![](https://nayapatrika.blr1.cdn.digitaloceanspaces.com/news/images/National_flag2023-09-05-08-52-44.jpeg)
सर्लाही सदरमुकाम मलंगवा नगरपालिकाले नेपाल–भारत सीमा क्षेत्रमा नेपालको राष्ट्रिय झन्डा फहराइएको छ। मंगलबार मलंगवा नगरपालिकाको आयोजनामा मलंगवा–सोनबारसा सीमानजिकै १०८ फिट अग्लो राष्ट्रिय झन्डा फहराएको हो।
मधेश प्रदेशका अर्थमन्त्री संजय यादवले एक कार्यक्रमबीच झन्डोत्तोलन गरेका थिए। मधेश प्रदेश सरकारको विशेष अनुदानमा उक्त झन्डा ठड्याइएको हो।
उक्त झन्डाले नागरिकमा राष्ट्रियताको भाव प्रकट गर्ने कार्यक्रमका वक्ताले बताए। झन्डोत्तोलन कार्यक्रमलाई सम्बोधन गर्दै मधेश प्रदेशका अर्थमन्त्री यादवले राष्ट्रियता खोज्न सीमा क्षेत्रका बस्तीबस्तीमा पुग्न आग्रह गरे।
राष्ट्रियता बहसमा भन्दा पनि व्यवहारमा देखिनुपर्ने उनको धारणा थियो। मन्त्री यादवले मलंगवा नगरपालिकाले सीमा क्षेत्रमा यति ठूलो झन्डा ठड्याएको प्रशंसा गर्दै उनले नेपाली तथा भारतीय पर्यटकलाई समेत नेपालीपनको आभास गराउने काम गरेको बताए।
यसले पर्यटनको विकास गर्नुका साथै नगरको पहिचान तथा नौलो अभ्याससमेत हुने उनको भनाइ थियो। झन्डानजिकै भएर सीमा वारपार गर्ने क्रममा नेपाली मनहरूमा राष्ट्रियता प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएका नगरपालिकाका मेयर नागेन्द्रप्रसाद यादवले बताए।
उक्त परियोजना ३० लाखको लागतमा सम्पन्न गरिएको मलंगवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गेहनाथ गौतमले जानकारी दिए।
कार्यक्रममा मधेश प्रदेश सभाका सदस्य कौशलकिशोर राय, नगर प्रमुख नागेन्द्रप्रसाद यादव, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलगायतले मन्तव्य राखेका थिए।