१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख २० बिहीबार o६:३४:oo
Read Time : > 2 मिनेट
ad
ad
मुख्य समाचार प्रिन्ट संस्करण

अस्वस्थ थिए नेम्वाङ, छोरीले रुँदै गरेकी थिइन् खबर

Read Time : > 2 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार o६:३४:oo

युवा संघको कार्यक्रममा भाग लिन सुवास नेम्वाङ धरान पुगेका थिए । शनिबार कार्यक्रमलाई सम्बोधन गरेका उनी आइतबार संसदीय समितिको बैठकमा सहभागी भएका थिए । सोमबारबाट उनको स्वास्थ्यमा असहजता देखिएको थियो । त्यसैले संविधानसभा अध्यक्ष हुँदादेखि नै आफ्नो नियमित स्वास्थ्य जाँच गर्दै आएका संसद् सचिवालयका प्यारामेडिक्स (इमर्जेन्सी मेडिकल केयर पर्सन) प्रदीप घिमिरेलाई बालुवाटारस्थित घरमै डाकेका थिए ।

‘एउटा त धरान गएर फर्किँदाको धपेडी थियो । सोमबार बिहान निद्रै लागिराछ भनेर फोन गर्नुभएको थियो । मैले सुगर लो भयो होला, अलिकति चिनीपानी खानुस्, म आउँछु भनेँ,’ घिमिरेले सुनाए, ‘कुराकानीपछि उहाँले खानुभएछ । म पुगेर सुगर जाँच्दा १३८ थियो । त्यसपछि अक्सोमिटरमा हेर्दा ९५ देखायो, भनेपछि अक्जिसन पनि सन्तुलनमा आयो । प्रेसर पनि ठीक थियो । अवस्था सामान्य भएपछि हामीले मह, चिनीपानी हालेर खुवायौँ ।’ सबै अवस्था सामान्य भएपछि घिमिरेले नेम्वाङलाई ‘सरलाई अहिले केही अप्ठ्यारो छ’ भनेर सोधेका थिए । नेम्वाङले ‘छैन’ भनेपछि उनी ‘सुगर तल झरेकाले असहज भएको हो, आज रेस्ट गर्नुस्, फेरि आउँला’ भनेर छुट्टिएका थिए । असहज भए पनि नेम्वाङ सोमबार सिंहदरबारस्थित कार्यकक्षमै थिए । 

संसद् सचिवालयका प्यारामेडिक्स घिमिरे नेम्वाङको फलोअपका लागि उनको निजी निवास बालुवाटार पुगेका थिए । ‘बेलुका अफिस सकेर म फेरि गएँ । सुरुमै सुगर जाँच गर्दा बिहानको १३८ बाट बढेर दिनभरको स्वस्थ खानपिनबाट १५२ पुग्यो । जुन नर्मल थियो । प्रेसर लिँदा १३०/८० आयो, त्यो पनि नर्मलै हो,’ उनले भने, ‘बिहानभन्दा साँझ थप नर्मल भएपछि मैले केही तकलिफ छ कि भनेर सोध्दा उहाँले छैन भन्नुभयो । टाउको दुख्छ ? छाती दुख्ने छ भनेर सोधेँ, छैन भन्नुभयो । यसपछि मैले कतै अस्पताल जाने कि भनेर सोधेँ, पर्दैन भन्नुभयो । म यहाँ राति बस्नुपर्छ भन्दा उहाँले पर्दैन भन्नुभयो । भोलि बिहान तिमी ७ बजे आऊ, मलाई सुगर हेर, अनिखेरी मात्रै औषधि खाने, नखाने डिसिजन गर भन्नुभयो । मैले हुन्छ भनेर म साँझ ६ बजे त्यहाँबाट घर हिँडेँ ।’ 

साँझ छुट्टिएका घिमिरेलाई राति नेम्वाङलाई अप्ठ्यारो भएको सूचना आयो । ‘उनलाई राति एकैचोटि सवा १ बजे सुवास सरको फोनबाट कल आयो । ओहो, उहाँलाई अप्ठ्यारो नै भयो कि भनेर फोन उठाउँदा बहिनी (नेम्वाङको कान्छी छोरी)ले रुँदै अंकल बाबालाई अलिकति गाह्रो भयो, कहाँ लैजाने अस्पताल भनेपछि मैले टिचिङ नजिक पर्छ, त्यहाँ लैजाँदै गर्नुस्, म आउँछु भनेँ । म साढे १ मा पुगेँ,’ उनले सुनाए, ‘टिचिङबाट एम्बुलेन्स मगाएर त्यहाँबाट लगिसकिएको थियो । टिचिङ लैजाँदा बीचमा घटना के भएछ भन्दा खाटबाट तल लिएर आइसकेपछि ठूलो मान्छे बोकेर ल्याउँदा झमेला हुन्छ भन्छन्, प्रिपियर त कोही बसेको हुँदैन, अनि तल लिएर आउँदाखेरि ऐय्या ऐय्या भन्दै हुनुहुँदो रहेछ । अनि त्यही वेला हर्टअट्याक भएछ, चारवटै भल्ब गएछ । त्यो भएपछि एम्बुलेन्समा हालेर लगेर गएँ,’ उनले घटना विवरण सुनाए ।

टिचिङ लगेपछि डाक्टरहरूले कार्डियो गरिरहँदा पुगेका घिमिरेले चिकित्सकलाई के छ अवस्था भनेर सोध्दा जवाफ थियो, ‘यहाँ आउँदा पल्स अलिअलि मात्रै भेटेको हो । रेसेसन ठ्याक्कै बन्द भइसकेको छ । प्रयासचाहिँ गरिरहेका छौँ ।’ इसिजीहरू मनिटरिङ गरेर चिकित्सकहरूले प्रयास गरे पनि दुर्भाग्यवश नेम्वाङलाई बचाउन नसकिएको घिमिरेले बताए । 

टिचिङमा मंगलबार बिहान ६ बजेसम्म बसेका घिमिरेले नेम्वाङ शौचालयमा लडेको भन्ने आधिकारिक नसुनेको बताए । ‘यो अहिले बाहिर आयो । तर, म ६ बजेसम्म बस्दा यस्तो कसैले केही भनेन । बरु बहिनीले मसँग रुँदै भनिन्– अंकल मैले बाबालाई १० बजे राति खाना खुवाएको, दुईजना सँगै खाना खाएर बुबा सुत्नुभयो । तर, बाथरुममा लडेको, उठाएको कसैले भन्दै भनेनन् । कही घाउ चोटपटक छैन,’ उनले भने । 

घिमिरेका अनुसार नेम्वाङको साथमा पत्नी र दुइटा छोरी थिए । उनीहरूले नै टिचिङ लगेका थिए । नेम्वाङका एक छोरा बेलायत र अर्का छोरा अस्ट्रेलिया छन् । पेसाले अधिवक्ता कान्छा छोरा सुहाङ केही दिनअघि अस्ट्रेलिया गएका थिए । सुहाङसँग उनकी आमाले कुरा गरेर घटनाबारे जानकारी गराएकी थिइन् । 

त्यसपछि सुहाङले घिमिरेलाई फोन गरेका थिए, ‘अंकल कस्तो छ ड्याडीलाई ?’ जवाफमा घिमिरेले ‘९५ प्रतिशत आस छैन । पाँच प्रतिशतमा हेरौँ, एक प्रतिशतमा त मान्छे फर्किन सक्छ हाम्रो मेडिकल लाइनमा, यस्तै छ, जसरी हुन्छ चाँडो फर्किने प्रयास गर’ भनेका थिए । सुहाङ नेपाल फर्किंदै छन् । उनी आइसकेपछि बिहीबार अन्त्येष्टि हुनेछ । 

नेम्वाङलाई गाह्रो हुँदा ब्याकअपमा डा. पुष्प रिजालले हेर्थे । मंगलबार बिहान सिनियर अहेव रिजाल त्रिवि शिक्षण अस्पताल पुग्दा नेम्वाङलाई मृत घोषणा गरिसकिएको थियो । ‘प्रदीपजीले १:३५ मा फोन गर्नुभएको थियो । २० मिनेटमा टिचिङ पुगेको थिएँ । त्यहाँ पुग्दा उहाँको एसिजीहरू सबै फ्लाट आइसकेको थियो । सिपिआर गर्दा पनि अनरेस्पोन्सिभ हुनुभयो । टिचिङका डाक्टरको सबै टिमले हेरिसके पछाडि फेरि रिभाइभ गर्न सकिन्छ कि भनेर पुनः प्रयास गर्दा रिभाइभ हुने सम्भावना देखिएन । त्यसपछाडि नो मोर भनेर डिक्लियर गरियो,’ उनले सुनाए । 

रिजालका अनुसार सडन कार्डियक अरेस्ट (एसिए) भएर नेम्वाङको निधन भएको हो । चिकित्सा विज्ञानमा यो भनेको अप्रत्याशित रूपमा मुटुको चाल बन्द हुनु हो । यसबाट हृदय र मस्तिष्कमा रक्त प्रवाह रोकिन्छ । 
 

ad
ad