१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २२ शनिबार
  • Saturday, 04 May, 2024
२o८१ बैशाख २२ शनिबार ११:o१:oo
Read Time : > 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

लुम्बिनी गुरुयोजनाका काम एक महिनाभित्र सम्पन्न गर्न निर्देशन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २२ शनिबार ११:o१:oo

पटक–पटक ताकेता गर्दा पनि निर्माण व्यवसायीले अटेर गरेपछि लुम्बिनी गुरुयोजना क्षेत्रका निर्माणलाई एक महिनाभित्र सक्न लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामाले निर्माण कम्पनीलाई निर्देशन दिएका छन् । सम्झौता अवधिभित्र सन्तोषजनक काम नभएपछि लुम्बिनी गुरुयोजना क्षेत्रका निर्माणाधीन सडक, पार्किङ, गेट एवं विद्युत् पोल र सडकबत्तीको बुधबार निरीक्षण एवं अनुगमनपछि उपाध्यक्ष डा. लामाले एक महिनाभित्र काम सम्पन्न गर्न निर्देशन दिएका हुन् । 

उपाध्यक्ष डा. लामाले केही हप्ताअगाडि निर्माण व्यवसायीहरूलाई बोलाएर काम छिटो गर्न निर्देशन दिएका थिए । निर्देशन दिएको दुई हप्तामा पनि फिल्डमा काम गर्ने मान्छे नभेटिएपछि बुधबार अनुगमन गर्दै फिल्डबाटै एक महिनाभित्र सम्झौता भएका काम सम्पन्न गर्न निर्देशन दिएका हुन् । उपाध्यक्ष डा. लामाले विश्वका बौद्धमार्गीहरूको आस्थाको केन्द्र लुम्बिनीको निर्माणाधीन अधुरो सडकका कारण सास्ती पाएकाले हेलचेक्र्याइँ नगर्न निर्माण कम्पनीलाई यसअगाइडि नै सचेत गराएका थिए । 

लुम्बिनी गुरुयोजनाअन्तर्गत दुई वर्षअघि ४४ किमि ड्रेन, १३ किमि सडक कालोपत्रे, १२ किमि सडक ब्लक, आठवटा गेट र २२ सय पोल लगायतका सडकबत्ती निर्माणका लागि छुट्टाछुट्टै चार निर्माण व्यवसायीले ठेक्का सम्झौता गरी काम गरिरहेका छन् । तर, सम्झौताको म्याद सकिनै लाग्दा पनि निर्माण कार्य आधा पनि हुन नसकेपछि उपाध्यक्ष डा. लामा आफैँ फिल्डमा गएर निर्माण कार्यको अनुगमन गरेका हुन् । 

उपाध्यक्षसहित स्थलगत निरीक्षण एवं अनुगमनमा सदस्यसचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, कार्यकारिणी सदस्य नेत्र शाही, परिषद् सदस्य गोपीकृष्ण शर्मासहितको टोली सहभागी थियो । निर्माण व्यवसायीसँग पहिलो चरणको ठेक्का सम्झौता सकिनै लाग्दा पनि कामको गति नबढेकाले एक महिनाभित्र भौतिक प्रगति बढाउनुपर्ने र वाहनाबाजी गरेमा म्याद थप नगर्ने उपाध्यक्षले चेतावनी दिए । ‘यो पवित्र भूमि हो, बुद्धको जन्मस्थलमा पवित्र भावनाले काम गर्नुहोस्,’ निर्माण व्यवसायीलाई भने, ‘अब जेसुकै वाहना गरे पनि हामीले छोड्दैनौँ, एक महिनाभित्र नतिजा ननिकाले कोषले अन्य कदम चाल्छ ।’ उनले काममा सुधार नगरे ठेक्का सम्झौता नै रद्द गर्न सक्ने चेतावनी दिएका छन् । 

निर्माण कम्पनीले तोकिएको समयमा काम नगरेको पाइएकाले कोषले सचेत गराएको सदस्यसचिव सानुराजा शाक्यले बताए । त्यस्तै, योजना प्रमुख सरोज भट्टराईले कोषले यसअघि पनि पटक–पटक सचेत गराएको र अहिले उपाध्यक्षले एक महिनाभित्र भौतिक प्रगति हासिल गर्ने गरी काम गर्न निर्माण व्यवसायीलाई निर्देशन भएकोे बताए । कोषका अनुसार चारवटा निर्माण व्यवसायीमध्ये २ वटाले ५० देखि ५५ प्रतिशत र २ वटाको २८ प्रतिशत मात्रै भौतिक प्रगति देखिएको छ । 
ठेक्का सम्झौता लुम्बिनी अनक खड्का कृष्ण जेभी, लामा एपेक्स कमलजित जेभी, रमन गजुरमुखी रामजानकी जेभी र खानी अर्घाखाँची बाबुल जेभीसँग लुम्बिनी विकास कोषले गुरुयोजनाअन्तर्गतका विभिन्न कामका लागि अलग–अलग ठेक्का सम्झौता गरेको थियो । 

ad
ad