मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २८ बिहीबार
  • Sunday, 16 February, 2025
नयाँ पत्रिका काठमाडौं
२o८o भदौ २८ बिहीबार १३:१९:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

राजकीय सम्मानसहित नेम्वाङको अन्त्येष्टि 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८o भदौ २८ बिहीबार १३:१९:oo

संविधानसभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानसहित अन्त्येष्टि गरिएको छ। 

उनलाई पशुपति आर्यघाटमा पुत्रद्वय मिङ्सो र सुहाङ नेम्वाङले दागबत्ती दिएलगत्तै नेपाली सेनाको एक टुकडीले अन्तिम सलामी अर्पण गरेको छ।  

यसअघि नेम्वाङको पार्थिव शरीरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झन्डा र एमाले अध्यक्ष केपी ओलीले पार्टी झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिएका थिए।

यस्तै कांग्रेस सभापति शेरबहादुर देउवासहित विभिन्न दलका प्रमुख, मन्त्रीहरू, राजनीतिक दलका नेता तथा कार्यकर्ता, समर्थक, शुभेच्छुकहरूले नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जली दिएका छन्।

हिन्दू र लिम्बू परम्पराअनुसार राजकीय सम्मानसहित नेम्वाङको अन्त्येष्टि गरिएको छ। नेम्वाङको निवास बालुवाटारबाट सुरु भएको शवयात्रा अन्त्येष्टिका लागि आर्यघाट पुगेको थियो।  शोक मनाउन सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ। प्रतिनिधिसभा सदस्यसमेत रहेका नेम्वाङको मंगलबार बिहान हृदयाघातबाट निधन भएको थियो। 

संविधानसभाबाट संविधान बनाउने मौका विरलै देशले पाउँछन् र त्यसमा पनि सभाको दुई–दुईपटक अध्यक्षता गर्ने जिम्मेवारी झनै दुर्लभ अवसर, त्यस्तो अभूतपूर्व अवसर नेम्वाङलाई  मिल्यो । उनको नेतृत्वमा ३ असोज ०७२ मा संविधानसभाबाट नेपालको संविधान जारी भयो । उनै नेम्वाङको अकल्पनीय निधनले देशले एक मध्यमार्गी वरिष्ठ राजनीतिज्ञ गुमाएको छ, राजनीतिक र संवैधानिक वृत्त स्तब्ध बनेको छ।

राष्ट्रिय राजनीतिमा सहमतिका एक सूत्रधार, संविधान निर्माणका अगुवा, संविधानसभा अध्यक्ष, पूर्वसभामुख तथा एमाले उपाध्यक्ष नेम्वाङ मृदुभाषी, शालीन र समन्वयकारी वरिष्ठ राजनीतिज्ञ थिए। 

पाँच दशक राजनीतिमा सक्रिय नेम्वाङ खास गरेर संविधान निर्माणमा सहमति र एकताको सूत्रधारका रूपमा अनवरत क्रियाशील थिए, त्यसैले सम्बद्ध दल एमालेबाहेकका दलमा पनि उनी स्वीकार्य पात्र थिए। उनी सुपरिचित, लोकप्रिय र अग्लो कदका व्यक्तित्व थिए। दल र नेताहरूबीचको जस्तोसुकै असहज सम्बन्ध हुँदा पनि उनी संवादको ढोका खोल्न आफैँ अघि सर्थे । 

राजनीतिक क्षेत्रका सफल र उदाहरणीय व्यक्तित्व उनी संविधान र कानुनका ज्ञाता, प्राध्यापन क्षेत्रका असल गुरु र एक फुटबल खेलाडीलगायत बहुआयमिक व्यक्तित्वका धनी थिए। 

तस्बिर : संजित परियार/नयाँ पत्रिका