करिब तीन महिनापछि बिहीबार तीन अर्ब २९ करोड ३९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक ४४ दशमलव ३४ अंकले बढेर दुई हजार २९ दशमलव ७८ विन्दुमा पुगेको छ । यसअघि ८ साउनमा चार अर्ब ६२ करोड रुपैयाँको कारोबार भएको थियो । त्यसयता कारोबार तीन अर्ब पुग्न सकेको थिएन ।
पछिल्लो केही दिनयता अर्थमन्त्री र गभर्नरबीच सेयर धितो कर्जामा लगाइएको १२ करोडको क्याप हटाउने वा संशोधन गर्नेलगायतका विषयमा छलफल भएको र गभर्नरले ग्रिन सिग्लन दिएका खबरहरू सार्वजनिक भएपछि नेप्सेमा सकारात्मक माहोल देखिएको हो । १२ करोडको क्यापले सेयर बजारमा समस्या ल्याएको भन्दै लगानीकर्ताले पटक–पटक हटाउन माग राख्दै आएका छन् । नजिकिँदै गरेको चाडपर्वले लगानीकर्ता बिस्तारै खर्चको जोहो गर्न लागेकाले पनि बजार उत्साहित बन्न पुगेको लगानीकर्ताको विश्लेषण छ ।
बिहीबार कारोबारमा आएका १३ वटै समूहका सूचकमा हरियाली छाएको छ । त्यसमध्ये जलविद्युत् र फाइनान्स समूहको सूचक सर्वाधिक बढेको छ । जलविद्युत् समूहको उपसूचक पाँच दशमलव ३१ प्रतिशतले बढेको छ भने फाइनान्स समूहको उपसूचक ४ दशमलव ३८ प्रतिशतले बढेको छ । उत्पादनमूलक समूह, लगानीगत समूह, माइक्रो फाइनान्स समूहको सूचक २ प्रतिशत बढीले बढेको छ ।