
काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा भव्यताका साथ संविधान दिवस मनाइएको छ । बुधबार बिहान टुँडिखेलमा भव्य समारोहबीच सरकारले संविधान दिवस मनाएको हो ।
समारोहमा नेपाली सेनाको टोलीले शान्तिको प्रतीक परेवा उडाएकाे थियाे । त्यस्तै, हेलिकाेप्टरबाट पुष्पवृष्टि, सुरक्षा निकायका विभिन्न समूहहरूले कवाज र विभिन्न सांस्कृतिक समूहले झाँकी प्रदर्शन गरेका थिए ।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीहरू, सांसद, कर्मचारी, सुरक्षा अंगका प्रमुखलगायत सहभागी थिए ।
संविधान सभाबाट नयाँ संविधान जारी भएको आज आठ वर्ष पूरा भएको छ । सार्वभौम संविधान सभाबाट २०७२ असोज ३ गते संघीयतासहितको संविधान जारी भएको थियो । त्यसैले हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रूपमा मनाइन्छ ।