
राष्ट्रपति रामचन्द्र पौडेलले जनआन्दोलनका उपलब्धिहरूमाथि कहीँ, कतैबाट कमजोर बनाउने काम नहोस् भन्नेमा सचेत हुनुपर्ने बताएका छन्। बुधबार शीतलनिवासमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
राष्ट्रपति पौडेलले जनअनुमोदित संविधानसभाबाट निर्माण भएको लोकतान्त्रिक संविधानका व्यवस्थाहरूलाई निस्तेज पार्ने काम कतैबाट हुन नपाओस् भन्नेमा पनि चनाखो हुनुपर्ने स्पष्ट पारे।
लोकतन्त्रको पवित्रतालाई स्थापित गर्दै यसलाई अझ परिणाममुखी बनाउन आवश्यक रहेको बताउँदै उनले सुखद् भविष्य प्राप्त गर्न राजनीतिक उपलब्धिहरूलाई जोगाउँदै र संविधानको रक्षा गर्दै अगाडि जानुको विकल्प नरहेको जिकिर गरे।
उनले सबै किसिमका बेथितिलाई अन्त्य गर्दै सुशासनको माध्यमबाट जलस्रोत र ऊर्जा शक्तिको उचित व्यवस्थापन गर्न सके नेपाल दुनियाँको समुन्नत राष्ट्रको कोटीमा पुग्ने सम्भावना रहेको बताए।
सन्तुलित र प्रभावकारी परराष्ट्र नीतिका माध्यमबाट द्विपक्षीय र बहुपक्षीय अन्तर्राष्ट्रिय सम्बन्धलाई अझै सुदृढ गरी राष्ट्रिय अर्थतन्त्रलाई सबलीकरण गर्दै उनले युवा जनशक्तिलाई देशभित्रै रोजगारी र आम्दानीका अवसर सिर्जना गर्न आग्रह गरे।
राष्ट्रपति पौडेलले जलवायु परिवर्तनको प्रभावका कारण विगत केही वर्षयता प्राकृतिक प्रकोपहरूले देश र विश्वलाई प्रभावित पारिरहेको उल्लेख गर्दै जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि विश्व समुदायलाई साथ लिँदै अगाडि बढ्नु अहिलेको अर्को महत्वपूर्ण आवश्यकता भएको बताए।
उनले समयले दिएको दायित्व पूरा गर्न राज्यव्यवस्थाका हरेक आयाममा देखिने अव्यवस्थालाई हटाएर लोकतान्त्रिक मूल्यको संस्कार विकास गरी समाजको समग्र रूपान्तरण गर्न अब एकताबद्ध बन्नुपर्नेमा जोड दिए।
राष्ट्रपति पौडेलले संविधानले निर्दिष्ट गरेको संघीय लोकतान्त्रिक गणतन्त्रले नागरिकको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक र सांस्कृतिक स्वतन्त्रतासहित निमुखालाई न्याय र विपन्नलाई आयको परिलक्ष्य राखेको बताए।
अधिकारका विभिन्न प्रकार उल्लेख गरे पनि ती सबै अधिकारले निमुखा जनतालाई निर्वाध स्वतन्त्रता उपभोग गर्ने र उनीहरूको जीवनस्तर उकास्ने अवसर प्रदान गर्ने विषय नै संघीय लोकतान्त्रिक गणतन्त्रले बोकेको दर्शनभित्रको अन्तर्य रहेको उनको भनाइ थियो।