
संघीय संसद्ले संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले संसदीय व्यवस्थामा पुर्याएको योगदानको स्मरण गर्दै उनको निधनमा शोक प्रस्ताव पारित गरेको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको बिहीबारको बैठकले नेम्वाङले पुनर्स्थापित संसद्, संविधान निर्माणलगायत महत्वपूर्ण घडीमा निर्वाह गरेको भूमिका सम्झना गर्दै श्रद्धाञ्जली दिएको हो । नेम्वाङको मंगलबार बिहान हृदयाघातबाट निधन भएको थियो ।
सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले सदनमा प्रस्तुत गरेको शोक प्रस्तावमा नेम्वाङको निधनले सिंगो मुलुक स्तब्ध बनेको उल्लेख छ । ‘दुई दशकयताका लोकतन्त्र र गणतन्त्रका लागि भएका हरेक आन्दोलनमा सक्रिय र प्रभावकारी भूमिका निर्वाह गर्नुभएका, संविधानसभामार्फत नेपालको संविधान निर्माण गर्न अहं र नेतृत्वदायी भूमिका खेल्नुभएका मृदुभाषी, सरल, सहज र समन्वयकारी व्यक्तित्वका धनी नेम्वाङको अप्रत्याशित निधनबाट मुलुकलाई अपूरणीय क्षति पुगेको छ,’ सिंगो संसद्ले एकमतले पारित गरेको शोक प्रस्तावमा भनिएको छ ।
नेम्वाङ एमालेबाट ०४८ र ०५२ मा राष्ट्रिय सभा सदस्य र ०५६ मा प्रतिनिधिसभा सदस्य, ०६३ को पुनर्स्थापित प्रतिनिधिसभा र व्यवस्थापिका–संसद् सदस्य, ०६४ र ०७० को संविधानसभा सदस्य, ०७४ र ०७९ मा प्रतिनिधिसभा सदस्य रहेको स्मरण गर्दै प्रस्तावमा ०६४ र ०७० मा संविधानसभा अध्यक्ष र पुनर्स्थापित प्रतिनिधिसभा, व्यवस्थापिका–संसद् र संविधासभा अवधिभरको व्यवस्थापिका–संसद्को सभामुखमा चारपटक निर्वाचित भई निर्णायक र प्रेरक भूमिका निर्वाह गरेको उल्लेख छ ।
पूर्वकानुन, न्याय तथा संसदीय व्यवस्था र सामान्य प्रशासनमन्त्रीसमेत भएका नेम्वाङ ०५६ मा सार्वजनिक लेखा समितिको सभापतिसमेत भएको उल्लेख गर्दै शोक प्रस्तावमा नेपालको वर्तमान संसद् र संसदीय राजनीतिमा समन्वयकारी भूमिका खेल्ने कार्यमा महत्वपूर्ण भूमिका रहेको स्मरण सदनले गरेको छ ।
सांसदको सम्झनामा नेम्वाङ
कांग्रेस सांसद प्रदीप पौडेल संविधान निर्माणका क्रममा समन्वय गरेर समाधान दिएको सम्झन्छन् । ‘सबैले रुचाएको, विश्वास गरेको, समन्वय गर्न सक्ने क्षमता भएको एउटा सदस्य अब संसद्मा हुनुहुन्न । अपूरणीय क्षति भएको महसुस भएको छ,’ उनले भने । नेपालको राजनीतिमा आगो बाल्ने होइन निभाउने, सबैलाई मिलाएर अघि बढ्ने र लोकतान्त्रिक मूल्य–मान्यताप्रति सधँै निष्ठापूर्वक चट्टानी अडान राख्ने एउटा नेताको अवसान भएको पौडेलको धारणा छ ।
एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले संविधान निर्माण र संसद् चलाउने सवालमा नेम्वाङको शालीन व्यवहार र सबै पक्षलाई मिलाएर लैजाने स्वभाव रहेको सुनाए । ‘त्यस्तो खालको स्वभाव सधैँभरि त्यस्तै मान्छे, नेता फेला पर्दैन,’ पाण्डेले भने ।
एमाले सचेतक महेश बर्ताैलाले संसद्ले एक कुशल अभिभावक गुमाएको बताए । ‘हामीले अभिभावक गुमाएका छौँ । उहाँ हाम्रो मार्गदर्शक हुनुहुन्थ्यो । कतिपय मुद्दामा सहजीकरण गर्नुहुन्थ्यो,’ उनले भने । माओवादी सचिव देवेन्द्र पौडेलले पछिल्लो संविधान र प्रणाली ल्याउन ल्याउन नेम्वाङले महत्वपूर्ण भूमिका खेलेको बताए । ‘सरल, सहज हुनुहुन्थ्यो । संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध हुनुहुन्थ्इो । अब जनताकेन्द्रित समाजवादमा जानुपर्छ, वामपन्थी आन्दोलन एकैठाउँमा राख्नुपर्छ भन्नेमा दृढ हुनुहुन्थ्यो,’ उनले भने ।
रास्वपा प्रमुख सचेतक सन्तोष परियारले नेपाली राजनीतिमा सहमति, समन्वय तथा सबै पार्टी मिलेर राष्ट्रिय मुद्दामा एक ठाउँमा बसेर काम गर्नुपर्छ भन्ने थोरै नेतामध्ये एक नम्बरमा नेम्वाङ पर्ने बताए । ‘मैले उहाँको समितिमा बसेर काम गरेको छु । धेरै कुरा सिकेको छु । उहाँको अभाव महसुस भरहेको छ,’ उनले भने ।
नेम्वाङ यसरी भए सभामुख
प्रतिनिधिसभा सदस्य राजेन्द्र पाण्डेका अनुसार कम्युनिस्ट आन्दोलन र संसदीय राजनीतिमा सुवास नेम्वाङले आफ्नो भूमिका, परिस्थिति र सक्रियताले फड्को मारेका थिए । ०३५ मा मालेभित्र कानुनी क्षेत्रको अध्ययन भएको मान्छेको अभाव हुँदा ल क्याम्पसबाट बिएल गरेका नेम्वाङले जिम्मेवारी पाएका थिए । उनका अनुसार ०४८ मा संसद्भित्र कानुन अध्ययन गरेका मान्छे थोरै थिए ।
०५१ मा एमालेको पहिलोपटक सरकार बन्दा नेम्वाङ कानुन राज्यमन्त्री भएका थिए । राज्यमन्त्रीले न्यायपरिषद्मा भाग लिन नपाउने भएपछि केही दिनमै फुल मन्त्री भए । ०५६ को निर्वाचनपछि प्रतिनिधिसभामा तारानाथ रानाभाट सभामुख र चित्रलेखा यादव उपसभामुख थिए । तत्कालीन राजाले विघटन गरेको प्रतिनिधिसभा ०६३ मा पुनर्स्थापना भयो । ‘तारानाथ रानाभाटले दरबारको समर्थन गर्नुभयो, त्यसकारण उहाँलाई सभामुखबाटै हटाउने निर्णय भयो । अब चित्रलेखालाई सभामुख बनाउनुपर्ने थियो । सबै तयारै थिए । तर, त्यतिखेर संसद्मा एक दिन चित्रलेखाले गल्ती गर्नुभयो । बोल्न नहुने कुरा बोल्नुभयो । बोल्नै नहुने वक्तव्य दिएपछि उहाँलाई सभामुख बन्न दिइएन,’ उनले सम्झिए, ‘त्यसपछि नयाँ पात्रको खोजी हुँदा कानुन पढेको, बुझेको भनेर सुवास नेम्वाङलाई सभामुख बनाइयो । उहाँ आफ्नो भूमिकामा खरो उत्रिएपछि दोहोरिरहनुभयो ।’
नेम्वाङको अन्त्येष्टि
संविधानसभा अध्यक्ष नेम्वाङको बिहीबार पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झन्डा तथा एमाले अध्यक्ष केपी ओलीले पार्टीको झन्डा ओढाई अन्तिम श्रद्धाञ्जली दिए । नेम्वाङको पार्थिव शरीरमा छोराहरू मिङ्सो नेम्वाङ र सुहाङ नेम्वाङले दागबत्ती दिएका थिए । हिन्दू र लिम्बू परम्पराअनुसार नेम्बाङको अन्त्येष्टि गरिएको हो । नेम्वाङप्रति सम्मान प्रकट गर्दै नेपाली सेनाको एक टुकडीले अन्तिम सलामी अर्पण गरेको थियो ।
आर्यघाटमा अन्तिम श्रद्धाञ्जली दिन कांग्रेस सभापति शेरबहादुर देउवा, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, मन्त्री, सांसद, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू, मुख्यसचिव, संसद् सचिवालयका महासचिवसहित उच्चपदस्थ कर्मचारी, सुरक्षा निकायका अधिकारीहरू, सामाजिक क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू, परिवारका सदस्य तथा आफन्तजन, ठूलो संख्यामा पार्टीका नेता–कार्यकर्ताहरू र सर्वसाधारण उपस्थित थिए । अन्त्येष्टिअघि बालुवाटारस्थित निवासबाट सुरु भएको शवयात्रा त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज, धुम्बाराही, चाबहिल, गौशाला हुँदै पशुपति आर्यघाट पुगेको थियो । एमालेले २ असोजमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेम्वाङको स्मृतिमा शोकसभा आयोजना गर्दै छ ।