर्माणको प्रयास हो । 

स्थानीय र सम्पदा अभियन्ताको जोडबलपछि पुरातत्व विभागले यहाँ काम रोक्न महानगरलाई निर्देशन दिइसकेको छ । तर, फेरि काम सुरु हुने आशंका स्थानीयहरूमा छ । कंक्रिटको संरचनाका कारण वरपरको जमिन भासिएको छ । 

त्यस्तै, ऐतिहासिक गुठी मासिने चरणमा पुगेको छ । ‘सुरुमा एक–दुईजना मानिस आएर काम गरे । सानोतिनो मर्मत सोचेका थियौँ । तर, पछि डोजर ल्याएर रातभर नै काम गर्न थाले । कामदार बढाएर काम गर्न थालेपछि हामीले प्रश्न गर्‍यौँ । यो भवन बनाउँदै गरेका इन्जिनियरले हामीलाई नक्सा देखाए, जसमा पुरातात्विक शैलीको दुईतले संरचनाको डिजाइन थियो ।

तर, नक्साअनुसारको भवन बनिरहेको थिएन । त्यसपछि हामी विभिन्न निकाय गयौँ,’ स्थानीय हेमन्त गौचनले भने, ‘दुई तलाको भवन पुरानै ढाँचामा बन्छ भने हामीलाई आपत्ति छैन । तर, भवन निर्माणका लागि काम अघि बढेपछि बाटो नै भासिएको छ । चर्किएको छ । यो अवस्था हेर्दा यहाँ पुरानै ढाँचामा भवन त बन्न लागेको होइन ।’ उनका अनुसार विभिन्न निकायमा धाएपछि लिखित रूपमा काम गर्न रोकिएको भनिए पनि अझै कहिलेकाहीँ रातिको समयमा काम हुने गरेको छ । 

बनेको संरचना नभत्काए संघर्षमा उत्रिने अभियन्ताको चेतावनी 
ऐतिहासिक बाग गुठीमा बनिरहेको संरचना भत्काएर पुरानै स्वरूपमा पुनर्निर्माण र संरक्षण गर्नतर्फ नलागे संघर्षमा उत्रिने सम्पदा अभियन्ता गणपतिलाल श्रेष्ठले बताए । ‘डन्डीको प्रयोग हेर्दा ठूलै होटेल वा कम्प्लेक्स बन्ने परियोजनाजस्तो देखिन्छ । व्यापारिक कम्प्लेक्स खोल्दा देवीदेवताका मन्दिर स्थापना गर्ने प्रचलन छ । यहाँ त भइरहेकै तलेजु भवानीलाई भित्र पार्ने किसिमले संरचना बनाएको देखियो,’ उनले भने, ‘व्यापारिक सोचले बन्न लागेको यो कम्प्लेक्स तत्काल पहिलो फेजमा हुँदा नै हटाउन सम्भव छ, त्यसैले हटाउनुपर्‍यो । र, ९० सालभन्दा अघि जेजस्तो थियो, त्यस्तै संरचना बनाएर संरक्षण पनि गर्नुपर्‍यो ।’ रोक्का मात्रै समाधान नभएको भन्दै उनले बाग गुठीमा क्रंकिटको संरचना हटाउनुपर्ने माग गरे । उनले महानगर र सम्बन्धित निकाय एकढिक्का भएर संयुक्त रूपमा प्राविधिक प्रतिवेदन बनाएर अगाडि बढ्न सुझावसमेत दिए । ‘हाम्रो संघर्ष निकायलाई जवाफदेही बनाउने हो । जवाफदेही हुन्न भने अभियानबाट संघर्ष सुरु गर्ने हिसाबबाट अगाडि बढिसकेका छौँ,’ उनले भने । 

बाग गुठी परिसरभित्र रहेको सत्तलको ढोकाबाट दुई सय वर्षअघि तत्कालीन राजकुमार उपेन्द्रवीरविक्रम शाह प्रवेश गरेका थिए । तर, त्यहाँबाट नफर्किएको इतिहास रहेको बताइएको छ भने गुठी परिसरभित्र तलेजु भवानीको एकतले मन्दिरसमेत रहेको छ । ९० सालको भूकम्पअगाडि तीनतले रहेको यो मन्दिर त्यसपछि एक तले बनेको हो । हाल बाग गुठीका तीनवटै सत्तल भत्काएर काम भइरहेको छ । पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले अहिले यहाँ संरचना बनाउने काम रोकिएको बताए । ‘हामीले रोक्काका लागि महानगरलाई भनिसकेका छौँ । अहिले काम रोक्का भएको छ,’ कुँवरले भने, ‘बाग गुठीलाई उपस्थित हुन पत्र पठाएका छौँ । प्रतिनिधिसँग छलफल गरेर अगाडि बढ्छौँ ।’

ad
ad