मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर १३ बुधबार
  • Wednesday, 29 November, 2023
२०८० भदौ ३१ आइतबार १६:२६:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

सार्वजनिक बिदाको दिन सरकारी गाडी चढेर घुमघाममा कर्मचारी

Read Time : > 1 मिनेट
२०८० भदौ ३१ आइतबार १६:२६:००

पाल्पामा सरकारी सवारीसाधनको दुरुपयोग बढेको छ। डिभिजन वन कार्यालय पाल्पाले शनिबार बा.२झ २२०९ नम्बरको सरकारी गाडी श्रीनगर डाँडामा पुर्‍याएको छ। सार्वजनिक बिदाको दिन अत्यावश्यक परेमा अनुमति लिएर सरकारी सवारी चलाउनुपर्ने भए पनि वनका कर्मचारीले अनुमति नै नलिई घुम्नका लागि प्रयोग गरेका हुन्।

सुरुको कुराकानीमा ‘पुलिस, विद्युत् र वनका कर्मचारीको जतिवेला पनि काम हुन्छ’ भन्ने ठाडो जवाफ दिएका सवारीचालक लक्ष्मण घिमिरेले काठमाडौंबाट आएका सरहरूलाई घुमाउन सरकारी गाडी ल्याएको स्विकारे।

डिभिजन वन कार्यालय पाल्पाका निमित्त प्रमुख संयोग बस्नेतले नजिकैको दूरीको कामका लागि बिदाको दिन सवारी चलाउन अनुमति लिने नगरिएको बताए। उनले भने, ‘यसअघि पनि अनुमति नलिई चलाउने गरिएको थियो। त्यसैले अनुमति लिइएन।’ बस्नेतले गाडीको प्रयोग घुम्नका लागि नभई युनाइटेड मिसन अस्पतालमा वाटर ट्रिटमेन्ट प्लानका लागि जग्गासम्बन्धी कामका लागि भएको हुन सक्ने अनुमान गरे।

तर, युनाइटेड मिसन अस्पतालका निमित्त प्रशासकीय अधिकृत गणेश घिमिरेले भने सोसम्बन्धी कामका विषयमा आफूलाई कुनै जानकारी नभएको र अस्पतालका कुनै कर्मचारीको सहभागिता नरहेको बताए। साथै बस्नेतले भनेजस्तो नजिकको दुरी नभई सरकारी गाडी श्रीनगर डाँडाको पार्किङमा रााखेर कर्मचारी  भ्युटावर घुम्न गएका थिए।

ट्राफिक प्रहरी भन्छ– घरघर गएर कारबाही गर्न सकिन्न
सरकारी सवारीको दुरुपयोगको विषयमा जानकारी हुँदासमेत जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले भने चासो दिएको छैन। सर्वसाधारणलाई विनाकारण दुःख दिने ट्राफिकले बिदाको दिनसमेत सेतो प्लेटको सवारी देखेपछि हात हल्लाउने र अभिवादन गर्ने गरेको भन्दै आमनागरिक असन्तुष्ट छन्।

तर, ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख वरिष्ठ सई राजकुमार चापागाईं घरघर गएर गाडी खोजेर कारबाही गर्न नसक्ने भन्दै पन्छिन्छन्। ‘हामी थोरै छौँ। घरघर जान सकिने कुरा भएन, बुझौँला,’ उनले भने। तर, पूर्वसूचना हुँदासमेत ‘घरघर जान नसकिने’ भन्ने ट्राफिकको गैरजिम्मेवार जवाफले उसको विश्वसनीयतामा नै प्रश्न उठाउन सक्छ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले सरकारी सवारीको दुरुपयोग नगर्न सबैलाई सचेत गराएको बताएका छन्। उनले कार्यालय प्रमुखहरूको बैठकमा समेत कडा निर्देशन दिने बताए। त्यस्तै, पाल्पाका प्रहरी प्रमुख एसपी हेरम्ब शर्मा कट्टेलले यस विषयमा सत्यतथ्य बुझ्ने प्रतिक्रिया दिए।