मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २९ शुक्रबार
  • Thursday, 02 January, 2025
हेटौँडास्थित सञ्चो अस्पतालमा सुरक्षा दिँदै प्रहरी ।
२o८o भदौ २९ शुक्रबार o८:४o:oo
Read Time : > 2 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

अस्पतालभित्रै पसेर चिकित्सकमाथि कुटपिट प्रकरण : चारजना पक्राउ, चिकित्सक थापाले हेटौँडा छाडे

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८o भदौ २९ शुक्रबार o८:४o:oo

हेटौँडामा बुधबार चिकित्सकमाथि भएको कुटपिटमा संलग्न रहेको अभियोगमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका–१ मा रहेको सञ्चो अस्पतालका चिकित्सकद्वय डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि कुटपिटमा संलग्न रहेका चारजनालाई प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको हो । मकवानपुर प्रहरी प्रवक्ता एवं डिएसपी लक्ष्मी भण्डारीका अनुसार पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–१२ की रमा प्रधान, अमित प्रधान, रमिता प्रधान र अनुप प्रधान छन् । घटनामा संलग्न अन्यको पनि खोजीकार्य भइरहेको उनले जानकारी दिए ।

बुधबार बिहान हेटौँडा–१ मा रहेको सञ्चो अस्पतालका दुईजना चिकित्सकमाथि आठ–दशजनाको समूहले अस्पतालभित्र प्रवेश गरेर कुटपिट गरेका थिए । उनीहरूले सञ्चो अस्पतालमा बिरामी हेरेर फर्किने क्रममा हेटौँडा अस्पतालमा कार्यरत एनेस्थेसिया विभागका डा. बिडारी र डा.थापामाथि कुटपिट गरेका थिए । कुटपिटबाट चिकित्सकद्वयको अनुहार र आँखामा चोट लागेको छ । प्रहरीका अनुसार गत २५ साउन डेंगुबाट मृत्यु भएका हेटौँडा–१२ का राजेश प्रधानकी श्रीमती रमा, छोरा अमित, छोरी रमिता, भतिज अनुपलगायतले कुटपिट गरेका हुन् ।

एक महिनाअघि डेंगुका कारण मृत्यु भएका प्रधानको उपचारमा चिकित्सकले लापरबाही गरेको आफन्तको आरोप छ । उपचारमा लापरबाही गरेको भन्दै एक महिनापछि आफन्तले चिकित्सकमाथि हातपात गरेका हुन् । हेटौँडा– १२ पदमपोखरीका ४१ वर्षीय प्रधानको चितवनको नयाँ मेडिकल कलेजमा उपचारका क्रममा २५ साउनमा मृत्यु भएको थियो । त्यसअघि प्रधानलाई उपचारका लागि सञ्चो अस्पतालमा भर्ना गरिएको थियो । सञ्चो अस्पतालमा उपचार हुन नसक्ने चिकित्सकको सुझावपछि प्रधानलाई चितवन पुर्‍याइएको थियो । भरतपुर पुर्‍याइएको भोलिपल्ट उनको मृत्यु भएको थियो । 

बिहीबार हेटौँडा अस्पतालमा भएको छलफलमा चिकित्सक, स्वास्थ्यकर्मी र अस्पताल सञ्चालकहरूले मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाईं, प्रहरी प्रमुख सीताराम रिजालसहितलाई घटनामा संलग्न भएकालाई तत्काल पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाउन दबाब दिएका थिए । चिकित्सकमाथि कुटपिट गर्नेलाई पक्राउ नगरेको भन्दै चौतर्फी आलोचना भएपछि प्रहरीले बिहीबार सक्रियता देखाएको थियो । बुधबार दिनभर जिल्ला प्रहरी कार्यालयमा दुई पक्षबीच दबाबमा सहमतिको प्रयास भएको भन्दै विरोधसमेत भएको थियो । बिहीबार बिहान चिकित्सकहरूले घटनमा संलग्नलाई पक्राउ गरी तत्काल कारबाही नगरे शुक्रबारबाट जिल्लामा रहेका सम्पूर्ण स्वास्थ्य संस्थामा आकस्मिकबाहेकका सेवा बन्द गर्ने चेतावनी दिएका थिए । यस्तै, हेटौँडा अस्पताललगायतका सम्पूर्ण स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले सम्बन्धित ठाउँमा राजीनामा बुझाएको र काममा नफर्कने चेतावनीसमेत दिएका थिए ।

चिकित्सक कुटपिटको घटनामा संलग्न दोषीलाई कारबाहीको माग गर्दै नेपाल चिकित्सक संघले मकवानपुर प्रहरीकहाँ जाहेरी दिएको छ । संघका केन्द्रीय अध्यक्ष डा. अनिलविक्रम कार्कीले प्रहरीमा जाहेरी दिएका हुन् । तर, उनको उजुरी बिहीबार साँझसम्म दर्ता भएको छैन । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एवं एसपी सीताराम रिजालले चिकित्सक संघका केन्द्रीय अध्यक्ष कार्कीले घटनामा संलग्नविरुद्ध जाहेरी दिएको पुष्टि गरे । उनले बिहीबार बिदाका कारण जाहेरी दर्ता हुन नसकेको दावी गर्दै शुक्रबार जाहेरी दर्ता गर्ने बताए । रिजालले मकवानपुरमा क्रियाशील स्वास्थ्य क्षेत्रमा संलग्न विभिन्न संघसंस्थाले पनि घटनामा संलग्नलाई कारबाहीको माग गर्दै उजुरी दिएको जानकारी दिए । उनका अनुसार नेपाल चिकित्सक संघ मकवानपुरको नेतृत्वमा औषधि व्यवसायी संघ, राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ, नेपाल स्वास्थ्यकर्मी संघलगायत १२ वटा जिल्लास्तरीय संघसंस्थाले उजुरी दिएका हुन् ।

प्रहरीकहाँ उजुरी दिने चिकित्सकलाई काट्ने धम्की
सांघातिक आक्रमणमा परेका जनरल फिजिसियन डा. विकास थापाले जिल्ला छाडेका हुन् । उनी बिहीबार बिहान परिवारसहित काठमाडौँ गएका छन् । कुटपिटबाट घाइते भएका थापा थप उपचारका लागि भन्दै हेटौँडा अस्पतालबाट रिफर लिएर काठमाडौं गएका हुन् । सञ्चो अस्पतालको स्थापनाकालदेखि नै प्रमुख डाक्टरका रूपमा कार्यरत उनले तत्काल नियमित काममा फर्कने अवस्था नरहेको बताउँदै परिवारसँगको सल्लाहपछि मात्रै निर्णय लिने जानकारी दिए । डा. प्रशान्त बिडारीले प्रहरीकै अगाडि ज्यान मार्ने धम्की दिएपछि आफूले कुटपिट गर्नेविरुद्ध उजुरी दिन नसकेको बताएका छन् । उनले जिल्ल्ला प्रहरी कार्यालयभित्र छलफल भइरहेका समयमा समेत केही व्यक्तिहरूले आफूलाई काट्ने धम्की दिएको बताए । ‘एसपीकै अगाडि जजसले प्रहरीमा उजुरी दिन्छ ती सबैलाई काट्छौँ भनेर धम्क्याए । तर प्रहरीले केही गर्न सकेन । यस्तो परिस्थितिमा ज्यान नै बाजी राखेर त उजुरी दिनुभएन नि,’ उनले भने । 

मकवानपुरका प्रहरी प्रमुख सीताराम रिजालले जिल्ला प्रहरी कार्यालयमा बाहिर हल्ला चलेको जस्तो मिलाउन दबाब दिएको, प्रहरीले उजुरी दर्ता गर्न नमानेको भन्ने केही पनि नभएको दाबी गरे । ‘बुधबार भएको घटनामा संलग्नलाई पक्राउ गरेका छौँ । उनीहरूमाथि कारबाही हुन्छ । हामीले डाक्टरसाबहरूलाई जाहेरी दिनुस भनेका थियौँ । उहाँहरूले समयमै जाहेरी नदिँदा एक दिन ढिला भएको हो । प्रहरीले आफ्नो काम गर्छ, त्यसमा शंका छैन,’ उनले भने ।

चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छ : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिकित्सकमाथि आक्रमण गर्नेलाई कानुनी कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् । बिहीबार नेपाल चिकित्सक संघको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीले दोषीमाथि कारबाही हुने प्रतिबद्धता जनाएका हुन् । संघका उपाध्यक्ष डा. प्रकाश बुढाथोकीले बिहीबार प्रधानमन्त्री प्रचण्डलाई घटनाबारे जानकारी गराएका थिए । ज्ञापनपत्रमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ अनुसार कानुनी कारबाही गर्न माग गरिएको छ ।