मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० मङ्सिर २३ शनिबार
  • Saturday, 09 December, 2023
मोहन विष्ट कञ्चनपुर
२०८० भदौ २५ सोमबार १५:५८:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

कर्मचारी समयमा कार्यालय नआएको भन्दै गाउँपालिका अध्यक्षले मूलगेटमा ताला लगाएपछि...

Read Time : > 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०८० भदौ २५ सोमबार १५:५८:००

कर्मचारी समयमा कार्यालय नआएको भन्दै कञ्चनपुरको बेलडाँडी गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाले कर्मचारीहरूलाई कार्यालय प्रवेश गर्न रोक लगाएका छन्।

कर्मचारी समयमा कार्यालय नआउने र समय बाँकी रहँदै कार्यालय छाड्ने प्रवृत्ति बढेको भन्दै रानाले ढिलो गरी कार्यालय आउने कर्मचारीलाई कार्यालय प्रवेश गर्न नदिएका हुन्। सोमबार बिहान १० बजेसम्म तीनजनाबाहेक अन्य कर्मचारी कार्यालय नआएपछि उनले मूलगेटमै ताला लगाएर प्रवेश गर्न रोकेका हुन्।

गाउँपालिकाका अध्यक्ष हरिशचन्द्र रानाले कार्यालयमा ढिलो गरी आउने र समयअगावै निस्कने प्रवृत्ति लामो समयदेखि चलिरहेको बताए। ‘हामीले कर्मचारी साथीहरूसँग पटकपटक समयमै कार्यालय आउने–जाने गर्न निर्देशन गरेका थियौँ,’ उनले भने, ‘प्रमुखको निर्देशन टेर्दै टेरेनन्। बाध्य भएर यस्तो कदम चालिएको हो।’ जनतालाई दुःख दिने काम भएकाले प्रशासन सुधारका लागि यस्तो कदम चालिएको भन्दै उनले कर्मचारीप्रति कुनै प्रतिशोध नभएको प्रस्टीकरण दिए।

गाउँपालिका अध्यक्ष रानाका अनुसार ४० कर्मचारीमध्ये सोमबार तीनजना मात्रै समयमा आएका बताए।

गाउँपालिका अध्यक्ष रानाको निर्देशनमा कार्यालयको प्रवेशद्वारमा ताला लगाइएपछि केही घन्टा कर्मचारी बाहिरै बसेका थिए। मूलगेटमा ताला लगाएर केही समयपछि खोले पनि कर्मचारीहरू आफूहरूको अपमान भएको भन्दै कार्यालय प्रवेशै नगरी घर फर्किए। कर्मचारी घर फर्किएपछि कार्यालयको कामकाज प्रभावित भएको छ।

कर्मचारीहरूले भने आफूहरूबाट सामान्य कमजोरीहरू भएको हुन सक्ने भए पनि सबैलाई एउटै ‘घान’मा पारिएको बताए। एक कर्मचारीले भने, ‘केही गल्ती हामीबाट भए स्वीकार गर्न तयार थियौँ। तर, अध्यक्षज्यूले एकपटकका लागि सोच्नुपर्ने हो।’

गाउँपालिकाको शिक्षा शाखा प्रमुख भानुभक्त जोशीले पालिका अध्यक्षबाटै कर्मचारीलाई कार्यालय प्रवेशमा रोक लगाई बेइज्जत गरेकाले काम नगरी घर फर्किएको बताए। ‘हामी कार्यालय समयमै पुगेका थियौँ,’ उनले भने, ‘तर, अध्यक्षज्यूबाट सीधै कार्यालयको प्रवेशद्वारमा ताला लगाइयो। केही घन्टा बाहिरै बस्नुपर्ने अवस्था सिर्जना भयो, सबै कर्मचारी साथीहरूको रायअनुरूप सोमबार काम गर्ने वातावरण नभएकाले मंगलबारदेखि कार्यालय समयमै आएर काम गर्ने छलफल भएको छ।’

ताला लगाएपछि वार्ताका लागि समेत नबोलाएपछि आफूहरू घर फर्किएको उनले बताए।