
यती एयरलाइन्सको एटिआर–७२ विमान दुर्घटना छानबिन गर्न गठित जाँचबुझ आयोगले अन्तिम प्रतिवेदनको मस्यौदा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बुझाएको छ । आयोगका अध्यक्ष नागेन्द्रप्रसाद घिमिरेले बिहीबार पर्यटनमन्त्री सुदन किराँतीलाई अन्तिम मस्यौदा बुझाएका हुन् ।
१ माघमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा यतीको ९एन–एएनसी कलसाइन नम्बरको जहाज दुर्घटना हुँदा ७२ जनाको मृत्यु भएको थियो । दुर्घटना छानबिन गर्न ४५ दिनको समय दिएर गठित आयोगले सात महिना लगाएर अध्ययन प्रतिवेदनको अन्तिम मस्यौदा बुझाएको हो । आयोगले दुर्घटनाका सम्बन्धमा विस्तृत जाँचबुझ गरी आगामी दिनमा यस किसिमका दुर्घटना हुन नदिन सम्बन्धित निकायहरूले कार्यान्वयन गर्नुपर्ने सुझावहरूसहितको अन्तिम प्रतिवेदनको मस्यौदा बुझाएको मन्त्रालयले जनाएको छ ।
अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को मापदण्डबमोजिम ६० दिनको समय दिएर सम्बद्ध मुलुक तथा निकायलाई उक्त मस्यौदा प्रतिवेदन राय सुझावका लागि पठाइने र प्रतिक्रिया प्राप्त भएपश्चात् सम्बन्धित निकाय तथा सर्वसाधारणको जानकारीका लागि प्रतिवेदन सार्वजनिक गरिने पर्यटन मन्त्रालयले जनाएको छ । प्रतिवेदनको अन्तिम मस्यौदा आइकाओसहित क्यानडा, सिंगापुर, अमेरिका, फ्रान्समा राय–सुझावका लागि पठाइन्छ । यसअघि बुझाइएको प्रारम्भिक रिपोर्टसँग करिब मिल्ने गरी अन्तिम रिपोर्ट आएको अनुसन्धानमा संलग्न आयोगका एक सदस्यले बताए ।