१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ५ शुक्रबार
  • Wednesday, 03 July, 2024
शिल्पा कर्ण काठमाडौं
२o८o असोज ५ शुक्रबार २o:२९:oo
Read Time : > 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

खानेपानी संस्थानको बुटवल शाखाका प्रमुख साह भ्रष्टाचारका दुई मुद्दामा दोषी ठहर

Read Time : > 1 मिनेट
शिल्पा कर्ण, काठमाडौं
नयाँ पत्रिका
२o८o असोज ५ शुक्रबार २o:२९:oo

खानेपानी संस्थानको बुटवल शाखा कार्यालय प्रमुख सन्तोष साह भ्रष्टाचारका दुईवटा मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले अन्य दुई मुद्दामा भने उनलाई सफाइ दिएको छ ।

विशेषका अध्यक्ष श्रीकान्त पौडेल र सदस्य खुसीप्रसाद थारूको इजलासले यस्तो फैसला गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २१ असोज ०७७ मा साहसमेतका विभिन्न व्यक्तिलाई प्रतिवादी बनाई मुद्दा चलाएको थियो । जसमा दुईवटामा साह दोषी पाइएका हुन् । 

उपरजिस्ट्रार धनबहादुर कार्कीका अनुसार एउटा मुद्दामा कार्यालय प्रमुख साह र अनिता निर्माण सेवाको सञ्चालिका शान्ति रानालाई जनही दुई–दुई वर्ष कैद सजाय सुनाइएको छ । 

‘उहाँहरूबाट जनही आठ लाख २२ हजार रुपैयाँ जरिवाना भराउने फैसलामा छ । साथै, प्रतिवादी सन्तोष साहबाट आठ लाख २२ हजार रुपैयाँ असुलउपर गर्ने फैसला भएको छ,’ कार्कीले भने । 

साहलाई स्रोत नखुलेको रकमसहित धादिङबाट काठमाडौं आउँदै गर्दा अख्तियारले नियन्त्रणमा लिएको थियो । उनका साथ नगद दुई लाख ३३ हजार पाँच सय रुपैयाँ बरामद भएको थियो । 

उक्त रकम उनले बुटवलमा पाइप लाइन विस्तारको जिम्मा पाएको अनिता निर्माण सेवाबाट कमिसन लिएको खुलेको थियो । उक्त निर्माण कम्पनीकी सञ्चालक शान्ति रानाले निर्माण सेवाको कम्पनीबाट आठ लाख २२ हजार रुपैयाँ कार्यालय प्रमुख साहका बुबा रामनारायण साहु सुडीको खातामा हालिदिएकी थिइन् । जसपछि सन्तोषले उक्त रकम निकालेका हुन् । 

अख्तियारले साहका साथै खाता सञ्चालक उनका पिता रामनारायणलाई पनि मतियार मानी प्रतिवादी बनाएको थियो । यसका साथै कमिसन दिने शान्तिलाई पनि मुद्दा चलाएकोमा दुईजनामाथि अभियोग ठहर भएको हो ।

साह पक्राउ परेकै दिन अरू व्यवसायीसँग पनि उनले कमिसन लिने गरेको खुलेको थियो । साहले स्मार्ट सप्लायर्सबाट दुई लाख ७५ हजार रुपैयाँ आफ्नो बैंक खातामा जम्मा गर्न लगाएका थिए । 

उक्त रकम पनि कमिसन रहेको अख्तियारको अनुसन्धानले देखाएको थियो । खानेपानी संस्थानले पानी तान्ने मेसिन खरिद गरेबापत उक्त कमिसन रकम स्मार्ट सप्लायर्सका सञ्चालक विकास जैनले साहलाई दिएका थिए । 

अख्तियारले साह र जैन दुवैलाई यस मुद्दामा प्रतिवादी बनाएको थियो । यस मुद्दामा पनि साह दोषी ठहरिएका छन् । विशेषका सूचना अधिकारीसमेत रहेका कार्कीका अनुसार जैन र साह दुवैलाई ६–६ महिना कैद र जनही दुई लाख ७५ हजार रुपैयाँ जरिवाना तोकिएको छ । कार्यालय प्रमुख साहबाट भने उक्त रकम असुल गर्ने फैसलामा उल्लेख छ । 

सन्तोष साह पक्राउ पर्दा उनीसँग फेला परेको कागजातका आधारमा अन्य चार व्यवसायीसँग पनि कमिसन लिएको हिसाब राखेको भेटिएको थियो । उक्त रकम आफ्ना पिताको नाममा रहेको खातामा जम्मा गर्न लगाएको भेटिए पनि यस सम्बन्धमा दायर दुवै मुद्दामा विशेषले उनलाई सफाइ दिएको छ ।

ad
ad
ad
ad