काठमाडौं जिल्ला प्रहरी परिसरमा मात्र २७ जाहेरी, १८ करोड ठगीको एउटै जाहेरी
उद्योगमा साझेदार बनाउने आश्वासनपछि कैलालीको धनगढी उपमहानगरपालिका– ४ की निम्मी थापा दोलखाको मेलुङ गाउँपालिका– १ दियालेखर्कका ३९ वर्षीय दिनेश कोइरालासँग नजिकिइन् । भएभरको सबै सम्पत्ति सहकारीमा राखेर १८ करोड थमाइदिइन् । अहिले सोही रकम उनका लागि गलपासो बनिदिएको छ ।
सामाजिक सञ्जालमार्फत भेट भएको थियो दिनेशसँग । चिल्लो गाडीमा टिपटप शैलीमा हिँड्ने दिनेशले उनलाई उद्योगको साझेदार बनाउँछु भने । उनले दिनेशको प्रस्तावलाई सुरुमा टारिदिइन् । तर, दिनेशले हार मानेनन् । दुईबीच सामाजिक सञ्जालमार्फ संवाद चल्दै गयो । नयाँ–नयाँ प्रस्ताव राख्ने क्रम जारी रह्यो । वर्ष दिनसम्मको दोहोरो संवाद र भेटघाटपछि अन्ततः थापा दिनेशको विश्वासमा परिन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी अनिल अधिकारी भन्छन्–
दिनेश ठगको पनि महाठग हो । यसले विशेषगरी एकल महिलालाई ठगी गरेको देखिन्छ । पछिल्लो एउटै जाहेरी १८ करोडको छ । त्यस्ता जाहेरी हामीकहाँ मात्रै २७ वटा पुगेका छन् । अन्य जिल्लामा पनि उसविरुद्ध ठगीको उजुरी परेको छ । अहिले यो हाम्रै हिरासतमा छ । योविरुद्धको केस अहिले अदालतमा पुगेको छ ।
नवदुर्गा हार्डवेयर कम्पनीलाई दिनेशले राधादेवी हार्डवेयर इन्टरप्राइजेज प्रालिमा बदले । थापालाई सोही प्रालिको साझेदार बनाइदिए । काठमाडौंको मनमैजुमा उनको घर थियो । घर हामा बहुउद्देश्यीय सहकारीमा राख्न लगाए । सहकारीबाट ७५ लाख रुपैयाँ ऋण झिके ।
उद्योगमा लगानी अझै बढाउनुपर्ने प्रस्ताव लिएर दिनेश पुनः थापाकहाँ पुगे । थापाले कैलालीको धनगढी उपमहानगरपालिका– ४ स्थित १७ कट्ठा १० धुर जग्गा हनुमानढोका सहकारीमा धितो राखिन् । सात करोड झिकेर दिनेशलाई दिइन् । लगानी अझै पुगेन भने दिनेशले । थापाले धनगढीमै रहेको अर्को २२ कट्ठा जग्गा रिलायन्स फाइनान्समा धितो राखिन् । पाँच करोड झिकिन् र दिनेशलाई नै सुम्पिइन् ।
श्रीमान्को मृत्यु भएपछि थापा घरमा एक्लै थिइन् । दिनेशको चंगुलबाट सचेत गराउने उनलाई कोही भएनन् । दिनेशले यसैको फाइदा उठाउँदै थापासँग रकम माग्दै गए । थापा दिँदै गइन् । करिब वर्ष दिनको बीचमा दिनेशले थापासँग १८ करोड ५६ लाख ३४ हजार एक सय सात रुपैयाँ लिए । जब दिनेश सम्पर्कविहीन बने, बल्ल थापाले ठगिएको भेउ पाइन् ।
भएभरको सम्पत्ति सकेर अदालतको चक्कर काटिरहेकी उनले नयाँ पत्रिकासँग भनिन्, ‘श्रीमान् बितेपछि म घरमा एक्लै थिएँ । उद्योगमा साझेदार बनाउने भनेपछि म यो (दिनेश)सँग नजिकिँए । यसले मलाई वर्ष दिन फलो गर्यो । मलाई प्रलोभनमा पार्यो । मबाट १८ करोड रुपैयाँ लिएर गयो । न यसले मलाई उद्योगको साझेदार बनायो, न मेरो रकम फिर्ता दियो । आफ्नै सम्पत्ति फिर्ता लिन अहिले म अदालत धाइरहेकी छु ।’
श्रीमान् गुमाएकी काठमाडौंकी जमुना थापासँग पनि दिनेशले सामाजिक सञ्जालबाटै सम्बन्ध अघि बढाए । उद्योगमा साझेदार बनाउने प्रलोभन बाँडे । दिनेशको प्रलोभनमा जमुना सजिलै फस्न पुगिन् । भएभरको सम्पत्ति सहकारीमा राखेर दुई करोड ८२ लाख झिकेर दिइन् । जब रकम हात लाग्यो, त्यसपछि दिनेश सम्पर्कविहीन बने ।
एकल महिला लक्षित गरी ठगी गर्ने काइदा दिनेशको नौलो नभएको तथ्य जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी अनिल अधिकारी बताउँछन् । उनका अनुसार दिनेशविरुद्ध काठमाडौं प्रहरीमा मात्रै त्यस्ता ठगीका २७ मुद्दा दर्ता भएका छन् । त्यसबाहेक धनगढी, मोरङ, झापालगायतका जिल्लामा पनि दिनेशविरुद्ध ठगीका मुद्दा रहेको डिएसपी अधिकारीको भनाइ छ ।
उनले भने, ‘दिनेश ठगको पनि महाठग हो । यसले विशेषगरी एकल महिलालाई ठगी गरेको देखिन्छ । पछिल्लो एउटै जाहेरी १८ करोडको छ । त्यस्ता जाहेरी हामीकहाँ मात्रै २७ वटा पुगेका छन् । अन्य जिल्लामा पनि उसविरुद्ध ठगीको उजुरी परेको छ । अहिले यो हाम्रै हिरासतमा छ । योविरुद्धको केस अहिले अदालतमा पुगेको छ ।’
झापा, मोरङ र सुनसरीका विपन्न पनि ठगिए
सुन्दर घर बनाई सुखी जीवन बिताउने मोरङ उर्लाबारी– ८ दुर्गापुरीका विष्णुबहादुर धिमालको सपना तीन लाख रुपैयाँले अड्किरहेको थियो । भाइ नाता पर्ने रामप्रसाद धिमाललाई उनले आफ्ना सपना सुनाए ।
जग्गा धितो राखे ऋण जति पनि पाइने भन्दै रामप्रसादले विष्णुलाई हौस्याएनन् मात्रै, ऋण दिने साहु पनि खोजिदिने आश्वासन दिए । विष्णुलाई ढुंगा खोज्दा देउता मिलेजस्तै भयो । भएजति जग्गाको लालपुर्जा बोकेर विष्णु रामप्रसादकहाँ गए । रामप्रसादले विष्णुलाई दिनेशसँग भेट गराइदिए । जग्गाको कारोबार गर्ने दिनेश त्यसवेला उर्लाबारीमै थिए ।
विष्णु, रामप्रसाद र दिनेश उर्लाबारीस्थित मालपोत कार्यालय पुगे । विष्णुको नाममा एक बिघा आठ कट्ठा जग्गा थियो । सबै जग्गा दिनेशको नाममा पास गर्ने, त्यसबापत तीन लाख रुपैयाँ विष्णुलाई दिने, दुई वर्षसम्म ऋण फिर्ता नगरे विष्णुको जग्गा स्वतः दिनेशको नाममा हुने व्यहोराको कागज बन्यो । रामप्रसादको विश्वासमा परेर विष्णुले कागजमा हस्ताक्षर गरे । लालपुर्जा दिनेशलाई थमाए । कागजअनुसार उनले तीन लाख रुपैयाँ बुझे, घर फर्किए ।
त्यसपछि पो थाहा भयो, दिनेशले गाउँका अरूलाई पनि त्यसैगरी ऋण दिएका रहेछन् । जसका लागि उनले मतियारका रूपमा रामप्रसादलाई प्रयोग गरेका रहेछन् । विष्णुलाई अब दिनेशको गतिविधिप्रति शंका लाग्न थाल्यो । दिनेशलाई तत्काल सम्पर्क गर्न खोजे । तर, दिनेश त्यसवेलासम्म बेपत्ता भइसकेका थिए । बेचैन बनेका उनले रामप्रसादलाई समाते । जग्गा तुरुन्तै फिर्ता गरिदिन भने । तर, रामप्रसादले न दिनेशलाई भेटाइदिए, न जग्गा नै फिर्ता गरिदिए ।
विष्णुका अनुसार दिनेशले यसैगरी गाउँका दीपा धिमाल, रिता मगर, शिवलाल पुरी, राम धिमाललाई पनि सुकुमबासी बनाएका छन् । आर्थिक अभावको कारण उनीहरूसँग आफ्नै सम्पत्ति खोज्न सक्ने हैसियत छैन ।
सुनसरी इटहरी– ५ का सहदेव गुरुङलाई घरायसी कारोबारका लागि २० लाख रुपैयाँ आवश्यक पर्यो । ऋणको खोजी गर्ने क्रममा उनको भेट मितेरी साइनो पर्ने इटहरी– ८ का तीर्थराज रेग्मीसँग भयो । घर धितो राखे ऋण मिलाइदिने भन्दै तीर्थराजले दिनेशलाई भेट गराइदिए । दुवै पक्ष मालपोत पुगे । तीर्थराजको विश्वासमा सहदेवले ५० लाख रुपैयाँ पर्ने घर दिनेशको नाममा पास गराए । कागजात लिए, दिनेश फरार बने । सहदेव आफ्नै घरमा सुकुमबासी बन्नुपर्यो ।
उनीसँगै भेटिएका मोरङ कानेपोखरी– ५ का उमेश गुरुङसँग पनि दिनेशले जग्गा कारोबारको साझेदार बनाइदिने भन्दै एक करोड ५० लाख रुपैयाँ लिए । दुवैबीच रकम लेनदेनको कागजात भयो । रकम लिएपछि न दिनेशले उमेशलाई कारोबारमा साझेदार बनाए, न रकम नै फिर्ता गरे ।
त्यसैगरी, उनले इटहरी– ८ की यशोदा भट्टराईसँग ३० लाख रुपैयाँ लिए । उनकी आमासँग ५० लाख रुपैयाँ लिए । उनीहरूलाई भने झापाको दमकस्थित तारबारीमा सञ्चालित कृषि फर्ममा साझेदार बनाइदिने भनेका थिए । तर, उनले न कबुल गरेझैँ व्यवसायमा साझेदार बनाए, न रकम नै फिर्ता गरिदिए । निकै दबाबपछि दिनेशले आफ्नो र श्रीमतीको नाममा रहेको विभिन्न बैंक एकाउन्टबाट चेक काटे । तर, ती सबै बाउन्स भए ।