१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज ४ बिहीबार
  • Monday, 15 July, 2024
शिवहरि घिमिरे काठमाडाैं
२o८o असोज ४ बिहीबार o६:२१:oo
Read Time : > 4 मिनेट
ad
ad
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

नागरिकको स्वास्थ्यमाथि गम्भीर खेलबाड

Read Time : > 4 मिनेट
शिवहरि घिमिरे, काठमाडाैं
नयाँ पत्रिका
२o८o असोज ४ बिहीबार o६:२१:oo

- रोग प्रतिरोधात्मक क्षमता घटाउने, दीर्घकालीन रूपमा कुनै पनि एन्टिबायोटिकले शरीरमा काम नै नगर्नेलगायतका समस्या निम्त्याउने भन्दै डब्लुएचओले प्रतिबन्ध लगाएको दुई वर्षसम्म पनि नेपालमा १४ प्रकारका एन्टिबायोटिकको निर्बाध प्रयोग

- डब्लुएचओले लगाएको प्रतिबन्ध थाहा हुँदाहुँदै सरकारले रोक लगाउन चासो दिएन, पेसागत धर्म र नैतिकता बिर्सेर चिकित्सकले पनि लाखौँ बिरामीलाई तिनै एन्टिबायोटिक सिफारिस गरिरहे, दुई वर्षपछि आइतबार बल्ल बिक्री–वितरणमा रोक लगाइयो 

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले दुई वर्षअघि नै प्रतिबन्ध लगाएका एन्टिबायोटिक औषधि नेपालमा निर्बाध उत्पादन, बिक्री–वितरण र प्रयोग गर्न दिएर सरकारले जनस्वास्थ्यमाथि गम्भीर खेलबाड गरेको छ । डब्लुएचओले सन् २०२१ मै प्रतिबन्ध लगाएको थाहा हुँदाहुँदै सरकारले रोक लगाउन चासो दिएन, पेसागत धर्म र नैतिकता बिर्सेर चिकित्सकले पनि लाखौँ बिरामीलाई तिनै एन्टिबायोटिक सिफारिस गरिरहे । दुई वर्षपछि आइतबार बल्ल औषधि व्यवस्था विभागले बिक्री–वितरणमा रोक लगायो । त्यतिञ्जेल ती एन्टीबायोटिकले कति नागरिकको स्वास्थ्यमा कस्तो असर पार्‍यो, कोही जबाफदेही छैन ।  

डब्लुएचओले संसारभर एक सय तीन प्रकारका एन्टिबायोटिक औषधिमा प्रतिबन्ध लगाएको थियो । जसमा नेपालमै उत्पादन हुने १४ प्रकारका एन्टिबायोटिक पनि छन् । यिनै औषधी विदेशका ४० कम्पनीले पनि नेपालमा आपूर्ति गरिरहेका थिए । अहिले पनि ठूूलो परिमाणमा यी एन्टिबायोटिक बजारमा मौज्दात छ । चार करोड मूल्यबराबरका १४ प्रकारका एन्टिबायोटिक बजारमा रहेको नेपाल औषधि उत्पादक संघको अनुमान छ । सरकारले फार्मेसीमा भएका औषधि बिक्री नगर्न तथा नष्ट गर्न कुनै सूचना जारी नगरेकाले अझै पनि यी एन्टिबायोटिक औषधिको प्रयोग हुने खतरा जीवितै छ । किनभने डब्लुएचओले प्रतिबन्ध लगाएको थाहा पाउँदा–पाउँदै पनि चिकित्सकले समेत पेसागत धर्म र नैतिकता बिर्सेर बिरामीलाई निर्बाध सिफारिस गर्दै आएका छन् । विशेषज्ञ डाक्टरबाहेक एमबिबिएस डाक्टर, नर्स र फर्मासिस्टहरूले पनि आफूखुसी बिरामीलाई सिफारिस गर्दै आएका छन् । 

यसमा प्रमुख लापरबाही सरकारकै भएको बताउँछन् त्रिवि शिक्षण अस्पतालका फर्माकोलोजिस्ट (औषधि विशेषज्ञ) डा. प्रदीप ज्ञवाली ।‘यो निकै सिरियस विषय हो, त्यतिवेलै सरकारले लागू गर्नुपर्ने थियो, तर दुई वर्षसम्म पनि कार्यान्वयन गरेन, यसले गर्दा कति बिरामी प्रभावित भए होलान्? त्यसको जिम्मेवार को हुने ?’ उनले भने ।

डब्लुएचओले प्रतिबन्ध लगाएको, तर नेपालमा प्रयोग हुँदै आएका १४ प्रकारका एन्टिबायोटिक निकै कडा भएकाले यसको प्रयोगपछि अन्य एन्टिबायोटिकले काम गर्न नसक्ने उनको चेतावनी छ । सरकारले गरेको निर्णयबारे जनस्तरमा व्यापक जानकारी दिनुपर्ने र बिक्री–वितरण ठप्प पार्न सरकारले कडा अनुगमन गर्नुपर्ने उनको सुझाव छ । अनुसन्धानकर्तासमेत रहेका डा. ज्ञवालीले भने, ‘सरकारले ढिलै भएपनि यो नियम पालना गर्न लागेको छ, बन्देज गरिएका एन्टिबायोटिक औषधिको प्रयोग अब कुनै हालतमा गर्न दिनुहुँदैन । सरकारले देशभरका स्वास्थ्य संस्थामा प्रयोग भए–नभएको अनुगमन गर्न जरुरी देखिन्छ । अन्यथा लुकिछिपी वा थाहा नभएर बिक्री–वितरण हुने अवस्था रहन्छ ।’

बन्देज गरिएका एन्टिबायोटिक औषधि नाक, कान, घाँटी, दाँत तथा सर्जरीलगायतको संक्रमणका वेला प्रयोग गरिन्छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का निर्देशक डा. रुद्र मरासिनी यी एन्टिबायोटिक नेपालमा धेरै प्रयोग हुने गरेको बताउँछन् । ‘यी एन्टिबायोटिक औषधि नेपालमा धेरै नै प्रयोग हुने गरेका छन्, तर डब्लुएचओको सूचना थाहा पाएपछि मैले सिफारिस गर्न छाडेको छु,’ उनले भने, ‘डब्लुएचओले नै सिफारिस गरिसकेपछि सरकारले प्रयोगमा तत्काल प्रतिबन्ध लगाउनुपर्थ्यो ।’

डब्लुएचओले प्रतिबन्ध लगाएको दुई वर्षपछि मात्रै गत १८ भदौमा स्वास्थ्य मन्त्रालय, औषधि व्यवस्था विभाग, नेपाल औषधि उत्पादक संघलगायत सरोकारवाला निकायको बैठक बस्यो । उक्त बैठकले नेपालमा उत्पादन र प्रयोगमा ल्याइएका १४ प्रकारका एन्टिबायोटिकको उत्पादन रोक्ने र वितरण नगर्ने निर्णय गरेको थियो । यी एन्टिबायोटिकको दर्ता, नवीकरण, पैठारी र प्रयोगमा प्रतिबन्ध लगाएको छ । त्यस्तै, निर्णय भएको ६ महिनाभित्र त्यस्ता औषधि उत्पादनका लागि लिएको अनुमतिको विवरण विभागमा पेस गर्न उत्पादक र वितरकलाई निर्देशक दिएको छ । सोहीअनुसार आइतबार विभागले सूचना जारी गरेको हो । 

जब कि औषधि उत्पादक संघले नै डब्लुएचओको सूचना आउनेबित्तिकै यी एन्टिबायोटिक प्रयोगमा रोक लगाउन भनेको थियो । संघका उपाध्यक्ष सन्तोष बराल डब्लुएचओको निर्देशनसमेत अटेर गरेर एन्टिबायोटिक प्रयोग गर्नु गलत रहेको बताउँछन् । ‘हामीले त डब्लुएचओको सूचना आउँदाबित्तिकै ती औषधि प्रयोग नगर्न भनेका हौँ, तर सरकारले समयमै बन्देज गरेन, यो लापरबाही हो ।’डब्लुएचओले प्रतिबन्ध लगाएका १४ एन्टिबायोटिक औषधि उत्पादन गर्ने नेपालमा ६ उद्योग छन् । नेपाल फर्मास्युटिकल्स, देउराली जनता कम्पनी, एसियन औषधि उत्पादक कम्पनी, लोमस औषधि उद्योग, क्युरेक्स औषधि कम्पनी, एसआर औषधि उत्पादक कम्पनीलगायतले उत्पादन गर्ने गरेका छन् । विदेशबाट भने नेपालमा ४० कम्पनीले सप्लाई गर्छन् । माग बढेपछि नै स्वदेशी कम्पनीले करिब ५–६ वर्षदेखि विदेशबाटै कच्चपदार्थ ल्याएर उत्पादन थालेको संघका उपाध्यक्ष बरालले बताए । 

कुन औषधि प्रयोगमा के गर्ने वा डब्लुएचओको निर्णय कार्यान्वयन गर्ने काम औषधि व्यवस्था विभागको हो । विभागका महानिर्देशक नारायणप्रसाद ढकाल डब्लुएचओले प्रयोग नगर्न भनेका औषधि नेपालमा दुई वर्षसम्म चलाइनु गम्भीर विषय भएको स्विकार्छन् । तर, कार्यान्वयनको समयमा आफू उक्त पदमा नभएको बताउँछन् । ‘यो निकै गम्भीर विषय हो, तर त्यतिवेला पदमा थिइनँ, म यहाँ आएको तीन महिनामात्रै भयो, त्यतिवेला भरत भट्टराई हुनुहुन्थ्यो, उहाँले किन लागू गर्नुभएन, त्यो थाहा भएन,’ उनले भने, ‘त्यतिवेला स्वास्थ्य मन्त्रालयले पनि विभागलाई कार्यान्वयन गर्न भनेको रहेछ ।’

तर, तत्कालीन महानिर्देशक भट्टराईले त्यस विषयमा आफूले केही नबोल्ने प्रतिक्रिया दिए । ‘त्यतिवेलाको विषयमा अहिले आएर बोल्दिनँ, मैले बोल्ने विषय नै केही छैन । अहिलेका महानिर्देशकलाई सोध्नू ।’

ढिलै भएपनि सरकारले एन्टिबायोटिकको जथाभावी प्रयोग रोक्न र यसको प्रयोगमा न्यूनीकरण गर्न प्रतिजैविक प्रतिरोधको विश्वव्यापी कार्ययोजनामा मेल खानेगरी ‘एक स्वास्थ्य अवधारणा’ (वन हेल्थ अप्रोच) अनुरूप राष्ट्रिय कार्ययोजना भने तयार पारेको छ । सोही कार्ययोजनाअनुरूप एन्टिबायोटिक प्रयोगलाई नियन्त्रण गर्न खाजेको विभागले बजारमा रहेका एन्टिबायोटिक प्रयोग नगर्न र त्यसलाई नष्ट गर्न भने कुनै सूचना जारी गरेको छैन । 

यी एन्टिबायोटिकले स्वास्थ्यमा के गर्छ असर ?

चिकित्सकका अनुसार प्रतिबन्ध लगाइएका १४ प्रकारकै एन्टिबायोटिक दुईवटा एन्टिबायोटिक मिसाएर बनाइएका हुन् । यी एन्टिबायोटिक प्रयोगले दीर्घकालीन असर पार्ने भन्दै प्रयोग नगर्न डब्लुएचओले सूचना जारी गरेको थियो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनी उल्लेखित सबै एन्टिबायोटिक ब्याक्टेरियल संक्रमणविरुद्ध प्रयोग हुने गरेको बताउँछन् । ‘कुनै निश्चित रोगसँग सम्बन्धितभन्दा पनि सबै किसिमका ब्याक्टेरियाको संक्रमणविरुद्ध यी एन्टिबायोटिक प्रयोग गर्ने गरिएको थियो,’ उनले भने, ‘तर, यीमध्ये पनि कस्तो अवस्थामा कुन एन्टिबायोटिक चलाउने भन्ने विषय डाक्टरमा भर पर्ने कुरा हो, एन्टिबायोटिकको मुख्य काम ब्याक्टेरियाबाट हुने संक्रमण रोक्नु नै हो ।’

विज्ञहरूका अनुसार डब्लुएचओले बन्देज लगाएका यी एन्टिबायोटिक प्रयोगले मानव स्वास्थ्यमा ठूलो हानि पुर्‍याउँछ । खासगरी दीर्घकालीन रूपमा कुनै पनि एन्टिबायोटिकले काम नै नगर्ने, शरीरको रोग प्रतिरोधात्मक क्षमता घटाउनेजस्ता समस्या निम्त्याउँछ । 

पछि कुनै पनि एन्टिबायोटिकले काम नगर्दा उपचारमै समस्या हुन सक्छ : डा. प्रदीप ज्ञवाली औषधि विशेषज्ञ, त्रिवि शिक्षण अस्पताल
यी एन्टिबायोटिकको प्रयोग हानिकारक भएर नै बन्देज लगाइएको हो । अहिले यी एन्टिबायोटिक प्रयोग गरिएको व्यक्तिको शरीरमा पछि कुनै पनि एन्टिबायोटिकले काम गर्न छाड्छ, जसका कारण उपचारमै समस्या हुन सक्छ । यो निकै सिरियस विषय हो । डब्लुएचओले सूचना जारी गरेपछि त्यतिवेलै सरकारले लागू गर्नुपर्ने थियो, तर दुई वर्षसम्म पनि कार्यान्वयन गरेन । यसले कति बिरामी प्रभावित भए होलान् ? त्यसको जिम्मेवार को हुने ? सरकारले ढिलै भए पनि यो नियम पालना गर्न लागेको छ, बन्देज गरिएका एन्टिबायोटिकको प्रयोग अब कुनै हालतमा गर्न दिनुहुँदैन । सरकारले देशभरका स्वास्थ्य संस्थामा प्रयोग भए–नभएको अनुगमन गर्न जरुरी देखिन्छ । अन्यथा लुकिछिपी वा थाहा नभएर बिक्री–वितरण हुने अवस्था रहन्छ ।

 

ad
ad
ad
ad