
धनगढी उपमहानगरपालिकाले नगरवासीको मृत्यु भएमा मृतक परिवारलाई दाहसंस्कार खर्च उपलब्ध गराउने भएको छ । आइतबार बसेको उपमहानगरको कार्यपालिका बैठकले नगरमा कुनै व्यक्तिको मृत्यु भएमा दाहसंस्कारका लागि दाउरा खरिद गर्न परिवारलाई पाँच हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको नगरप्रमुख गोपाल हमालले जानकारी दिए ।
विपन्नले परिवारका सदस्यको मृत्यु हुँदा दाउरा किनेर दाहसंस्कार गर्नसमेत समस्या भोग्दै आएकाले उपमहानगरले आर्थिक सहयोग गर्ने निर्णय गरेको नगरप्रमुख हमालले बताए । दाउरा किन्न नसक्दा दाहसंस्कारमा समस्या भोग्नु नपरोस् भनेर विपन्न परिवारलाई लक्षित गर्दै यस्तो व्यवस्था गरिएको उनले बताए । ‘परिवारका सदस्य वा आफन्तको मृत्यु हुँदा आफ्नो पैसाले दाउरा किनेर दाहसंस्कार गर्न समस्या भएका विपन्न, असहायले टोल फ्री नम्बरमा फोन गरेर नगर प्रहरीलाई खबर गर्न सक्नुहुनेछ,’ उनले भने, ‘वडासँगको समन्वयमा त्यतिवेलै घरमा गएर दाहसंस्कारका लागि पाँच हजार रुपैयाँ दिने निर्णय गरेका छौँ ।’ यस्तो सहयोगका लागि कुनै प्रक्रिया आवश्यक नपर्ने उनले बताए ।
दाउरा किन्न नसक्दा टायर बालेर घाटमा लास जलाएको आफूले देखेको उनले बताए । उपमहानगरको नवौँ स्थापना दिवसको अवसरमा सोमबार धनगढीमा आयोजित कार्यक्रममा नगरप्रमुख हमालले नगरभित्र शववाहन र एम्बुलेन्स सेवा पनि उपमहानगरले निःशुल्क उपलब्ध गराउँदै आएको जानकारी दिएका थिए ।
त्यस्तै, नगरभित्र पाँचवटा सामुदायिक विद्यालयलाई नमुना विद्यालयको रूपमा विकास गर्ने प्रक्रिया अगाडि बढाइएको जानकारी पनि उनले दिए । ती विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन गराउनुका साथै आवश्यक पूर्वाधार र जनशक्ति थप गरिने उनले बताए । ‘प्रत्येक वर्ष नमुना विद्यालय थप्दै जानेछौँ, हरेक वडामा कम्तीमा एउटा नमुना विद्यालय बनाउने योजना छ,’ कार्यक्रममा नगरप्रमुख हमालले भनेका थिए । शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारलाई प्राथमिकतामा राखेर उपमहानगरले काम गरिरहेको उनको भनाइ थियो ।