१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८o भदौ २३ शनिबार
  • Saturday, 28 September, 2024
भोजराज भण्डारी काठमाडाैं
२o८o भदौ २३ शनिबार o९:११:oo
Read Time : > 2 मिनेट
अर्थ प्रिन्ट संस्करण

आन्तरिक परीक्षणमा ‘नेप्से ३०’ परिसूचक

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२o८o भदौ २३ शनिबार o९:११:oo

सञ्चालक समितिबाट कार्यविधि पारित हुन बाँकी

नेपाल स्टक एक्सचेन्ज (नेप्से)को सेयर कारोबारको नयाँ सूचकांक ‘नेप्से ३०’ सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ । यसका लागि आवश्यक प्राविधिक तथा नीतिगत तयारी पूरा भइसके पनि सञ्चालक समितिले कार्यविधि पारित गर्न भने बाँकी छ । 

यसका लागि तयार गरिएको कार्यविधि स्वीकृतिका लागि नेप्सेको सञ्चालक समितिमा पेस भइसकेको छ । सम्भवतः अब बस्ने बैठकले त्यसलाई स्वीकृत गर्नेछ । त्यसपछि ‘नेप्से ३०’ इन्डेक्सको कारोबार सुरु हुनेछ । नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले यससम्बन्धी कार्यविधि सञ्चालक समितिमा पुगेको बताए । ‘सञ्चालक समिति अब छिट्टै बस्दै छ । सोही बैठकमा यो कार्यविधिबारे छलफल हुनेछ,’ उनले भने, ‘सञ्चालक समितिले स्वीकृत गरेपछि ‘नेप्से ३०’ इन्डेक्स सञ्चालनमा आउनेछ ।’

यसका लागि नेप्सेले प्राविधिक तयारी पनि पूरा गरिसकेको छ । ‘नेप्से ३०’ इन्डेक्स सञ्चालनका लागि आवश्यक पर्ने सर्भर (आइटी प्रणाली)समेत तयार गरिएको छ । गत साउन ९ गतेबाट नै यसको आन्तरिक परीक्षण भइरहेको छ । केही नमुना कम्पनी छनोट गरेर यसको आन्तरिक परीक्षण भइरहेको हो । आन्तरिक परीक्षणले ‘नेप्से ३०’ इन्डेक्स सञ्चालन सम्भव पनि देखाएको छ । अब सञ्चालक समितिले कार्यविधि स्वीकृत गरेको अवस्थामा तत्काल यो इन्डेक्स सञ्चालन गर्न सकिने नेप्सेको भनाइ छ । सम्भवतः अब एक महिनामा यो सञ्चालनमा आउने नेप्सेले बताएको छ ।

के हो ‘नेप्से ३०’ सूचकांक ?
‘नेप्से ३०’ फ्री फ्लोट विधिबाट नेप्सेको समग्र बजारलाई प्रतिनिधित्व गर्ने एक सूचक हो । यसमा नेप्सेले सबै सूचीकृत कम्पनीमध्येबाट तोकिने मापदण्ड पूरा हुने उत्कृष्ट ३० कम्पनीलाई यसमा समावेश गर्नेछ । हाल नेप्सेमा सेन्सिटिभ, सबसेन्सिटिभ, समूहगत गरेर १७ वटा इन्डेक्स रहेका छन् । यो थपिएपछि १८ वटा इन्डेक्स हुनेछन् । यद्यपि, यस इन्डेक्सको पनि छुट्टै सेयर कारोबार भने नहुने प्रस्ताव गरिएको छ । मुख्य इन्डेक्समा हुने कारोबारकै आधारमा यो इन्डेक्सको गणना गरिनेछ । अहिले सर्वसाधारणले ‘नेप्से ३०’ इन्डेक्सबारे विस्तृतमा बुझिसकेका छैनन् । सर्वसाधारणले यसबारे राम्रोसँग बुझेपछि मात्र यसको छुट्टै कारोबार गराउने नेप्सेको योजना छ । 

यस्तो छ ‘नेप्से ३०’ मा सहभागी हुने मापदण्ड 
बैंक तथा वित्तीय संस्था, लघुवित्त, बिमा, जलविद्युत्, उत्पादनमूलक र व्यापार तथा सेवा गरी ६ क्षेत्रका कम्पनीलाई यसमा समावेश गरिनेछ । त्यसमा एउटा क्षेत्रबाट अनिवार्य रूपमा न्यूनतम एक र अधिकतम आठवटा कम्पनी समावेश गरिनेछ । नेप्सेले तोकेको मापदण्डबाट यसका लागि उत्कृष्ट ३० कम्पनी छनोट गरिनेछ ।  

यसका लागि कम्पनीको प्रतिसेयर चुक्ता मूल्यभन्दा प्रतिसेयर किताबी मूल्य बढी हुनुपर्ने मापदण्ड तोकिएको छ । साथै, पछिल्लो पाँच आवमध्ये तीन आवमा कम्पनी खुद नाफामा गएको हुनुपर्नेछ । यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी चुक्ता पुँजीको न्यूनतम १० प्रतिशत हुनुपर्नेछ । साथै, प्रतिसेयर आम्दानी सोही वर्षको मुद्रास्फीति दरभन्दा बढी हुनुपर्ने सर्त पनि तोकिएको छ । कम्पनीहरूले कम्तीमा २५ प्रतिशत सेयर सर्वसाधारणमा जारी गरेको वा फ्री फ्लोट पुँजीकरण १ प्रतिशतभन्दा बढी भएको हुनुपर्ने बताइएको छ । साथै, कम्पनीको सेयरधनी संख्या कम्तीमा २० हजार भएको हुनुपर्ने मापदण्ड तोकिएको छ । 

त्यस्तै, पछिल्लो ६ महिनाको अवधिमा दैनिक औसत न्यूनतम २५ लाख रुपैयाँको कारोबार भएको हुनपर्नेछ । साथै, पछिल्लो ६ महिनामा दैनिक औसत न्यूनतम पाँच हजार कित्ताको सेयर कारोबार हुनुपर्नेछ । यसैगरी पछिल्लो ६ महिनामा दैनिक औसत न्यूनतम ४० पटक कारोबार भएको हुनुपर्नेछ । 

त्यस्तै, पछिल्लो ६ महिनाको अवधिमा भएका कारोबार दिनहरूमध्ये ७५ प्रतिशतभन्दा बढी दिनहरूमा कारोबार भएको हुनुपर्ने उल्लेख गरिएको छ । यसरी छनोट हुने कम्पनीलाई ‘नेप्से ३०’ इन्डेक्समा छनोट गरिनेछ । 

यसरी गरिनेछ ‘नेप्से ३०’ इन्डेक्सको गणना 
यो इन्डेक्स गणनाका लागि पहिला छनोट भएर कम्पनीहरूको प्रारम्भिक सूची तयार गरिनेछ । त्यसपछि उनीहरूको फ्री फ्लोट बजार पुँजीकरण, पछिल्लो वर्षको प्रतिसेयर आम्दानी, कारोबार रकम, कारोबार संख्या तथा कारोबार कित्ताका आधारमा प्रत्येकलाई भार प्रदान गरेर कुल भार गणना गरिनेछ । 

साथै, नेप्सेमा सूचीकृत कम्पनीलाई बैंक तथा वित्तीय संस्था, लघुवित्त, बिमा, जलविद्युत् उत्पादनमूलक, व्यापार तथा सेवा गरी ६ वटा क्षेत्रगत समूहमा वर्गीकरण गरिनेछ । बढी भार अंकका आधारमा प्रत्येक समूहमा बढीमा आठवटा कम्पनी छनोट गरिनेछ । कुनै समूहमा आठभन्दा कम कम्पनी भएमा सबैलाई यसमा राखिनेछ । छनोट हुने कम्पनी ३० भन्दा बढी भएमा कम भार भएका कम्पनीलाई हटाइनेछ । यसरी कम्पनी हटाउँदा प्रत्येक समूहमा कम्तीमा एक कम्पनी भने कायम गर्नुपर्नेछ । 

छनोट भएका संगठित संस्थाहरूको संख्या ३० भन्दा कम भएमा प्रत्येक समूहबाट आठभन्दा बढी कम्पनी छनोट नहुने गरी सूचीकृत सबै कम्पनीको कुल भार गणना गरिनेछ । त्यसपछि उच्चतम भार प्राप्त गर्ने कम्पनी थप गरी कम्पनीको संख्या ३० पुर्‍याइनेछ । छनोट भएका कम्पनीहरूको फ्री फ्लोट (कारोबारयोग्य) सेयरको हालको बजारको पुुँजीकरणलाई आधार बजार पुँजीकरणले भाग गरी १००० ले गुणा गरेर इन्डेक्स निकालिनेछ ।  

किन ल्याइँदै छ ‘नेप्से ३०’ ?
दोस्रो बजार कारोबारलाई थप सुदृढ बनाउन सहयोग पुग्ने गरी सूचकांकहरूको विकास, सञ्चालन तथा व्यवस्थापन गर्ने उद्देश्यले नेप्से ३० ल्याउन लागेको बताइएको छ । यसमा तत्काल कारोबारयोग्य सेयरहरूलाई समावेश गरी बजार पुँजीकरणमा आधारित सूचकांकका रूपमा नेप्से ३० इन्डेक्स लागू गरिनेछ । यस सूचकांकले बजार कारोबार तथा उतारचढावलाई प्रतिबिम्बित गर्नुका साथै डेरिभेटिभ प्रकृतिको निश्चित अवधिको कारोबार उपकरण सञ्चालन, पोर्टफोलियो व्यवस्थापनलगायतमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।  साथै, यसबाट दोस्रो बजार कारोबारमा नयाँ आयाम थपिने र लगानीकर्तालाई भविष्यमा थप कारोबारयोग्य उपकरण प्राप्त हुन जाने नेप्सेको भनाइ छ ।