
पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले स्वर्गीय सुवासचन्द्र नेम्वाङलाई नेपाली राजनीतिका सहमति र समझदारीको हिमायतीको रूपमा चित्रण गरेका छन्।
उनी संविधान निर्माणमा मात्रै नभई सबै राजनीतिक दलहरूबीच सहमति र सहकार्यको माध्यमबाट मुलुकमा राजनीतिक परिवर्तनको हरेक मोडमा नेतृत्वदायी भूमिका निर्वाह गरेको नेता नेपालले बताए।
एमाले उपाध्यक्षसमेत रहेका संविधानसभा अध्यक्ष स्वर्गीय नेम्वाङको पार्थिव शरीरमा श्रद्धाञ्जली दिनका लागि एमाले मुख्यालय च्यासल पुगेका उनले सञ्चारकर्मीमाझ नेता नेम्वाङ नेपालको राजनीतिक परिवर्तनको आन्दोलनको महान् हस्ती भएको बताए।
कुनै पनि समस्यालाई समाधान गर्ने कुरामा नेम्वाङले सधैँभरि लागिरहेको उल्लेख गर्दै अध्यक्ष नेपालले उनको निधनबाट नेपालको कम्युनिस्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलन र परिवर्तनले आन्दोलनले अपूरणीय क्षति व्यहोर्नुपरेको बताए। उनले नेम्वाङलाई सबैलाई मिलाएर लैजान सक्ने क्षमताको धनी नेताको रूपमा पनि स्मरण गरे।