मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० फाल्गुण १४ सोमबार
  • Monday, 26 February, 2024
नयाँ पत्रिका काठमाडौँ
२०८० भदौ २७ बुधबार ०९:३८:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

किशोरीलाई आजदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप दिइँदै    

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
२०८० भदौ २७ बुधबार ०९:३८:००

१४ वर्ष उमेर पूरा भई १५ वर्ष पूरा नभएका किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउन खोप दिइँदै

किशोरीलाई आजदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’ दिइँदै छ । सात प्रदेशका सातवटै अस्पतालबाट १४ वर्ष उमेर पूरा भई १५ वर्ष पूरा नभएका किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउनका लागि खोप ‘डेमोस्ट्रेसन’का रूपमा दिइन थालिएको हो । खोप ०६५ भदौ ३० देखि ०६६ भदौ २० गतेसम्म जन्मेका किशोरीलाई दिइनेछ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपिभी’को उद्घाटन परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा आयोजित कार्यक्रमबाट शुभारम्भ गर्नेछन् । स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले महिलामा हुने पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउनका लागि खोप दिइन थालिएको जानकारी दिए । उनका अनुसार ६ प्रदेशका ६ वटा अस्पतालमा र बिहीबार कोशी प्रदेशको कोशी अस्पतालबाट किशोरीलाई एचपिभी खोप दिइनेछ ।

आज मधेश प्रदेशको वीरगन्जस्थित नारायणी अस्पताल, बागमती प्रदेशको परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, गण्डकी प्रदेशको गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशको भेरी अस्पताल बाँके, कर्णाली प्रदेशको प्रादेशिक अस्पताल सुर्खेत र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालमा एचपिभी खोप लगाइनेछ । खोप अभियान यही भदौ ३० गतेसम्म सञ्चालन हुनेछ ।

आज पहिलो मात्रा दिइने र ६ महिनापछि दोस्रो मात्रा खोप दिइनेछ । पहिलो मात्रा जहाँ लगाएको हो त्यहीँ नै दोस्रो मात्रा लगाउनुपर्ने हुन्छ । शाखाका प्रमुख डा. गौतमले सबै खोप लगाउने अस्पतालमा पुर्‍याइसकेको जानकारी दिए । सरकारले गत असारमा किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप लगाउन २० हजार मात्रा खोप चीनबाट ल्याएको थियो ।

महाशाखाका निर्देशक डा. विवेककुमार लालले विश्व स्वास्थ्य संगठनले पनि प्रमाणीकरण गरेको एचपिभी खोप दुई मात्रा लगाएपछि पाठेघरको मुखमा हुने क्यान्सरको संक्रमण ९५ प्रतिशत सुरक्षा प्रदान गर्ने बताए । यसअघि सरकारले सन् ०१६/१७ मा पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप नमुनाका रूपमा चितवन र कास्कीमा सञ्चालन गरेको थियो । ‘ह्युमन प्यापिलोमा भाइरस’ले गर्दा हुनसक्ने महिलाको पाठेघरको मुख, यौनांगको क्यान्सर तथा यौनांगमा हुने मुसाबाट खोपले बचाउँछ । नेपालमा महिलालाई पाठेघरको मुखको क्यान्सर सबैभन्दा बढी लाग्ने गर्दछ ।  

सरकारी तथ्यांकअनुसार सन् २०२० को प्रतिवेदनअनुसार दुई हजार दुई सय ४४ महिलामा पाठेघरको मुखको क्यान्सर देखिएकामा एक हजार चार सय ९३ (६६.५ प्रतिशत) को मृत्यु भएको छ । पाठेघरको मुखको क्यान्सर ३५ वर्षदेखि ६४ वर्षका उमेर समूहका महिलामा धेरै हुने गरेको छ । महिलामा असुरक्षित यौनसम्पर्क, धूम्रपान र सानै उमेरमा विवाह गर्नेजस्ता कारणले एक प्रतिशतलाई पाठेघरको मुखमा क्यान्सर हुने गर्दछ ।

एचपिभी खोप लगाएपछि किशोरीमा खोप लगाएको ठाउँमा दुख्ने तथा सुन्निने, टाउको दुख्ने, वाकवाकी लाग्ने, थकान महसुस हुने, रिँगटा लाग्ने, ज्वरो आउनेजस्ता समस्या देखिने गर्दछन् । खोप एलर्जी भएमा वा पहिलो मात्रा लगाएर कडा किसिमको प्रतिक्रिया भएमा, ज्वरो आएको अवस्थामा र गर्भवती अवस्थामा खोप नलगाउन आग्रह गरिएको छ।