नौजना यामाहा प्रशंसक र उत्साही बाइकरहरू साहसिक अनुभवका लागि पहिलो मोटोजिपी इन्डियाको रोमाञ्चक दृश्यावलोकन गर्न त्यसतर्फ प्रस्थान गरेका छन् । २४ सेप्टेम्बर, २०२३ मा बुद्ध सर्किट, नोएडामा हुने ‘यामाहा राइड टु मोटोजिपी’ इभेन्टमा भाग लिन टोली भारत प्रस्थान गरेको हो ।
उक्त इभेन्टमा राइडर्स टोलीले २३ र २४ सेप्टेम्बरमा रेसको अनुभव लिने र २७ सेप्टेम्बरमा उही बाटो भएर काठमाडौं फर्किने जनाइएको छ । यामाहाले नेपालमा रेसिङ संस्कृतिको परिचय गराई यसको विकास र प्रवद्र्धन गर्न निरन्तर रूपमा काम गरिरहेको जनाएको छ ।
आफ्नो उद्देश्यअनुरूप नै यामाहाले रेसिङ स्पोर्टस्लाई प्रतिबिम्बित गर्ने धेरै इभेन्टसँग आफ्नो आबद्धता कायम राख्दै यसको प्रवद्र्धनसमेत गरेको दाबी गरेको छ । यस कार्यक्रमले यामाहा मोटरसाइकलको पराक्रम देखाउनुका साथै खुला सडकमा ब्रान्डप्रतिको माया अभिव्यक्त गर्ने राइडरको जोशलाई उत्सवका रूपमा पनि मनाउने जनाएको छ । छानिएका राइडरमा संग्राम पुडासैनी, सुरेश जिसी, माइकल थापा, रुपेश पण्डित, राजकुमार कुशवाहा, अर्जित महर्जन, राजकुमार कार्की र तारा खड्का तथा मार्सलका रूपमा प्रमोद श्रेष्ठ रहेको जनाइएको छ ।
एमएडब्लु इन्टरप्राइजेज, टु–ह्विलर डिभिजनका सिइओ राजु क्षेत्रीले यामाहा राइड टु मोटोजिपीमा सहभागिताका लागि ठूलो संख्यामा आवेदन परेको बताए । तर, सीमित सिट भएकाले आठजना मात्रै छनोट गर्न सकेको उनको भनाइ थियो । उनले भने, ‘यो त केवल सुरुवात हो, यामाहा नेपाल हाम्रा युवाहरूको जोशलाई सम्मान गर्दछ । हामी नेपालमा मोटरस्पोर्टको उत्थान गर्न मिहिनेतका साथ काम गरिरहेका छौँ ।’