मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८o असोज ४ बिहीबार
  • Friday, 14 August, 2026
२o८o असोज ४ बिहीबार १३:३५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

शे-फोक्सुन्डाेबाट लुटिएका मूर्ति ओडारमा फेला 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८o असोज ४ बिहीबार १३:३५:oo

हिमाली जिल्ला डोल्पाको उत्तरी क्षेत्रमा पर्ने शे–फोक्सुन्डाे गाउँपालिका- ४ बाट लुटिएका आठ थान धातुका मूर्ति  डोल्पोबुद्ध गाउँपालिकामा भेटिएका छन्।

गत असार ८ गते स्थानीय लार्जम लामाको घरबाट मध्यराति हतियारधारी समूहद्वारा लुटिएका मूर्ति दुई महिनापछि डोल्पोबुद्ध गाउँपालिका– ३ फोलोंकार्बोस्थित एक ओडारमा बोरामा हालेको अवस्थामा बेवारिसे भेटिएका हुन्।

घाँस काट्न गएका स्थानीय महिलाले २७ भदौमा देखेपछि प्रहरीलाई खबर गरेका थिए। प्रहरीले खबर पाएपछि धोबाट खटिएको प्रहरीको टोलीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय डोल्पामा बुझाएको थियो।

जिल्ला प्रहरी कार्यालयमा पुर्‍याएको झन्डै एक साता पछि बुधबार जिल्ला प्रशासन कार्यालयमा प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।

धातुको जस्तो देखिने सात थान मूर्ति र एक थान चिस्तुम सार्वजनिक गरिएको प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए।

भेटिएका मूर्ति र स्तुपासहित आठ थानमध्ये ६ थान लार्जम लामाकी छोरी ३६ वर्षीया पेम्बा पुटिक लामाले आफ्नो भनी सनाखत गरे पनि बाँकी दुई थान मूर्ति कहाँका हुन् भन्ने अझै खुल्न सकेको छैन।

बिहीबार पुरातत्व विभागको राय लिएर मात्र सनाखत गरिएका मूर्ति बुझाइने र दुई थान मूर्तिबारे अनुसन्धान अघि बढाइने डिएसपी बुढाथोकीको भनाइ छ।

भौगोलिक रूपमा विकट भएकाले सबै ठाउँमा सुरक्षा चौकीहरू नहुँदा उपल्लो डोल्पामा दिनदाहाडै हतियारधारी समूहले पटक–पटक प्राचीन गुम्बाहरू, व्यक्तिका धनमालहरू लुट्ने गरेका छन्।