मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o असोज १ सोमबार
  • Wednesday, 15 January, 2025
‘ब्रेकसु’भित्र लुकाएर तस्करी गरेको सुन पगालेपछि
टेकराज थामी काठमाडाैं
२o८o असोज १ सोमबार o६:३२:oo
Read Time : > 5 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

सुन तस्करीका २९ प्रतिवादीविरुद्ध अदालतमा मुद्दा दायर : साढे तीन अर्ब बिगो, पाँच वर्षसम्म कैद माग

Read Time : > 5 मिनेट
टेकराज थामी, काठमाडाैं
नयाँ पत्रिका
२o८o असोज १ सोमबार o६:३२:oo

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको सुन तस्करीमा संलग्न रहेको अभियोग लागेका २९ प्रतिवादीविरुद्ध तीन अर्ब ५० करोड ३० लाख ९१ हजार नौ सय ७५ रुपैयाँ बिगो दाबीसहित अदालतमा मुद्दा दर्ता भएको छ । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले आइतबार प्रतिवादीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो । 

उनीहरूविरुद्ध पाँच वर्षसम्मको कैद सजाय माग दाबी पनि गरिएको छ । अदालतमा दर्ता गरिएको अभियोगपत्रअनुसार अभियुक्तविरुद्ध संगठित रूपमा अवैध सुन चोरी पैठारी गरेको अभियोग लगाइएको छ । घटनामा चिनियाँ नागरिक अलेक्स भनिने यायो पुचिङ र अली भनिने ली वेन सुङलाई मुख्य प्रतिवादी बनाइएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेले २९ प्रतिवादीविरुद्ध साढे तीन अर्ब बिगो दाबी गरिएको बताए ।

‘विमानस्थल हुँदै सुन तस्करी गर्ने २९ प्रतिवादीविरुद्ध अदालतमा मुद्दा दर्ता भएको छ । उनीहरूविरुद्ध संगठित रूपमा अवैध सुन चोरी पैठारी गरेको अभियोग लगाइएको छ । साढे तीन अर्ब रुपैयाँ बिगो दाबी गरिएको छ,’ उनले भने ।प्रतिवादी बनाइएका चिनियाँ नागरिकमा पुचिङ र सुङसँगै लिन जेक्विङ, याङ वेन, मी तियान, रोगर वा स्टेप्स भनिने ली नेङकाई र साउतेन भनिने डिङ सेङ फा रहेका छन् । त्यस्तै, घटनामा संलग्न रहेको  अभियोगमा नेपालीहरू कृष्णकुमार श्रेष्ठ, दिलीप भुजेल, कुमार ढकाल, पुष्करराज भट्ट, सन्तोष चन्द, सरोज श्रेष्ठ र गणेशप्रसाद पौडेल, थुप्तिन छिरिङलाई प्रतिवादी बनाइएको छ ।

बिगो रकम रेडी ट्रेडको नाममा दुई महिनाको बीचमा तस्करी भएको ३६२.७७८ केजी सुनको मूल्यबराबर, जसमध्ये ६०.७१६ केजी मात्र बरामद, बाँकी भारतीय बजारमा तस्करी  

घटनामा यादव पराजुली, सुदर्शन गौतम, रुकमिना सुब्बा, राजेन्द्रकुमार राई, रामकुमार भुजेल, हर्कराज राई, किशोर बस्नेत, वीरेन्द्र नेपाली, सुमन खरेल, शिवकुमार सर्राफलाई पनि प्रतिवादी बनाइएको छ । त्यसबाहेक भोला साह सोनार, जीवन चलाउने र अमला रोकालाई पनि घटनामा प्रतिवादी बनाइएको छ । उनीहरू भने फरार छन् । 

बिगो रकम रेडी ट्रेडको नाममा दुई महिनाको बीचमा तस्करी भएको ३६२.७७८ केजी सुनको मूल्यबराबरको हो । जसमध्ये ६०.७१६ किलो सुन गत २ साउनमा विमानस्थलस्थित भन्सार कार्यालयबाट बाहिरिँदै गरेको अवस्थामा बरामद भएको थियो । बाँकी सुन भने बिक्री गर्न भारतीय बजारमा लगिसकिएको थियो । 

उनीहरूविरुद्ध भन्सार ऐन, २०६४ को दफा ५७(१) बमोजिमको कसुर र संगठित अपराध निवारण ऐन, २०७० को दफा २ को (घ), दफा ३ को उपदफा (१ र २) तथा दफा (३) कै (क) कसुरमा संलग्न रहेको भनिएको छ । भन्सार ऐन, २०६४ को दफा ५७(१)मा भनिएको छ, ‘कसैले कुनै मालवस्तु चोरी निकासी वा चोरी पैठारी गरेमा वा गर्ने प्रयत्न गरेमा वा खास बाटोबाट मात्र निकासी वा पैठारी गर्न पाउने गरी बाटो तोकिएमा त्यस्तो मालवस्तु जफत गरी सो मालवस्तुको बिगोबमोजिम जरिवाना वा कैद सजाय गर्न सक्नेछ ।’

त्यस्तै, संगठित अपराध निवारण ऐन, २०७० को दफा ३ को १ मा भनिएको छ, ‘कसैले संगठित अपराध गर्न वा गराउन हुँदैन । आपराधिक समूहका लागि, आपराधिक समूहको निर्देशनमा, आपराधिक समूहको तर्फबाट, आपराधिक समूहसँग मिलेर वा आपराधिक समूहको संस्थापक सदस्य वा सदस्य भई जानी–जानी कुनै गम्भीर अपराध गरेमा निजले संगठित अपराध गरेको ठहरिनेछ ।’

प्रतिवादीविरुद्ध भन्सार ऐन, २०६४ को दफा ५७ को उपदफा (१घ) को (ख) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ५७ को उपदफा (१घ) अनुसार जरिवाना र बरामद सुन जफत गर्न माग दाबी गरिएको छ । उक्त दफामा भनिएको छ, ‘५० लाख रुपैयाँभन्दा बढी एक करोड रुपैयाँसम्मको बिगोमा ६ महिनादेखि एक वर्षसम्मको कैद सजाय हुनेछ ।’
त्यस्तै, प्रतिवादीविरुद्ध संगठित अपराध निवारण ऐन, २०७० को दफा ९(क) र दफा ९(ग) बमोजिम थप सजाय गर्न माग दाबी गरिएको छ । उक्त दफामा भनिएको छ, ‘संगठित अपराधमा संलग्नविरुद्ध प्रचलित कानुनबमोजिम हुने सजायको अतिरिक्त थप ५० प्रतिशत सजाय हुनेछ । आपराधिक समूह गठन गर्नेविरुद्ध पाँच वर्ष कैद र पचास हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।’

त्यस्तै, प्रतिवादी दावा छिरिङ, रोगर वा स्टेप्स भनिने नेङकाई, पुचिङ र सर्राफविरुद्ध नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९५(१) बमोजिमको कसुरमा सोही ऐनको दफा ९६(१) बमोजिमको सजायको माग दाबी गरिएको छ । उक्त ऐनको दफा ९५(१)मा भनिएको छ, ‘बैंकले निर्धारण गरेको नीतिविपरीत ब्याज लिनु वा दिनु गरेमा वा जाली वा खोटो वा नक्कली वा प्रतिलिपि मुद्रा जारी गरेमा वा त्यस्तो मुद्रा वितरण वा लेनदेनमा संलग्न भएमा, विदेशी विनिमय कारोबार गरेमा वा त्यस्तो कार्यमा संलग्न भएमा ऐनबमोजिम कसुर गरेको मानिनेछ ।’

कसुर गर्नेविरुद्ध सजाय हुने सन्दर्भमा सोही ऐनको दफा ९६(१)मा भनिएको छ, ‘कसुर गर्ने व्यक्तिलाई उक्त कसुरसँग सम्बन्धित बिगो जफत गरी बिगोको तीन गुणसम्म जरिवाना वा तीन वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।’ 

 कसको के कसुर ? 
यायो पुचिङ :  अवैध रूपमा सुन पैठारी  गर्नेबाहेक अन्य पेसा नरहेकोमा निजको आइफोनबाट एएनटी पे, ग्लोबल पे, विन पेबाट ३० करोड ३१ लाख ४७ हजार ८ सय भारतीय रुपैयाँ कारोबार भएको । उनले क्रिप्टोसँग सम्बन्धित खाता ओक लिंकबाट पनि पटक–पटक कारोबार हुने गरेको देखिएको । उनले अवैध सुनबापत प्राप्त गरेको रकम क्यासिनो वाल्डोमा १३ करोड रुपैयाँ इन–आउट गरेको देखिएको । वेन सुङ, नेङकाई र सेङ फा : मोबाइल परीक्षण गर्दा क्रिप्टोमार्फत पटक–पटक कारोबार गरेको देखिएको ।

जेक्विङ : संगठित रूपमा योजनाबद्ध तरिकाले अवैध सुन पैठारी गर्ने कार्यमा संलग्नता पुष्टि हुन आएको, चाइनिज नागरिक चोङ चिङ छह्वाङसँग ह्वाट्स एपबाट निर्देशन प्राप्त गरी बालुवाटारबाट ल्याइएको सुनसहितको मालवस्तु लाजिम्पाट लैजाने कार्यमा संलग्न रहेको ।

थुप्देन छिरिङ : हर्कराज राईलाई परिचालन गरी तीनवटा सवारीसाधनहरू भाडामा लिन लगाई पुचिङलाई दिने गरेको । सुन गाल्न ल्याइएको मेसिन आएको भन्ने सूचना प्राप्त गरी लिनका लागि राईलाई परिचालन गरेको ।

हर्कराज राई : अवैध सुन रहेको मालवस्तु ओसारपसार गर्न र अवैध रूपमा पैठारी भएको सुन व्यवस्थापन गर्न गाडी भाडामा लिएको । रेडी ट्रेड कम्पनी खोल्न लगाई घरधनीसँग झुटो सम्झौता बनाएको र सोही कागजात पेस गरी मूल्य अभिवृद्धि करमा दर्ता नगरी एक्जिम कोड लिन संलग्न भएको । 

राजेन्द्रकुमार राई :  भन्सारको आशिकुन्डा सिस्टममा अन्य प्रतिवादीहरू सुदर्शन गौतम, रुकमिना सुब्बा, यादव पराजुलीसमेतलाई परिचालन गरी अवैध रूपमा लुकाई ल्याएको सुन भन्सार जाँच पास गराउने कार्यमा संलग्न रहेको । 

कृष्णकुमार श्रेष्ठ र  पुष्करराज भट्ट :  अवैध सुन रहेका मालवस्तुहरू पैठारी गर्ने कार्यमा संलग्नता रहेको ।  

सुदर्शन गौतम, यादव पराजुली र रुकमिना सुब्बा :  सुुन रहेका मालवस्तुहरूलाई ब्रेक प्याड नै हो भनी मालवस्तुको प्रकृति र गुण फरक पारी घोषणा गरी, ब्रेक प्याड रहेको भनी मूल्य स्वघोषणा गरी सिस्टममा प्रज्ञापनपत्र दर्ता गरी भन्सार प्रक्रियाका लागि पेस गर्ने कार्यमा संलग्न रहेको ।

मी तियन र याङ मेन :  अवैध सुन बरामद भई प्रतिवादीहरूमध्येका दावा छिरिङ पक्राउ परेपश्चात् प्रतिवादी नेङकाई र सेङफालाई पाटनको होटेलमा लुकाइछिपाई राखी संरक्षण दिएको ।

किशोर बस्नेत : दावा छिरिङको निर्देशनमा २० हजार लिई डिटरजेन्ट पाउडर भनी सुन पगाल्न प्रयोग हुने केमिकल पु¥र्याइदिएको, प्रतिवादी दावा छिरिङसँग मिली चाइनिज नागरिकहरूलाई भारतसम्म पु¥याउन कुराकानी गरेको, दावा छिरिङले सुनको बिस्कुट भएको फोटो देखाई सुन बिक्री गरेबापत प्रतिकेजी सुनको २० हजार कमिसन दिने भनी दाबा छिरिङको निर्देशनमा सुन खरिद गर्ने व्यक्तिहरू खोजी गर्न परिचालन भएको ।

दावा छिरिङ :  तियान, वेन र पुचिङलाई होटेल भियनामा संरक्षण दिई दैनिकजसो होटेलको कोठाहरू परिवर्तन गराई लुकाएर संरक्षण गरेको, प्रतिवादी किशोर बस्नेतलाई चाइनिज नागरिकहरूलाई भारतसम्म लैजाने व्यवस्थापन गर्न निर्देशन दिएको, चाइनिज नागरिक गोम्बोसँग मिली सुन गाल्ने केमिकल मगाएको । 

सरोज श्रेष्ठ  : पैठारी भई आएका मालवस्तुहरूलाई एक्स–रेमार्फत चेकजाँच गर्ने क्रममा भन्सार अधिकृतसमेतका कर्मचारीलाई मौखिक तथा लिखित रिपोर्ट नगरेको ।

कुमार ढकाल र सन्तोष चन्द :  मालवस्तुको मूल्य जाँचपास गर्दा एक्स–रेमा खटिएका प्रतिवादी सरोज श्रेष्ठले चारवटा कार्टुनमा आरअसी लेखेकोमा पुनः एक्स–रे गर्ने तथा एक–एक गरी चेक गर्नुपर्नेमा नगरेको ।

गणेशप्रसाद पौडेल र वीरेन्द्र नेपाली :  बिलबिजक मात्र भिडाइ, पुनः जाँचपासका लागि आदेश दिनुपर्नेमा सो नगरी सुन रहेका ब्रेक प्याडहरूलाई ब्रेक प्याड मात्र भनी मूल्यांकन गरी सो मूल्यांकन सदरका लागि सिफारिस गरेको ।

रामकुमार भुजेल : थुप्तिन छिरिङ र हर्कराज राईसमेतसँग मिली आफ्नो नाममा र आफ्नो नातेदारसमेतको नाममा कम्पनी खडा गरेको, प्रत्येक कम्पनी खडा गर्नका लागि एक लाख ५० हजारदेखि दुई लाखसम्म रकम लिई कम्पनीहरू खोली सोको कागजातहरू प्रतिवादी हर्कराज राईलाई दिएको ।

प्रतिवादी दिलीप भुजेल :  रामकुमार भुजेलसँग मिलेमतो गरी रेडी ट्रेड प्रालि नामको कम्पनी खडा गरेको, सो कम्पनी खडा गर्न एक लाख ५० हजार रकम लिएको, कम्पनीको नाममा इक्जिम कोड लिएको ।

सुमन खरेल :  भारतीय नागरिक राजु मारवाडीको निर्देशनमा चिनियाँ नागरिक पुचिङलाई सुनको अवैध कारोबारका लागि आठ लाख दिएको, सुनलाई विभिन्न आकार तथा प्रकारमा बदली फरक–फरक परिमाणमा बनाई शिवकुमार सर्राफ, भोला साह सोनार, भारतीय नागरिक सन्दीपलाई बिक्री गरेको । 

शिवकुमार सर्राफ : सुमन खरेलमार्फत सात केजी खरिद गरी सोको भुक्तानी क्रिप्टोमार्फत गरेको ।

भोला साह सोनार :  सुमन खरेलबाट सुन खरिद गरेको ।

जीवन चलाउने :  प्रतिवादीसँग सुुन कारोबारका सन्दर्भमा सामाजिक सञ्जालमा संवाद गरेको ।

अमला रोका :  सुन तस्करीमा संलग्न चिनियाँ नागरिकलाई बस्ने व्यवस्था मिलाएको र साता दिनसम्म लुक्न सहयोग गरेको । श्रीमान् दावा छिरिङसमेतको समन्वय र सहकार्यमा सुन तस्करीमा संलग्न रहेको साथै सुन तस्करीमा दावा छिरिङले गर्ने हरेक कारोबारमा संलग्न देखिएको, प्रतिवादीसँग पटक–पटक सम्पर्क भएको ।