१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २७ बुधबार
  • Saturday, 28 September, 2024
नयाँ पत्रिका काठमाडाैै
२o८o भदौ २७ बुधबार o६:३९:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

‘नेप्से ३०’ इन्डेक्सको कार्यविधि स्वीकृत

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैै
नयाँ पत्रिका
२o८o भदौ २७ बुधबार o६:३९:oo

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले नयाँ सूचकांक ‘नेप्से ३०’ (इन्डेक्स) विकास सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आन्तरिक कार्यविधि, २०८० पारित गरेको छ । सोमबार बसेको नेप्सेको सञ्चालक समितिले उक्त कार्यविधि पारित गरेको हो । कार्यविधि पारित भएसँगै नेप्सेलाई नयाँ सूचाकांक ‘नेप्से ३०’ सञ्चालनमा ल्याउन नीतिगत रूपमा बाटो खुला भएको छ । नेप्से ३० परिसूचक ल्याउने तयारीस्वरूप ९ साउनबाट आन्तरिक परीक्षण पनि भइरहेको छ ।  

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले सूचकांक (इन्डेक्स) विकास, सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आन्तरिक कार्यविधि, २०८० पारित भएसँगै कार्यान्वयनका चरणमा गएको बताए । उनले भने, ‘सम्भवतः असोज महिनाभरिमा उक्त इन्डेक्सको कारोबार सुचारु गरिने तयारी छ । साथै, सोही कार्यविधिका आधारमा अन्य इन्डेक्ससमेत ल्याउन सकिन्छ ।’ यस्तै, सञ्चालक समितिले कार्यविधि कार्यान्वयन समितिसमेत गठन गर्ने निर्णय गरेको छ । अब सोही कार्यान्वयन समितिले सञ्चालन तथा व्यवस्थापनको तयारी अघि बढाउनेछ । साथै, कारोबार सुचारु गर्नका लागि मिति सिफारिस गर्नेछ ।  यो कार्यविधिले निकट भविष्यमा इन्डेक्स नै किनबेच (कारोबार) गर्न बाटो खुला गर्नेछ । तर, अहिले यसका लागि कानुनी बाटो खुला छैन । कानुनी आधार बनेपछि इन्डेक्स नै खरिद–बिक्री गरिने नेप्सेको भनाइ छ । अहिले सेयर खरिद–बिक्री गरे जस्तै निकट भविष्यमा इन्डेक्स नै खरिद–बिक्री गर्न सकिने गरी कार्यविधि तयार गरिएको छ । 

यसका लागि नेप्सेले प्राविधिक तयारी पनि पूरा गरिसकेको छ । सञ्चालनका लागि आवश्यक पर्ने सर्भर (आइटी प्रणाली)समेत तयार गरिएको उनको भनाइ छ । अहिले केही नमुना कम्पनी छनोट गरेर गत साउन ९ गतेबाट यसको आन्तरिक परीक्षण भइरहेको छ । आन्तरिक परीक्षणले ‘नेप्से ३०’ इन्डेक्स सञ्चालन सम्भव देखाएको पराजुलीको भनाइ छ । ‘नेप्से ३०’ मा बैंक तथा वित्तीय संस्था, लघुवित्त, बिमा, जलविद्युत्, उत्पादनमूलक र व्यापार तथा सेवा गरी ६ क्षेत्रका कम्पनीलाई यसमा समावेश गरिनेछ । त्यसमा एउटा क्षेत्रबाट अनिवार्य रूपमा न्यूनतम एक र अधिकतम आठवटा कम्पनी समावेश गरिने उल्लेख छ । नेप्सेले तोकेको मापदण्डबाट यसका लागि उत्कृष्ट ३० कम्पनी छनोट गरिनेछ ।  

कम्पनीको प्रतिसेयर चुक्ता मूल्यभन्दा प्रतिसेयर किताबी मूल्य बढी हुनुपर्ने मापदण्ड तोकिएको छ । साथै, पछिल्लो पाँच आवमध्ये तीन आवमा कम्पनी खुद नाफामा गएको हुनुपर्नेछ । यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी चुक्ता पुँजीको न्यूनतम १० प्रतिशत हुनुपर्नेछ । साथै, प्रतिसेयर आम्दानी सोही वर्षको मुद्रास्फीति दरभन्दा बढी हुनुपर्ने सर्त पनि तोकिएको छ । कम्पनीहरूले कम्तीमा २५ प्रतिशत सेयर सर्वसाधारणमा जारी गरेको वा फ्रिफ्लोट पुँजीकरण १ प्रतिशतभन्दा बढी भएको हुनुपर्ने बताइएको छ । साथै, कम्पनीको सेयरधनी संख्या कम्तीमा २० हजार भएको हुनुपर्ने मापदण्ड तोकिएको छ । 

त्यस्तै, पछिल्लो ६ महिनाको अवधिमा दैनिक औसत न्यूनतम २५ लाख रुपैयाँको कारोबार भएको हुनुपर्नेछ । साथै, पछिल्लो ६ महिनामा दैनिक औसत न्यूनतम पाँच हजार कित्ताको सेयर कारोबार हुनुपर्नेछ । यसैगरी, पछिल्लो ६ महिनामा दैनिक औसत न्यूनतम ४० पटक कारोबार भएको हुनुपर्नेछ । त्यस्तै, पछिल्लो ६ महिनाको अवधिमा भएका कारोबार दिनहरूमध्ये ७५ प्रतिशतभन्दा बढी दिनहरूमा कारोबार भएको हुनुपर्ने उल्लेख गरिएको छ ।